आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रत्ननगर नगरपालिका : अलमलमै डेढ वर्ष

AuthorAP Khabar२०७५ चैत्र २२, शुक्रबार (५ साल अघि) ५०३ पाठक संख्या

२२ चैत   चितवनको सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकापछि दोस्रो ठूलोमा पर्छ, रत्ननगर नगरपालिका । महानगरको सबभन्दा नजिकको नगरपालिका पनि हो, रत्ननगर ।

गत वर्षको स्थानीय तह निर्वाचनमा नारायण वन दोस्रो पटक मेयर वने । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि भरखरै नगरपालिका वनेको रत्ननगरको मेयरमा उनी नै निर्बाचित भएका थिए ।

अघिल्लो कार्यकालका अधुरा योजनाहरु पूरा गर्ने सुनौलो मौका पाएका वनले पहिलेभन्दा बढी अधिकारसहित फैलिएको नगरपालिका पनि पाए । देशको तेस्रो पर्यटक गन्तब्य चितवनको साविक बछ्यौली गाविसको सौराहा क्षेत्र रत्ननगर नगरपालिकामा समेटिनु ठुलो महत्वको कुरा थियो ।

उन अिाफैं पनि स्थानीय तह संचालनमा पहिले भन्दा स्वभाविक रुपमा बढी अनुभवी भएका थिए । तर, दोस्रो पटक निर्वाचित भएको करिब डेढ वर्षमा मेयर वनले नगरपालिकालाई गतिशिल वनाउने कुनै ‘एक्सिलेटर’ दवाउन सकेका छैनन् ।

कर्मचारीको छिटो-छिटो सरूवा, कानुन अभाव, दलहरुको असहयोग लगायतका विषयलाई मेयर वनले उल्झनका रुपमा लिएका छन् ।

पार्टीको पनि साथ छैन

रत्ननगर घर भएका चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी जनप्रतिनिधीहरुले अपेक्षा अनुसार काम देखिाउन नसकेको बताउँछन् । दोहोर्‍याएर नगरपालिकाको प्रमुख हुँदा पनि समस्या देखिएको उनको भनाइ छ ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले कानुन वनाउनेदेखि कार्यान्वयन गर्नेसम्मको जिम्मेवारी भएकाले स्थानीय सरकारले सोचेजस्तो काम गर्न नसकेको हुनसक्ने बताए ।

नगरपालिकाको आन्तरीक राजश्व संकलन पनि सन्तोषजनक छैन । प्रक्षेपण गरिएको राजश्व संकलन लक्ष्यमा पुग्न नगरपालिकालाई हम्मेहम्मे पर्ने देखिन्छ । नगरपालिकाले चालु आर्थिक वर्षमा रु.११ करोड आन्तरीक राजश्व लक्ष्य लिएकोमा फागुनसम्म ५ करोड १७ लाख मात्र उठाउन सकेको छ । करको दरलाई लिएर विपक्षी दलदेखि स्थानीय व्यवसायीसम्मको आन्दोलनको सामना गर्न पर्‍यो ।

पूर्वाधार निर्माणमा पनि नगरपालिका अति कमजोर देखियो । अघिल्लो आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले यो वर्ष १२ किलोमिटर मर्मत गरेको छ ।

सौराहाको मुख्य प्रवेशद्वार सौराहाचोक अस्तव्यस्त छ । अति साँघुरो र जीर्ण सडक छ । सडकमै ब्यापार भैरहेको छ । यसको निर्माण र सुधारमा न नगरपालिकाले चासो दिएको छ न त सौराहाका व्यवसायीलाई कुनै मतलब छ ।

सौराहा प्रवेशद्वारको दुरावस्थाले सौराहावासी र नगरपालिकालाई गिज्याइरहेको भान हुन्छ । कतिपय भूमाफिया सार्वजनिक जग्गा संरक्षण गर्ने नगरपालिकाको नीति बिरुद्व लागेका छन् । कति वडा अध्यक्ष नै गिटीबालुवा निकाशीको किर्ते बिलमा मुछिएका छन् ।

‘अहिले विकासको जुन हुटहुटी छ, त्यो रफ्तारमा जान नसकिएकै हो,’ मेयर वन भन्छन्, ‘यसका लागि कर्मचारीको अभाव छ, पार्टीको पनि साथ छैन ।’

मसिना काममै अलमल

पूर्वी चितवनको प्रमुख अस्पतालको रूपमा रहेको रत्ननगर बकुलहर अस्पतालको स्तरवृद्धिमा केही काम भएको छ । अस्पतालमा औषधी र उपकरण अभाव नहोस् भनेर ध्यान दिएको मेयर वन बताउँछन् ।

मेयर वनले काम भने थालेका छन् । हरेक स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने केन्द्रीय सरकारको नीति अनुरुप रत्ननगरका चारवटा सरकारी विद्यालयमा प्राविधिक शिक्षा पढाउन थालिएको छ । थप तीन विद्यालयमा होटल म्यानेजमेन्ट पढाउने तयारी छ । ‘त्यसका लागि नगरपालिकाबाट २५ लाख रुपैंया दिएका छौं’, मेयर वनले भने, ‘विद्यालय शिक्षा ऐन वनाउने नेपालकै पहिलो नगरपालिका हामी हौं ।’

८० वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्य जाँच गराउँन थालेपनि कर्मचारी अभावले निरन्तरता पाउन नसकेको उनले बताए । अहिले नगरपालिकामा स्वास्थ्य अधिकृत र प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

नगरपालिकाले किसानको सुविधाका लागि कामहरु पनि थालेको छ, तर कृषि अधिकृत र पशुका डाक्टर नहुँदा समस्या छ । सुत्केरी गाईलाई भत्ता दिने कार्यक्रम प्रभावकारी ढंगले अघि बढेको मेयर वनले बताए ।

सौराहा चोकमा सानो बसपार्क बनाएको छ । चित्रसारी नजिक बसपार्क वनाउने योजना चाही अघि बढ्न सकेको छैन ।

पुर्वपश्चिम राजमार्गमा ‘स्काई बि्रज’ बनाउने योजना पनि रोकिएको छ । त्यसको लागि सडक बिभागले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनै नदिएको गुनासो मेयर वनले गरे । उनले सडक अस्तव्यस्त बनाईरहेको फुटपाथको व्यापार नियन्त्रण गर्न नगर प्रहरी राख्ने योजना बनाएको बताए ।

टिकौली जंगल छेउमा क्षेत्रीय रंगशाला बनाउन शिलान्यास गरेपनि वन मन्त्रालयले रोकेपछि त्यहाँ कान्जीहाउस बनाउने योजनामा छ नगरपालिका ।

कामका सूची

नगरपालिकाले चालु आवमा पूर्ण सुरक्षित मातृत्व प्राप्त र कुपोषण मुक्त नगरपालिका घोषणा गर्ने नीति लिएको छ । त्यस्तै, पर्यटक सूचना केन्द्र, फन पार्क, सिटी हल र ल्याण्डफिल्ड साइट निर्माण योजना छन् । सौराहामा ठूला कार्यक्रम गर्न मिल्ने सिटी हलको डिपिआर सम्म भएको छ ।

पुरानो पदमपुर क्षेत्रको डेढ सय बिघामा वन्यजन्तुका लागि ताल बनाउने योजना पनि नगरपालिकासँग छ । त्यो योजनाले सौराहामा पर्यटक बसाइ लम्बाउने मेयर वन बताउँछन् । उनी भन्छन्, ‘ताल नजिकै सानो चिडियाखाना पनि बनाउने योजना छ ।’

उनका अनुसार, सौराहा क्षेत्रका सडकमा आधुनिक ठेलाहरू राखेर ‘स्टि्रट फुड कल्चर’ बिकास गराउन प्रदेश सरकरको ५० लाख रुपैयाँ सहयोगमा काम थालिएको मेयरले बताए । ‘वडा नं. ९ मा सबै समुदायको सांस्कृतिक घर बनाउने काम थालेका छौं’, उनले भने, ‘जातीय बिषेशताका घरहरु बनाउने योजना अनुसार, पाँच जातिको घर बन्दैछ ।’

ईको पार्क बनाउन प्रदेश सरकारले ५० लाख र नगरपालिकाले एक करोड रुपैंया विनियोजन गरेको मेयर वनले बताए । उनका अनुसार, सुकुम्वासीको लगत संकलन गरेर जग्गा भएकाहरुलाई हटाउने अवधारणामा काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस