आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजाको देश दौडाहा, के होला संकेत ?

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) ३०४ पाठक संख्या

 चैत ४   पूर्वराजा ज्ञानेन्द्र शाह २०७५ सालको ११ महिनामा करिब साढे ३ महिना काठमाडौं बाहिरै रहेका छन् । २०७५ को सुरुवातमा सिमराबाट उनले भ्रमण सुरू गरेका थिए भने अहिले पनि उनी तराईकै जिल्लामा पुगेका छन् । उनले त्यहाँ पुगेर ‘मधेस’ नभइ तराईको भूमि भनेका छन् ।

झापालाई मुकाम बनाएर उनले पछिल्लो समय सर्लाही, धनुषा, उदयपुरलगायतका जिल्लाको भ्रमण गरिसकेका छन् भने आइतबार सप्तरी भ्रमण गरेका छन् । आखिर उनको यो देश दौडाहा के को लागि भइरहेको छ त ?

उनको भ्रमण दलमा रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बाह्रखरीसँगको कुराकानीमा भने, “उहाँ स्थानीय स्तरबाट गरिएको निम्तो स्वीकार गर्दै जिल्ला भ्रमणमा निस्कनु भएको हो । अरु उद्देश्य केही पनि होइन ।”

बस्नेतका अनुसार यसरी भ्रमणको निम्तो पूर्वराजा ज्ञानेन्द्रको सचिवालयलाई मात्रै होइन पूर्वराजालाई भन्दिनुपर्यो भन्दै उनी सम्म पनि आइपुग्छ । “हामीलाई पनि भन्दिनुपर्यो भनेर आग्रह गरिन्छ । सोही आग्रह अनुसार हामीले भन्ने गरेका छौं,” बस्नेतले भने ।

पूर्वराजालाई निम्तो दिनेहरु खासगरी सामाजिक संघ संस्थाका प्रतिनिधि तथा धार्मिक प्रकृतिका व्यक्तिहरु हुने गरेका छन् । भ्रमण दलका सदस्यहरुका अनुसार भ्रमणका क्रममा कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुपनि सहभागी भएका थिए । त्यसैगरी वडाध्यक्षहरु तथा राजनीतिक दलका स्थानीय कार्यकर्ताहरु समेत सामेल हुँदै आएका छन् ।

दलहरुका स्थानीय कार्यकर्ताहरुले राजालाई हटाएर गल्ति भएको, नेताहरु बिग्रिएको महसुस भएको भनेर गुनासो गर्ने गरेको समेत बस्नेतले दाबी गरे । उनका अनुसार त्यसरी जानेमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता पनि छन् । २०७५ सालको उनको भ्रमण तालिका हेर्दा स्वदेश र विदेशको भ्रमणमा उनी निकै व्यस्त रहेको देखिएको छ ।

उनी गएको वैशाख ३० गतेदेखि जेठ १३ गतेसम्म सिमरा भ्रमणमा गएका थिए । त्यसपछि असार २० देखि ३० गतेसम्म नेपालगञ्ज, साउन १६ देखि भदौ १ गतेसम्म थाइल्यान्ड, पुस २ देखि पुस १८ सम्म पोखरा,  माघ २३ देखि फागुन २२ गतेसम्म फेरि सिमरा र फागुन २६ गतेदेखि हाल सम्म झापा मुकाम बनाएर तराईको भ्रमणमा छन् ।

गएको महिना छोरा पारसलाई हृदयाघात भएको बेलामा उनी सिमरामा थिए । छोरा बिरामी भएको बेलामा आमा कोमल राजधानी फर्किएपनि उनी भने आएनन् । पारिवारिक स्रोतका अनुसार छोराको अवस्थामा सुधार भएका कारण उनी नआएका हुन् । आफन्तहरुसँग भने नियमित सम्पर्कमा थिए ।

केही दिन अघि आमा रत्नको स्वास्थ्य बिग्रिएपछि उनी आफ्नो जिल्ला भ्रमण रोकेर राजधानी फर्किएका थिए । आमाको स्वास्थ्यमा सुधार आएपछि उनी पुनः जिल्ला भ्रमणमा गएका हुन् । बिरामी अवस्थामा रहेकी रत्नको रेखदेख भने अहिले पूर्वरानी कोमल र छोरा पारसले गरिरहेको स्रोतले जानकारी दियो ।

पूर्वयुवराज्ञी हिमानी भने बच्चाको पढाइको सिलसिलामा अहिले थाइल्याण्डमा रहेकोमा चाँडै स्वदेश फर्किने तयारीमा रहेको पारिवारिक स्रोतले बताएको छ ।

पूर्वराजाको अहिलेको भ्रमण दलमा उनको सचिवालयका सदस्यहरु र सुरक्षाकर्मी मात्रै रहने गरेका छन् । उनलाई हेर्नका लागि नै मात्रै पनि तराईका जिल्लामा भीड लाग्ने गरेको छ । सहभागीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्ने नारापनि लगाउने गरेका छन् । डा. सीके राउत सरकारसँग फागुन २४ गते ११ बुँदे समझदारी गरेर तराई झरेकोमा  पूर्व राजाको अगाडि उनको तडकभडक फिका देखिएको छ । यसो हुनुमा तराईका बासिन्दा बिखण्डनको विरुद्धमा छन् भन्ने बलियो प्रमाणको रुपमा प्रस्तुत गरिएको छ ।

बस्नेतले भने,‘‘उहाँले जनताको कुरा सुन्ने गर्नु भएको छ । उहाँ सबैको राजा हो । त्यसैले जनताको निम्तोअनुसार नै हिंडिरहनु भएको हो । अरु केही कारण छैन ।’’

उनको झापा बसाई कतिन्जेल लम्बिन्छ भन्ने निश्चित भइनसकेको उनले बताए ।

विदेश गएका बेलामा उनले विभिन्न देशका अधिकारीहरुसँग भेट्ने गरेको भनेर चर्चा चल्ने गरेपनि त्यसको अझैसम्म पुष्टि भने भइसकेको छैन । तर, स्वदेशभित्रै भने उनको पछि लाग्नेको संख्या बढेको सार्वजनिक कार्यक्रमहरुको दृश्यले समेत संकेत गरिरहेको छ ।

पूर्वराजा देश दौडाहामा व्यस्त रहनु र कमल थापा नेतृत्वको राप्रपा पनि हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै स्वाभिमान यात्रामा निस्कनुबीच कुनै ‘कनेक्सन’ छ कि छैन ? यो प्रश्न पनि अहिले उठिरहेको छ । राप्रपाले गएको फागुन १५ गतेदेखि चैत १ गते सम्म देशव्यापी स्वाभिमान यात्राको कार्यक्रम गरेको थियो । सो कार्यक्रममा पार्टीका अध्यक्ष थापा नै सक्रिय भएर लागेका थिए । सो कार्यक्रम लगत्तै थप जनसंघर्षका कार्यक्रम समेत सो पार्टीले घोषणा गरिसकेको छ ।

जसअनुसार चैत १२ देखि १६ गते सम्म प्रचार प्रसार,चैत १७ देखि २३ सम्म हस्ताक्षर संकलन, चैत २५ गते सिंहदरबार अगाडि प्रदर्शन, प्रदेश राजधानी र जिल्ला सदरमुकाममा सोही दिन धर्ना दिने, चैत २८ गते स्थानीय तहमा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको व्यानर जलाउने र बैशाख ८ गते राजमार्ग चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम राप्रपाले सार्वजनिक गरेको छ ।

पूर्वराजा र राप्रपाको  अभियानमा कनेक्सन रहेको अडकलबाजी काटिएपनि त्यसलाई पूर्व राजाको भ्रमण दलमा रहेका शिव सेनाका अध्यक्ष बस्नेतले भने अस्वीकार गरेका छन् । उनको भनाई थियो,‘‘ कमलजीले उठाएका कुरा राजतन्त्रको पक्षमा देखिएको होला । तर, सल्लाह गरेर कार्यक्रम वा भ्रमण गरिएको होइन । पूर्वराजा सबैका साझा भएकोले कुनै पार्टी विशेष वा व्यक्तिसँग उहाँको सल्लाह भएको छैन ।”

प्रतिक्रिया दिनुहोस