आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्यात विस्तार गर्दै भरतपुरको एभरेष्ट बियरः जापान, बेल्जियम र अष्ट्रेलियामा माग बढ्दो

AuthorAP Khabar२०७५ चैत्र २१, बिहिबार (५ साल अघि) ३१७ पाठक संख्या

चैत २१   भरतपुर महानगरपालिका–१२ मा रहेको माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ ।

कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ । श्रेष्ठका अनुसार अमेरिकामा एभरेष्टको ट्रेड दर्ता भइसकेको छ । कोरिया र अष्ट्रेलियामा पनि दर्ताको प्रक्रिया भइरहेको उहाँले बताउनुभयो । ब्रुअरीले १२ वर्षयता जापानमा एभरेष्ट बियर पठाउँदै आएको छ । वार्षिक चार कन्टेनर बियर जापान जाने गरेको उहाँले बताउनुभयो । तीन वर्षअघिबाट बेल्जियम र दुई वर्षअघिबाट अष्ट्रेलिया बियर पठाइँदै आएको छ । वार्षिकरूपमा पाँच कन्टेनर बेल्जियम र तीन कन्टेनर अष्ट्रेलिया जाने गरेको श्रेष्ठले बताउनुभयो ।

सात वर्षअघि चीन जाने गरेको भए पनि त्यहाँको बजार बढी प्रतिस्पर्धी भएपछि धान्न नसक्दा हाल रोकिएको छ । हाल निर्यात भइरहेका देशमा खपत बढाउने र नयाँ देशमा निर्यात शुरु गर्ने योजनामा कम्पनी रहेको उहाँले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम रहेको बियर भएकाले विदेशीले विशेष रुचि राखेको उहाँले बताउनुभयो ।

कतिपयले बियर पिएपछि स्टिकर निकालेर राख्ने गरेको उहाँको भनाइ छ । सरकारले निर्यात गर्दा राजश्वमा छुट दिने गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजालका अनुसार बियर निर्यात गर्दा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिने व्यवस्था रहेको छ । रिजालका अनुसार नेपाली बजारमा समेत बिक्री गर्ने यस ब्रुअरीले चालू आवको फागुन मसान्तसम्म रु एक अर्ब १० करोड १६ लाख २७ हजार अन्तःशुल्क बुझाइसकेको छ ।

माउण्ट एभरेष्ट ब्रुअरीले एभरेष्ट प्रिमियमसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको छ । विसं २०४२ मा अमात्य परिवारले शुरु गरेको यस कम्पनीको पहिलो बियर सानमिगलको ब्राण्ड खोसिएपछि करीब बन्दको अवस्थामा पुगेकामा ब्राण्ड थप गरी निर्यातसमेत गर्न थालेपछि बजार विस्तार गर्न सकेको श्रेष्ठले बताउनुभयो । कम्पनीमा हाल २२५ ले रोजगारी पाएका छन् ।

narayanionline

प्रतिक्रिया दिनुहोस