आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुजाता कोइराला भन्छिन्– हामी मिल्दा कसैले टाउको नदुखाए हुन्छ

AuthorAP Khabar२०७६ बैशाख २, सोमबार (५ साल अघि) ३६९ पाठक संख्या

बैशाख २  निर्वाचनमा कांग्रेस पराजित हुनुको दोष सबैलाई जान्छ । पदाधिकारीहरू पनि निर्वाचनका वेला सक्रिय नभएकै हुन् । जिल्ला–जिल्लामा जाँदा मञ्चमा जता पनि पदाधिकारी नै बस्नुपर्ने, जहाँ पनि ठूलो नेता बोल्नुपर्ने, मञ्चमा बस्नुपर्ने तलका नेता कार्यकर्ताको आवाज सुन्नै नपर्ने अभ्यास पार्टीमा छ । मलाई पनि महासमिति बैठक समापनमा बोल्न दिइएको थिएन । जबर्जस्ती मागेर बोलेकै हुँ ।

नयाँलाई बोल्न दिएपछि पार्टीका समस्या के हुन्, समाधानका लागि कसो गर्न सकिन्छ भन्ने उपाय बाहिर आउँछन् । मैले समापनमा बोलेको विषयमा सुदूरपश्चिममा शेरबहादुरजीको नाम सुन्न नचाहनेले पनि तपाईंले कति राम्रो बोल्नुभएको भनेर तारिफ गरे । गिरिजाबाबुको झल्को पायौँ भने । यस्तो सुन्दा मलाई उनीहरूप्रति माया जागेर आयो । कार्यकर्ताहरू कति टुहुरा छन् भन्ने प्रतिनिधि घटना हुन् यी ।

एक वर्षयता तीन कोइराला सँगै खाना खाने, फोटो खिचाउने, देउवाइतर समूहका अरू नेतासँग भेट्ने गर्नुभएको छ । यसको सन्देश के हो ?
हामीबीच (कोइराला परिवारभित्रै) दूरी बढेजस्तो लाग्यो । किनकि, म पछिल्लो समय सक्रिय पनि छैन । भेटघाट–छलफल नभएको लामो समय भएको थियो । मैले नै सबैलाई बोलाएर छलफल गरेँ । सबै मिलेर जानुपर्छ भन्नेमा हामी छौँ । हामी टुक्राटुक्रामा विभाजित हुँदा कसैको पनि राम्रो हुँदैन । कसले नेतृत्व लिनेभन्दा पनि एक भएर जाने कुरा हामीले गरेका हौँ । नेतृत्व लिने कुरामा पनि सबैभन्दा बलियो जो छ, उसैलाई सबैले सहयोग गर्नुपर्छ । आफूभन्दा बलियो कोही छ भने छोड्न तयार हुनुपर्छ । सबैजना चुनाव लडेर हुने कुरा होइन, त्यसैले सबै मिलेर एकजना सभापतिको उम्मेदवार छान्नुपर्छ । आपसमा हामी विभाजित हुनुहुँदैन ।
१४औँ महाधिवेशनमा कोइराला परिवारबाटै सभापति हुनेगरी छलफल भइरहेको हो ? 
कोइराला परिवारले नेतृत्व गर्नै हुँदैन भन्ने पनि छैन । सबैजनाबीच छलफल गरेर अगाडि बढ्नुपर्छ । कुनै परिवार विशेषले गर्नै हुँदैन भन्ने छैन । राजनीतिमा सबैका परिवार नै छन् । कोइराला परिवारका सदस्यका नेताको मात्रै किन विरोध ? मैले बुझ्न सकेको छैन । शेरबहादुरजीकी श्रीमती पनि चुनाव लड्नुभयो । अरू नेतालाई सभापतिमा उठ्ने अधिकार भएजस्तै पूरा अधिकार शेखरदाको पनि छ, शशांकको पनि छ । तर, लड्ने इच्छा हुनेले सबैको सहमति लिनुपर्छ । सबैलाई चित्त बुझाउनुपर्छ । पार्टीलाई राम्रो गर्ने संगठन गर्ने, सबैलाई विश्सासमा लिन सक्ने आँट शेखर र शशांकमा छ भने उहाँहरूले लड्नुहुँदैन भन्ने छैन । उहाँहरूको अधिकार छ, सभापतिमा लड्नुहुन्छ । अरूले टाउको फुटाउन जरुरी छैन । पञ्चायतकालमा हामी सबैको टाउको फुटेको छ । टाउको मात्रै होइन हामी कोइरालाहरूको ‘हर्ट’ नै ‘ब्रेक’ भएको छ । हामी बच्चा हुँदा असहज राजनीतिक अवस्थामा त्रासदीपूर्ण मनोविज्ञानको असर हामीमा अझै छ । दुईवटा जनआन्दोलनमा हाम्रो पनि टाउको फुटेको छ । लठ्ठी खाएका छौँ ।
सभापति देउवाले तपाईंहरूलाई लक्षित गर्दै ‘कांग्रेस कोइरालाको बपौती होइन’ भन्नुभयो नि ?
यो उहाँको कुरा हो । देउवाजीले भनेको विषयमा म बहस नै गर्न चाहन्नँ ।
१३औँ महाधिवेशनमा सभापतिमा अन्तिमसम्म दाबी गर्नुभयो । अन्ततः रामचन्द्र पौडेललाई छोड्नुभयो । अब १४औँ महाधिवेशनमा तपाईंको तयारी के छ ? 
जिल्ला सभापति, नेता र कार्यकर्ताहरूले पनि एकपटक रामचन्द्रजीलाई सहयोग गरिदिनुस् भन्नुभयो । रामचन्द्रजीले पनि तपाईं मेरो टिममा रहेर मलाई सहयोग गर्नुस् भनेपछि ‘ठीकै छ पार्टीमा सहमति हुन्छ भने म तगारो बन्दिनँ’ भनेर ब्याक भएकी हुँ । किनकि, रामचन्द्रजी हाम्रो नेता नै हुनुहुन्थ्यो । तर, १४औँ महाधिवेशनमा म सभापतिमा लड्दिनँ । हामी तीनजनामध्ये शेखर र शशांक लड्दा मेरो सहयोग हुन्छ । तर, उनीहरूले पनि सबैजनाको समर्थन लिनुपर्छ । एक्लै लडेर जितिँदैन । सभापतिका लागि मेरो चाहिँ एक सय प्रतिशत दाबी रहँदैन । सबैजना ढुक्क भए हुन्छ ।
सक्रिय राजनीति गर्दैगर्दा तपाईं किन एकाएक पछि हट्न खोज्नुभएको त ? 
मलाई क्यान्सर भएपछि मैले नयाँ जीवन पाएँ । ममा नयाँ सोचहरू आए । मलाई लाग्यो, पूर्णकालीन राजनीति मेरा लागि सुहाउँदो होइन रहेछ । म पोलिटिकल मान्छे होइन रहेछु भन्ने फिल भयो । बाध्यता हो या परिवार लागेर हो, अहिलेसम्म राजनीतिमा लागेँ । अब राजनीतिभन्दा सामाजिक काम नै मेरो प्राथमिकता हुनेछ । पार्टी विशेषका लागि भन्दा समग्र देशका लागि काम गरौँ भन्ने बोध भएको छ । अन्तर्राष्ट्रिय फोरममा पनि रुचि छ, लागिरहेको छु ।
‘हामी एक छौँ’ भन्ने सन्देश दिन तपाईंहरू एउटै मालामा पनि बेरिनुभयो ?
केही दिनअगाडि वीरगन्जमा जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा हामी तीनैजना पुगेका थियौँ । मैले नै शेखर र शशांकलाई त्यसमा बोलाएको हुँ । शशांक पार्टी महामन्त्री भए पनि मैले उद्घाटन गर्ने कार्यक्रममा उनी खुसी थिए । हामी तीनैजनालाई कार्यकर्ताहरूले गला मिलाएर माला लगाइदिए । हामीले भनेर लगाइदिएका होइनन्, नेता कार्यकर्ताको उत्साह र माया हो ।
पहिले–पहिले यसरी भेटेको विषय बाहिर ल्याउनुभएको थिएन । आजभोलि सँगै हिँड्नुको राजनीतिक अर्थ पनि त होला ?
हामी कहिल्यै पनि नमिलेका थिएनौँ । हामी आ–आफ्नो काममा थियौँ । हामीबीच झगडा थिएन । तर, झगडा लगाउने र असझदारी बढाउने प्रयास भने हुन्थे । त्यसैले अब हामी ‘अरूलाई खेल्न दिनुहुँदैन, संवाद भइरहनुपर्छ अन्यथा हामी पनि कमजोर हुन पुग्छौँ’ भन्ने निष्कर्षमा पुगेका हौँ । पार्टीमा अरूको जस्तै हाम्रो पनि आवश्यकता छ । हामीले राजनीति नै गर्न नपाउने कुन विधानमा लेखेको छ ? हामीले नराम्रो गरेको भए हामीलाई कार्यकर्ताले रुचाउने थिएनन् । अलिकति कार्यकर्ता शशांकसँग प्रभावित होलान्, अलिकति शेखरसँग प्रभावित होलान्, अलिकति मसँग प्रभावित होलान् । हामी तीनजना मिल्यौँ भने पार्टी बलियो हुन्छ । भोलि जोसुकै सभापतिमा उठ्दा पनि हामी तीनजना मिल्दा पार्टीलाई सहयोगै रहन्छ । हामी मिल्दा पार्टी बिग्रँदैन  । हामी तीनजना मिल्दा कसैले पनि टाउको नदुखाए हुन्छ । हामी अरूसँग मिल्नुपर्छ । अरू पनि हामीसँग मिल्नुपर्छ । गुट नबनाई एक भएर जाँदा मात्रै पार्टी बलियो हुन्छ ।
सभापतिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका धेरै नेता दाबेदार देखिन्छन् । सभापतिमा को आउनु उपयुक्त होला ? 
यो त अहिले भन्न सकिँदैन । यो छलफलबाट टुंगिने विषय हो । सबैको इच्छा हुन्छ, तर कसै न कसैले त्याग्नुपर्छ । मैले पनि त इच्छा त्यागेँ । मलाई ‘सभापतिमा अघि बढ्’ भन्ने मान्छे पनि त छन् । तर, म अरूलाई समर्थन गर्छु । सबैजना लड्ने होइन, एकजना लड्ने हो । पार्टी बचाउन कसले सक्छ, त्यो नै लड्ने हो । कसले काम गर्न सक्छ, कार्यकर्ताबीच को बढी लोकप्रिय छ, ऊ लड्ने हो । ग्रासरुटमा घुसेर जाने मान्छे हुनुपर्छ । अब नयाँ अनुहार आउनुपर्छ । उही अनुहार, उही बोली, उही आश्वासनलाई कार्यकर्ताले रुचाउँदैनन् ।
शेखर र शशांकबारे तपाईं  के भन्नुहुन्छ ?
मेरो खास टिप्पणी छैन । उहाँहरू मिलेर आउँदा मेरो सहयोग र समर्थन हुन्छ । उहाँहरू पनि दुःख गरेर आउनुभएको छ । पार्टी चलाउन सक्ने क्षमता छ, छैन ? स्वस्थ हुनुहुन्छ कि हुनुहुन्न ? यस्ता विषयले पनि धेरै कुरा निर्धारण गर्छ । राजनीतिमा उमेरभन्दा अनुभव ठूलो कुरा हो । एउटै व्यक्तिप्रति सधैँ उत्साह हुँदैन । गिरिजाबाबु बुढो हुनुहुन्थ्यो । तर, युवाहरूले उहाँलाई रुचाउथे । उहाँको शवयात्रामा सहभागीमध्ये ८० प्रतिशतभन्दा बढी युवा थिए । ती सबै कांग्रेस थिएनन् । देशभरका युवा थिए । हजारौँ युवा देखेर सुशीलदाले सोध्नुभयो, ‘को हुन् यिनीहरू तँ चिन्छेस् ?’ नेविसंघका त होइनन् । नेविसंघ २० प्रतिशत र बाँकी अरू नै युवा हुन् भन्ने भयो । अब अरू युवालाई हामीले पार्टीमा तान्नुपर्छ । अब नीति कार्यक्रम बनाउँदा युवालाई लक्षित गर्नुपर्छ । रोजगारी, शिक्षा, आर्थिक उन्नति गर्ने हिसाबले युवा लक्षित नीति बनाउनुपर्छ । अब पुराना कुरा गरेर हुँदैन । ५० वर्षअघिको समाज अहिलेको होइन ।

प्रतिक्रिया दिनुहोस