आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’को उद्घाटन

AuthorAP Khabar२०७६ बैशाख २, सोमबार (५ साल अघि) ३९४ पाठक संख्या

बैशाख २  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’को सोमबार उद्घाटन गर्नुभयो । सियान नगर सरकार (सियान म्युनिसिपल गभरमेन्ट)द्वारा स्थापित केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धनका बारेमा अनुसन्धान गर्दछ ।

विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा. राजीवकुमार झा केन्द्रको निर्देशक हुनुहुन्छ । उहाँले दिएको जानकारीअनुसार अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ ।

उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरु, विश्वविद्यालयका पदाधिकारीहरु र केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरुको सहभागिता रहेको प्राडा झाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गर्नुभयो। उहाँले दुई देश एक अर्कोबाट लाभान्वित हुदै आएको प्रसङ्ग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गर्नुभयो।

चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताउनुभयो । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गर्नुभयो। हाल चीनमा रहेका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उनको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ ।

अध्ययन केन्द्रका निर्देशक प्रा.डा. झाले चीन र दक्षिण एसियाली मुलुकहरु तथा विशेषगरी नेपाल र चीनबीचको सम्बन्धलाई अझ नजिक ल्याई थप प्रगाढ बनाउने काममा सहयोग पुर्याउने बताउनुभयो। प्राध्यापक झा करिब २२ वर्षदेखि चीनमा रहनुभएको छ । सियान विश्वविद्यालयमा प्राध्यापनरत प्राडा झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

उनलाई चीनको सियान सरकारले सन् २०१८ का लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार पनि प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा उक्त पुरस्कारका साथ ‘सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस