आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली बैसाख अन्तिम साता भियतनाम र कम्बोडिया जाने

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (४ साल अघि) २८० पाठक संख्या

बैशाख १० प्रधानमन्त्री केपी शर्मा ओली दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैसाखको अन्तिम साता प्रधानमन्त्री ओली ती दुई मुलुकको भ्रमणमा जान लागेका हुन्। भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि यसको पुष्टि गरे। ‘हामी गृहकार्य गरिरहेका छौँ,’ सोमबार रिपोर्टस क्लवमा मन्त्री ज्ञवालीले भने, ‘द्वन्द्वले जर्जर भएका ती मुलुक अहिले सन्तोषजनक आर्थिक वृद्धिमा छन्। त्यो अनुभव हाम्रा लागि उपयोगी हुनसक्छ।’

ती दुबै देशबाट निम्तो आएकाले प्रधानमन्त्री ओलीले द्विपक्षीय भ्रमण गर्न लागेका हुन्। बुद्ध धर्मालम्बी बहुल यी देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेकाे छ।

प्रधानमन्त्री ओलीलाई भियतनामले बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने समारोहमा मुख्य वक्ताको रूपमा निम्ता गरेको छ। यस वर्षको बुद्ध जयन्ती जेठ ४ गते रहेको छ।

भ्रमणका क्रममा नेपाल र भियतनामबीच द्विपक्षीय हवाई सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको समेत बताइएको छ।

सन् २०१५ मा भियतनामसँग हवाई सम्झौता भएको थियो। तर, त्यसको कार्यान्वयन भएको थिएन। परराष्ट्र मन्त्रालयका अनुसार भियतानमबाट भैरहवाको गौतम बुद्ध विमानस्थलमा चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन हुन लागेको हो।

त्यस्तै, भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्नेछन्।

नेपालले दुबै देशसँग सन् १९७५ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो।

प्रतिक्रिया दिनुहोस