आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीलंकामा शृंखलाबद्ध विस्फोट : सुरक्षा निकायका अधिकारीमाथि कारबाही हुने

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (४ साल अघि) ३३९ पाठक संख्या

बैशाख १० श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले आक्रमणको पूर्वसूचना पाएर पनि पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै सुरक्षा निकायको आलोचना गरेका छन् । आइतबार श्रीलंकाका चर्च र होटेलमा शृंखलाबद्ध विस्फोटमा ठूलो मानवीय क्षति भएको भोलिपल्टै प्रधानमन्त्रीले सुरक्षा निकायको आलोचना गरेका हुन् । सुरक्षा निकायका अधिकारीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने उनले बताएका छन् । एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्रीले आक्रमणबारे प्राप्त सूचना आफूलगायत अन्य मन्त्रीहरूलाई उपलब्ध नगराइएको बताए ।

मृत्यु हुने २९० पुगे
श्रीलंकाको राजधानी कोलम्बोका होटेल र चर्चमा आइतबार भएका शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, राजधानी नजिककै सेन्ट सेबास्टियन चर्च र देशको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको अर्को चर्चमा विस्फोट भएको थियो । चर्चमा विस्फोट भएलगत्तै ५ होटेलमा विस्फोट गराइएको थियो । प्रहरीले विस्फोटमा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको छ । आक्रमणमा यसअघि यदाकदा चर्चामा आएको जिहादी समूह राष्ट्रिय थोविद जमाथ (एनटिजे) संलग्न रहेको सरकारले दाबी गरेको छ, तर कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् ।
दश दिनअघि अलर्ट
आइतबार भएको नरसंहारबारे दश दिनअघि सुरक्षा निकायका उच्च अधिकारीलाई निर्देशन दिइएको थियो, तर सो विषयमा प्रधानमन्त्री र मन्त्रीहरूलाई जानकारी दिइएको थिएन । श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महŒवपूर्ण चर्चमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए । प्रहरी प्रमुख पुजुथले अप्रिल ११ मा प्रहरीका वरिष्ठ अधिकारीलाई गोप्य सूचना पठाएर सम्भावित हमलाबारे जानकारी गराएका थिए ।

‘एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटिजे) नामको समूहले देशका प्रमुख चर्च र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,’ प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ । एनटिजे श्रीलंकामा सक्रिय अतिवादी मुस्लिम संगठन हो र यो संगठनबारे गत वर्ष मात्र जानकारी आएको थियो । यस समूहले गत वर्ष देशका केही स्थानका बौद्धमूर्ति तोडफोड गरेको थियो । आक्रमणको चेतावनीका बाबजुद पर्याप्त सुरक्षा दिन नसकेको भन्दै सुरक्षा निकायको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस