आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन विश्वविद्यालयको थेसिस किनबेचमा प्राध्यापककाे संलग्नता

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) ३०१ पाठक संख्या

चैत २४   त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो गरेका छन् । गोइत अकाउन्ट विषयका शिक्षक हुन् ।

प्राध्यापकहरूले थेसिस र प्रोजेक्ट रिपोर्ट आफैँले तयार गरी प्रतिविद्यार्थी १५ देखि २५ हजारसम्म रकम असुल्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षकले बार्गेनिङ गरेको गुनासो अभिभावकले क्याम्पस प्रमुखसँग गरेपछि यस्तो तथ्य बाहिरिएको हो । क्याम्पसका केही स्थायी, करार र आंशिक शिक्षकले समेत विद्यार्थीसँग बार्गेनिङ गरेको पाइएको छ । क्याम्पसवरिपरिका फोटोकपी सेन्टरले समेत शिक्षकसँगको मिलेमतोमा विद्यार्थीलाई थेसिस बेच्ने गरेको आरोप लाग्दै आएको छ ।

प्राध्यापकलाई ठगी मुद्दा लगाउने क्याम्पसको चेतावनी
बिबिएस चौथो वर्षमा ५० पूर्णांकको प्रोजेक्ट वर्क र एमबिएस तहमा सय पूर्णांकको थेसिस तयार गर्नुपर्छ । शिक्षकले आफैँले त्यस्तो सामग्री तयार गरेर विद्यार्थीसँग रकम असुल्न थालेपछि क्याम्पसले उनीहरूमाथि ठगी मुद्दा चलाउने चेतावनी दिएको छ ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले आइतबार सूचना जारी गरी बिचौलियालाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्ता काम दोहोरिन गएमा थेसिस/प्रोजेक्ट रिपोर्टमा चलखेल गर्ने शिक्षकलाई क्याम्पसबाट हटाउने, बढुवा रोक्ने वा त्रिवि सेवाबाट हटाउन सिफारिस गर्ने र ठगीसम्बन्धी मुद्दा चलाउने तथा किन्ने विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिनेछ,’ सूचनामा भनिएको छ ।

क्याम्पसमा प्रत्येक वर्ष बिबिएसमा करिब सात सय र एमबिएसमा हजार विद्यार्थीले थेसिस तथा प्रोजेक्ट रिपोर्ट बुझाउँछन् । विद्यार्थीको चाप र डिन कार्यालयको बाध्यात्मक नीतिको मौका छोपी केही शिक्षकले नाजायज काम गरेको क्याम्पस प्रमुख आचार्यको भनाइ छ ।

nayapatrika

प्रतिक्रिया दिनुहोस