आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनको राइनो कुञ्ज क्षेत्र मिनी सौराहा बन्दै, १५ वटा नयाँ रिसोर्ट थपिँदै

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) ३९१ पाठक संख्या

 चैत १३  पर्यटकीय नगरी सौराहाको झल्को मेटाउने गरेर भरतपुर महानगरपालिका–१३ मा राइनो कुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै छ ।

भरतपुर महानगरपालिकाको १३ नम्बर वडा क्षेत्र साबिक गीतानगर र पटिहानी क्षेत्र नै राइनो कुञ्ज क्षेत्रको रुपमा परिचित छ । बाटुली पोखरी, गैँडाताल, राप्ती नदी, बेलसहर सामुदायिक वन, सीतामाई जस्ता क्षेत्रहरु यस क्षेत्रमा पर्छन् । पूर्णतया व्यापार र नाफामुखी बनेको सौराहामा पर्यटकहरु घट्न थालेपछि राइनो कुञ्ज क्षेत्रमा पर्यटकहरु बढ्न थालेका छन् ।

शान्त र रमणीय वातावरण नै पर्यटकको रोजाइमा परेको वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले बताए । पाँच किलोमिटरको जिप सफारीमा यी क्षेत्रहरु घुम्न सकिने वडा अध्यक्ष दवाडीले बताए । यस क्षेत्रका सामुदायिक वनमा चरा र वन्यजन्तुहरुको अवलोकन गर्न पर्यटकहरु आउने उनले बताए । सौराहा क्षेत्रको विपरीत दिशामा रहेकोले पनि यस क्षेत्रलाई आज भोलि ‘मिनी सौराहा’ को रुपमा लिने गरिन्छ ।

भरतपुर वडा नम्बर १३ कै सक्रियता चैतको ३० गतेबाट सो क्षेत्रमा राइनो कुञ्ज पर्यटन मेला सुरु हुनेछ । मेलामा ३० हजार भन्दा बढी दर्शकहरु आउने वडा अध्यक्ष प्रकाश दवाडीले बताए ।  साढे दुई बिघा क्षेत्रफललाई सौराहाको झल्को दिने गरी मेला स्थल तयार पारिँदैछ।

सरकारले यो क्षेत्रलाई पर्यटकीय गन्तब्य घोषणा गरिसकेको छ। स्थानीय टोल सुधार समितिलगायत सबैले यो ठाउँलाई आन्तरिक तथा वाह्य पर्यटकमाझ अझ बढी चिनाउने उद्देश्यले मेला गर्न लागेको वडा अध्यक्ष दवाडीले दाबी गरे । उनले नारायणी अनलाइनलाई भने, ‘मेलाले दीगो आर्थिक आर्जनका निम्ति ठूलो टेवा पुर्याउनेछ। अहिले हामी यस क्षेत्रको प्रचारप्रसार अध्ययन र अनुसन्धानको चरणमा नै रहेका छौ ।’

सर्वसाधरणका लागि २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ प्रवेश शुल्क राखिएको मेलामा १०० वटा स्टल रहने भएका छन् । त्यसैगरी मेलामा चर्चित कलाकारको प्रस्तुतिसँगै बिभिन्न जातजातिको सांस्कृतिक झाँकी, तथा कला प्रदर्शन गरिने उनले बताए।

२० लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको मेलामा पर्यटकले जिप सफारी, हात्ती सफारीका साथै डुंगा सयर गर्न सक्नेछन्। पर्यटकले यो मेलामा सौराहामा लिन सक्ने सबै मनोरञ्जन लिन सक्ने उनले बताए । अहिले मुग्लिन नारायणगढ सडकखण्ड पनि राम्रो छ। यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटककालागि सडक र हवाई यातायात सुविधा सहज भइसकेको छ। मेलामा आउने सबै पर्यटक भरतपुरको जुनसुकै होटलमा बस्न सक्छन् ।

बिहान मेलामा छिरेपछि जीप सफारी, डुंगा सफारी, हात्ती सयर, विभिन्न कलाकारको प्रस्तुतीमार्फत मनोरञ्जन लिन सक्नेछन्। साँझ पनि पर्यटकले यहाँको सबै रैथाने परिकारको स्वाद लिँदै थारु नाच, लोक गीतमार्फत मनोरञ्जन लिन सक्ने उनले बताए । उनका अनुसार मेला आयोजना हुन लागेको क्षेत्र वरपर छ वटा ठूला होटल रहेका छन् भने १५ वटाभन्दा बढी उच्च स्तरीय रिसोर्ट संचालनको तयारीमा रहेका छन्।

अध्यक्ष दवाडीले भने, ‘ राइनोकुञ्ज क्षेत्रमा नयाँ बन्ने होटल र रिसोर्टहरुले जग्गा किनेर राखेका छन् । नारायणी सफारी र होटल बीसहजारी यस क्षेत्रका प्रशिद्ध होटलहरु हुन् । मेलाको आयोजक समूहले नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल संघ चितवनसँग समन्वयमा काम गरिरहेको उनले जानकारी दिए। मेलाको संयोजन भरतपुर महानगरपालिकाले गरेको छ भने प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको छ।

यसअघि पनि त्यसक्षेत्रमा अंग्रेजी नयाँ वर्ष र भ्यालेन्टाइन डेमा विशेष सांगितिक कार्यक्रमहरु भएका थिए । गत माघमा देशभरका महिला पत्रकारहरुको राष्ट्रिय भेला पनि सोही क्षेत्रमा भएको थियो ।

narayanionlie

प्रतिक्रिया दिनुहोस