आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ का आर्थिक मामिला मन्त्रीले आफ्नै दाईलाई दिए ६ करोड १७ लाखको २३ योजना

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (४ साल अघि) ११६० पाठक संख्या

जनकपुरधाम, वैशाख १४ गते ।प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो ।

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन्। कान्तिपुरलाई प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ। सबै योजना सिरहा जिल्लाकै हुन् ।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी ४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन् ।

यस्तै सिरहाको महेशपुरस्थित आधारभूत विद्यालयको पर्खाल निर्माणका लागि १० लाख, इँटाटारको आधारभूत विद्यालयको भवन र पर्खाल बनाउन ५० लाख, बरियापटी २ स्थित खोक्सी मदरसाका लागि १० लाख, औरहीको सुन्दर जनता माविका लागि ५० लाख, तेनिवाकट्टीमा कब्रिस्तानको पर्खाल बनाउन ५ लाख र सिरहामा रमेश महतो स्मृति मावि फुलबरियाको पर्खाल बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सांसदहरूसँग पनि रहेको यो फारमबारे मन्त्रालयले भने अनभिज्ञता जनाएको छ। मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले मन्त्रालयमा भर्खरै आएकाले चौमासिक विभाजन फारमबारे आफूलाई जानकारी नरहेको बताए। प्रदेशसभामा कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले नामै किटेर बजेट जिल्ला पठाइएको आरोप लगाएका थिए ।

मन्त्री यादवकै सिफारिसमा श्यामनन्दनले पाउने गरी सिरहा(१६ माडरमा दुर्गामाता धर्मशालाका लागि १० लाख, सिरहा(२ मा अतिथि सदन निर्माणका लागि ५० लाख रुपैयाँ पुँजीगत बजेटअन्तर्गत विनियोजन गरिएको छ। यस्तै चालु खर्चअन्तर्गत सिरहाको नवराजपुर(३ स्थित दलित उत्पीडित जनजाति आधारभूत विद्यालयको भवन, पर्खाल र शौचालय निर्माणका लागि २० लाख, मिर्जापुरमा सहिद प्रमोद सदाय स्मृति विद्यालयका लागि १५ लाख, बरियापटीमा शिव मन्दिरका लागि १० लाख, डाकनेश्वरी ६ मा सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँका योजनामा पनि यादवको सिफारिसमा श्यामनन्दनलाई सम्पर्कव्यक्ति तोकिएको छ ।नेकपाका सांसद दिलीप साहले बजेट रकमान्तर गरेर व्यक्तिको नामै किटेर योजना पठाउनु विकासका लागि नभई आफ्न्त र कार्यकर्ता खुसी पार्ने काम मात्र भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस