आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रगाढ बन्दै नेपाल–चीन आर्थिक–साँस्कृतिक सम्बन्ध

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (४ साल अघि) ५१५ पाठक संख्या

 बैशाख १० लिच्छिवीकालदेखि नै नेपाल र चीनबीच मैत्री सम्बन्ध रहँदै आएको छ । नेपाली चेली भृकुटीको विवाह तिब्बतका तत्कालीन नरेश स्रङचङ गम्पोसँग भएको इतिहासले नेपाल र चीनबीचको सामाजिक सम्बन्ध नाता कुटुम्बस्तरमा रहेको पुष्टि हुन्छ ।

चिनियाँ ऋषि मञ्जुश्री नेपाल आउँदा काठमाडौं खाल्डाे एक जलाशय थियो । मञ्जुश्रीले चोभारको डाँडा फोरेर पानी बगाएपछि यहाँ मानव बस्ती बसेको इतिहासले चीन नेपाल सम्बन्ध पौराणिक हो भन्न सकिन्छ । चिनियाँ यात्री फिसियान र ह्वेनसानको नेपाल यात्रा र नेपालबाट चीन जाने बुद्धभद्र शाक्य नेपाल चीन जोड्ने आदिकालका सेतु हुन् ।

नेपाली वास्तुकला अनुसार नेपाली विभूति अरनिकोले चीनमा गएर बनाएको मन्दिर नेपाल चीन मैत्री अमर बनाउने कोसेढुंगा इतिहासमा छ । गौतमबुद्ध र रिम्पोछेले चीनमा प्रसार गरेको बौद्धधर्मको सम्पदाले चिनियाँ समाज सिञ्चित छ ।

चीन नेपाल औपचारिक मैत्रीको पाटो
सन् १९५५ अप्रिल २४ मा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाई र नेपालका तत्कालीन राजा महेन्द्रको भेटवार्ता भयो । स्थान थियो इन्डोनेसियाको बाङडुङ र सन्दर्भ थियो असंलग्न राष्ट्रहरुको प्रथम शिखर सम्मेलन । त्यहीँबाट दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको विजारोपण भयो । इन्डोनेसिया वार्ता बमोजिम चीन सरकारले वरिष्ठ कूटनीतिज्ञ जनरल युआन चुङ मिङको नेतृत्वमा एउटा टोली नेपाल पठायो । ५ दिनको वार्तापछि सन् १९५५ अगस्त १ का दिन नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापित गरियो । नेपाल र चीनबीच मैत्री र कूटनीतिक सम्बन्धले ६ दशक पार गरेको छ । अनवरत, अविच्छिन्न र तनावरहित दौत्य सम्बन्ध भएकोले दौत्य सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सव मनाइएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा परिपुरक भूमिका
सन् १९५५ डिसेम्बर २४ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्यो । असंलग्न परराष्ट्र नीतिको पक्षमा उभिदै संयुक्त राष्ट्र संघको वडापत्रमा आस्थावान रहँदै नेपालले अन्तराष्ट्रिय मञ्चमा प्रखर भूमिका निर्वाह गर्न थाल्यो । अन्तर्राष्ट्रिय शान्ति निशस्त्रीकरण र भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकारलाई अन्तराष्ट्रिय मञ्चमा जोडदार रुपमा उठाउन थाल्यो । अन्तराष्ट्रिय मञ्चमा चीन सदा नेपालको सहयोगी रह्यो । नेपालले उठाएको मुद्दालाई चीनको समर्थन प्राप्त भइरह्यो । चीनले संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले संयुक्त राष्ट्र संघको सदस्यता नेपालले पाउनु पर्ने पक्षमा वकालत गरिरह्यो । सन् १९७२ मा चीन पनि संयुक्त राष्ट्र संघको सदस्य बन्यो । नेपाल चीन कूटनीतिक सम्बन्धको आधार तत्कालीन राजा महेन्द्रले राखेका थिए । अन्तराष्ट्रिय मञ्चमा दुवै देशले एक अर्कालाई सहयोग र समर्थन गर्ने परम्परा नै बस्यो । राजा वीरेन्द्रले राखेको नेपाल शान्ति क्षेत्रको प्रस्तावमा चीनको समर्थन प्राप्त भएको थियो ।

उच्चस्तरीय भ्रमण 
नेपालको निमन्त्रणामा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाई २५ जनवरी १९५६ मा नेपाल भ्रमणा आएका थिए । त्यो भ्रमणले नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनायो । दुई देशबीच व्यापार बढाउन र सहज बनाउन नेपाल चीन व्यापार तथा पारवहन सम्झौता भयो ।

मार्च १९६० मा नेपालका जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनको राजकीय भ्रमण गरे । दुई देशको सीमा व्यवस्थित र वैज्ञानिक रेखाङ्कन गर्न नेपाल चीन संयुक्त सीमा कमिटी गठन भयो । लिपुलेकका सीमा समस्या बल्झिए बाहेक अन्यत्र नेपाल र चीनबीच सीमा विवाद छैन । २०७२ जेठ १ गते भारत र चीनबीच लिपुलेकबाट व्यापारिक नाका खाेल्ने सम्झौता भएपछि पहिलो पटक नेपाल र चीनबीच सीमा विवादको कुरा उठ्यो । लिपुलेकको भूमिमा नेपालले आफ्नो दाबी प्रस्तुत गरेपछि भारत र चीनबाट त्रिपक्षीय सहकार्यको प्रस्ताव आएको बताइएको छ ।

चीनको अपेक्षा 
सन् १९६४ मा स्वतन्त्र तिब्बतका लागि विद्रोहमा उत्रिएका खाम्पा विद्रोही भागेर हतियारसहित नेपाल तर्फ छिरे । सशस्त्र खाम्पा विद्रोही समूह नेपालको मुस्ताङ र मनाङमा आएर बसेका थिए । नेपालले सेना परिचालन गरी खाम्पा विद्रोहीलाई निशस्त्र बनाएर उनीहरूको गतिविधि निस्तेज बनायो । अहिले पनि नेपालमा २० हजारभन्दा बढी तिब्बती शरणार्थी छन् । तर नेपालले एक चीन नीतिप्रति दृढता व्यक्त गरेको छ र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने अडानलाई सफल कार्यान्वयन गरेको छ । असल छिमेकीपन र अहस्तक्षेपका लागि विश्वमै चीनको छवि प्रशंसनीय छ ।

विशाल अर्थतन्त्र चीनका लागि नेपालको बजार ‘एक पित्को’ सरह हो । तर चीनले नेपाललाई अधिक महत्व दिनुको कारण स्वतन्त्र तिब्बत गतिविधि नेपाली भूमिमा पलाउन नपाओस् भन्ने हो । चीनले नेपालसँग राखेको मुख्य अपेक्षा नै स्वतन्त्र तिब्बतका लागि हुने अवाञ्छित गतिविधि रोक्नु हो । चीनसँग नेपालको करिब १२ सय किलोमिटर सीमा जोडिएको छ । चीनसँग सीमा जोडिएका १४ मुलुक छन् । तर चिनियाँ राजदूतले नेपाललाई महत्वपूर्ण छिमेकी भन्न संकोच मानेनन् । यसबाट पनि चीन नेपालबीचको मित्रताको प्रगाढता झल्किन्छ ।

नेपालको विकासमा चीनको सहयोग 
चीन सरकारले नेपालको अर्थतन्त्र उकास्न बाँसबारी छाला जुत्ता कारखाना,भृकुटी कागज उद्योग, बुटवल धागो कारखाना, गोरखकाली टायर उद्योग , हरिसिद्धि इटा तथा टायल कारखाना, हेटौंडा कपडा उद्योग, बीरगंज चिनी कारखाना, ट्रलीबस जस्ता दर्जनौ ठूला उद्योग स्थापना गरिदियो । ती केही वर्ष संचालन भयो । दुर्भाग्य नेपाल सरकारले ती उद्योग टिकाउन सकेन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि उदारीकरण र निजीकरणको नाममा चिनियाँ सहयोगमा स्थापित उद्योग सुनियोजित ढंगले क्रमिक रुपमा बन्द गरियो ।

चीनले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, निजामति अस्पताल, सडक, जलविद्युत परियोजना, त्रिभुवन विश्वविद्यालयमा आयुर्वेद केन्द्र, प्राविधिक शिक्षालय, सुरक्षा निकायका लागि आर्थिक र भौतिक सहयोग गरेको छ । पछिल्लो समय काठमाडौको चक्रपथ निर्माण गरेको छ । भैपरी आउँदा चीनले नेपाललाई अर्बौ रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ ।

नेपालमा चिनियाँ लगानी 
चीनले आर्थिक वर्ष २०६७/०६८ मा ७० परियोजनाका लागि १ अर्ब २३ करोड ५० लाख रुपैयाँ अनुदान दिएको छ । २०७२/०७३ मा ६ अर्ब भन्दा बढी रुपैयाँको चिनियाँ लगानी नेपाल भित्रियो । २०६८/०६९मा ७७ परियोजनामा ९८ करोड ६० लाख आएको छ । २०६९/०७० मा चिनियाँ लगानी पाँच गुणाले वृद्धि भयो । एक सय परियोजनाका लागि ५ अर्ब ८० करोड रुपैयाँ चीनबाट नेपालमा लगानी गरियो । लगानी बृद्धिको क्रम जारी रह्यो । आर्थिक वर्ष २०७०/०७१ मा ८ अर्ब ३८ करोड ६० लाख लगानी १ सय २२ परियोजनाका लागि नेपाल भित्रियो । तर २०७१/०७२ मा भने चिनियाँ लगानी स्वात्तै घट्यो । १ सय ५४ परियोजनाका लागि मात्र २ अर्ब ४६ करोड ८ लाख रुपैयाँ नेपाललाई प्राप्त भयो । २०७२/०७३ मा पुन लगानी वृद्धि भयो र ६ अर्ब ३६ करोड ७० लाख चिनियाँ लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस