आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्ज महानगरमा छाडा चौपाया : ४८ घण्टाभित्र जरीवाना नतिरे जफत

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) २४३ पाठक संख्या

चैत १३   छाडा चौपाया नियन्त्रण अभियान थालेको वीरगञ्ज महानगरपालिकाले जरीवाना तिरेर पशु फिर्ता नलगे जफत गर्ने भएको छ । पशु चौपाया सडकमा प्रवृृत्ति नरोकिएपछि महानगरपालिकाले थप कडाइ गरेको हो ।

यसअघि महानगरपालिकाले नियन्त्रणमा लिएको पशु चौपाया पशुधनीसँग जरीवाना लिएर जिम्मा लगाउने र लिन नआएको खण्डमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छोड्ने गरेको थियो । चालु आर्थिक वर्षमा मात्रै महानगरपालिकाले १३ वटा पशु चौपाया पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छोडेको थियो ।

समातिएका पशु चौपाया अबदेखि भने आदर्शनगरस्थित अस्थायी काञ्जी हाउसमा राखिनेछ । ४८ घण्टाभित्र पशुधनीले जरीवाना तिरेर ती चौपाया नलगे हेटौंडा पठाइने महानगरपालिकाले जनाएको छ ।

त्यसका लागि वीरगञ्ज महानगरपालिकाले हेटौंडा उपमहानगरपालिका-१६ स्थित लक्ष्मी चौपाया सप्लायर्ससँग सम्झौता गरिसकेको छ ।

फागुन २८ गते महानगरपालिका र लक्ष्मी चौपाया सप्लायर्सबीच भएको सम्झौतामा लक्ष्मी चौपाया सप्लायर्सले वीरगञ्ज महानगरपालिका तोकेको स्थानमा ४८ घण्टासम्म राख्ने उल्लेख छ । ४८ घण्टाभित्र सम्बन्धित पशु चौपाया धनी सम्पर्कमा नआएमा सुरक्षित पालनपोषण र व्यवस्थित खानपानको व्यवस्था गर्ने गरी जिम्मा लिने उल्लेख छ ।

तर, चैतदेखि भदौसम्म महानगरपालिकाले चौपाया फिर्ताको आग्रह गरेमा दिन सकिने प्रावधान राखिएको छ ।

सम्झौतापछि लक्ष्मी सप्लायर्सले १४ पशु चौपाया हेटौंडा लगिसकिएको छ । चैत ३ गते ६ वटा र चैत ५ गते ९ चौपायालाई हेटौंडा पठाइएको हो ।

फार्ममा गाईबस्तु पाल्ने सोचले वीरगञ्ज महानगरपालिकासँग सम्झौता गरिएको लक्ष्मी चौपाया सप्लायर्सका शंकरबहादुर कार्कीले बताए । ‘पानी र घाँसको पायक पर्ने ठाउँमा फर्म छ । निरोगी पशुहरु पाल्न कुनै समस्या छैन । अहिले पनि फार्ममा १० वटा गाईबस्तु छन्’, उनले भने, ‘गाईको उद्दार गर्दा धर्म पनि हुन्छ, गोबर मल काम लाग्छ, दूध उत्पादन गर्न सके आर्थिक उपार्जन पनि हुन्छ भनेर वीरगञ्ज महानगरपालिकासँग सम्झौता गरेका हौं ।’

उनले जितपुर सिमरा उपमहानगरपालिकाबाट पनि आफूले ७ वटा पशु चौपाया लिएर गएको सुनाए । यसरी लगेका पशु चौपायामध्ये कतिपय रोगी हुने हुँदा मर्ने गरेको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस