आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कल सेन्टरमा मलेसियाबाट कल : ५ महिनादेखि तलब पाइनँ

AuthorAP Khabar२०७५ चैत्र २०, बुधबार (४ साल अघि) ३३१ पाठक संख्या

स्थान : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिहंदरबार

मन्त्रालयको भुई तलामै कल सेन्टर जाने बाटो देखाइएको छ । त्यसलाई पछ्याउँदै जाँदा कल सेन्टर कक्षमा ५ जना कर्मचारी फोनमा कुराकानी गरिरहेका थिए ।

‘स्वागत छ श्रम कल सेन्टरमा । म सरिना महर्जन, भन्नुस् त के सेवा गर्न सक्छु ?’ कानमा हेडफोन लगाएर कम्प्युटर अगाडि बसिरहेका मध्येकी एकले भनिन् ।

उताबाट केही जवाफ आयो । फेरि सरिना बोलिन्, ‘के समस्या हो भन्नुस् न’ । कल सेन्टरमा फोन गर्नेले आफ्नो समस्याको बेलिबिस्तार लगाउन थाले । सरिनाले म्यानपावरको नाम सोधिन् । उताबाट हिमाल मात्र भन्ने जवाफ आएछ क्यारे । उनले यो सर्च गर्न नभेटिएकाले पुरा नाम भन्न आग्रह गरिन् ।

‘म्यानपावरको नाम चाहिँ पत्ता लाग्छ भनेर बुझेर भन्नुस् है’ भन्दै उनले धन्यवादसहित फोन राखिन् ।

सरिनाका अनुसार फोन गर्ने व्यक्ति मलेसियामा रहेछन् । उनकी श्रीमती पनि रोजगारीका लागि मलेसिया जान चाहेकी रहेछिन् तर, एक व्यक्तिले रकम लिएर लामो समयदेखि झुलाएर राखेका रहेछन् । पटकपटक आग्रह गर्दा पनि सम्बोधन नभएपछि केही उपाय लाग्छ कि भनेर कल सेन्टरमा फोन गरेका रहेछन् ।

म्यानपावरको पुरा नाम थाहा नभएकाले पत्ता लगाएर फेरि फोन गर्ने उनले बताएको सरिनाले सुनाइन् ।

कल सेन्टरमा कार्यरत सरिनासहित पाँच जना यस्तै गुनासो सुन्न व्यस्त देखिएन । हामी बस्दाबस्दै बुटवलबाट फोन आयो । ‘म दुबई जान लागेको । म्यानपावरले एक लाख ५० हजार माग्यो । के गरौं ?’ फोनकर्ताले प्रश्न गरे । १० हजार रुपैयाँभन्दा बढी लाग्दैन भन्दै कर्मचारीले सेवाग्राहीसँग लट नम्बर दिन आग्रह गरिन् । म्यानपावरले किन चाहियो भन्दै लट नम्बर नदिएको फोनकर्ताको गुनासो थियो । आवश्यक कारबाहीका लागि उनको गुनासो दर्ता भयो ।

मलेसियाबाट फोन आयो, ५ महिनादेखि तलब नपाएको गुनासो गरे । कल सेन्टरमा फोन गर्नेहरुको नाम भने गोप्य राख्न मन्त्रालयले आग्रह गरेकाले यहाँ उल्लेख गरिएन ।

तीन वटा गुनासो त प्रतिनिधि घटना मात्र हुन्, मन्त्रालयका अनुसार कल सेन्टर स्थापना भएपछि देशभित्र र बाहिरबाट लगातार यस्तै गुनासाहरु आइरहेको छ ।

गुनासा सुन्न भ्याई नभ्याई

कल सेन्टरमा ५ जना कर्मचारी खटिएका छन् । तर, उनीहरुले एक दिन फुर्सद पाउने अवस्ता छैन । पहिलो दिन नै ४ सय ५३ जनाले फोन गरेर आफ्नो गुनासा टिपाएका छन् । मंगलबार मात्रै ८ सय बढी यस्ता फोन आएको छ ।

मन्त्रालयका अनुसार सामाजिक सञ्जालहरुबाट आएका गुनासाहरुको संख्या यसमा समावेश छैन । भाइबर, इमो, मेसेन्जरबाट पनि गुनासो गर्ने व्यवस्था मिलाइएको छ ।

यहि अनुपातमा गुनासो आइरहे ५ जना कर्मचारीले भ्याउने अवस्था नरहेको एक कर्मचारीले बताउँछन् ।

कस्ता आउँछन् गुनासा ?

श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार कल सेन्टरमा धेरै गुनासा ठगीकै आएका छन् । कतिले म्यानपावरले ठगेको त कतिले विदेशमा पुगेर पनि भनेको जस्तो तलव, सेवा सुविधाहरु नपाएको गुनासा टिपाएका छन् ।

सबैभन्दा धेरै मलेसिया, कुवेत, कतार लगायतका खाडी मुलुकबाट गुनासा आएका छन् । तलब नपाएको, उपचार गर्न नपाएको, बिरामी भएर घर फर्कन्छु भन्दा पनि नपाएको, म्यानपावर कम्पनीले बढी शुल्क असुलेको गुनासा आएका छन् ।

कुवेत लगायतका मुलुकबाट महिला कामदारले आफू नेपाल आउन चाहेको तर, पुन फर्किन नपाइने डरले आउन नसकेको गुनासाहरु समेत सुनाउने गरेका छन् । यसका अतिरिक्त प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा कोषको विषयमा समेत केही जिज्ञासा आएको कल सेन्टरमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

गुनासाको तत्कालै ‘रेस्पोन्स’

कल सेन्टरमा गुनासोहरु दिन प्रतिदिन बढ्दो छ । कतिपय जिज्ञासा कल सेन्टरबाटै सम्बोधन गर्ने सकिने खालका छन् भने धेरै वैदेशिक रोजगार विभाग र सम्बन्धित मुलुकमा रहेका नेपाली दूताबासहरुले सम्बोधन गर्नुपर्ने खालका छन् ।

कतिपयले कल सेन्टरमा आएका धेरैजसो गुनासोहरु सम्बोधन हुनेमा आशंका गर्छन् । तर मन्त्राययका प्रवक्ता रेग्मी भने गुनासाहरु सम्वोधन गर्नकै लागि कल सेन्टर खोलिएकाले शंका नगर्न आष््रह गर्छन् । आएका गुनासाहरुलाई प्राथमिकताका आधारमा कारबाही अघि बढाइने उनले बताए ।

‘पहिलो कुरा त हामी सेवाग्राहीसँग प्रत्यक्ष जोडिन पयौं उनीहरुका गुनासाहरु सुन्न पायौं, यो नै राम्रो कुरा हो’ प्रवक्ता रेग्मीले भने, ‘अर्को कुरा गुनासाका विषयमा के कस्ता गुनासा आउँछन्, सोहि अनुसार मन्त्रालयले एक्सन लिन्न्छ ।’

मन्त्रालयले तत्कालै माताहतका निकायलाई निर्देशन दिने भएकाले गुनासा सम्वोधन हुने उनको दाबी छ ।

online khabar

प्रतिक्रिया दिनुहोस