आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खुलामञ्चका सटरबाट उठाएको पैसा फिर्ता गर्दै ठेकेदार

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ७१६ पाठक संख्या

बैशाख १६ खुलामञ्चमा भत्काइएका सटर र टहराबाट उठाएको पैसा ठेकदारले फिर्ता गर्न थालेका छन्। जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक ठेकेदार मनोज भेटवालले भत्काएका सटर पीडितहरुलाई बोलाएर नै पैसा फिर्ता गर्न थालेका हुन्।

पीडितहरु उजूरी दिन कसिएपछि ठेकेदारले बोलाएर पैसा दिन थालेका छन्। खुलामञ्चको सटर भाडाका लागि ११ लाख बुझाएका नेत्रबहादुर खत्रीले आफूले पैसा फिर्ता पाएको बताए। आइतबार अपराह्न खुलामञ्चस्थित सम्पर्क कार्यालयमा बोलाएर भेटवालले पैसा फिर्ता गरेको उनले बताए। ‘डुबेको पैसा फिर्ता पाएको छु, म जस्तै धेरैले पैसा फिर्ता पाउनुभएको छ,’ उनले भने। खुलामञ्चमा सारिएको अस्थायी बसपार्कमा निर्माण गरिएका सटरमा शनिबार काठमाडौं महानगरपालिकाले डोजर लगाएको थियो।

पैसा बुझाएर पनि व्यवसाय गर्न नपाएको भन्दै पीडितहरू महानगरीय प्रहरी जनसेवा कार्यालय गएका थिए। प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले पैसा फिर्ता गर्न थालेको जानकारी आएको बताए। कति जनाले फिर्ता लिए भन्ने विवरण भने आइनसकेको खतिवडाले बताए। एउटा व्यापारीले ३ देखि १० लाखसम्म फिर्ता पाएका छन्। ५२ वटा सटर र टहरामध्ये महानगरले ४३ वटा सटर डोजर लगाएर भत्काएको थियो। उत्तरतर्फका ३५ र बसपार्क छिर्ने ठाउँका ८ वटा सटर महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा शनिबार अवैध रुपमा बनाएका सटर भत्काएको थियो।

ठेकेदार भेटवालले सम्झौताविपरीत खुलामञ्च अतिक्रमण गरेर ४३ सटर बनार भाडामा लगाएका थिए। स्थानीय र सम्पदाप्रेमीले खुलामञ्चको अतिक्रमण हटाउन महानगरलाई दबाब दिएपछि सटर भत्काइएको हो।

महानगरले दुईवटा शौचालय, दुईवटा प्रतिक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा गरी ९ वटा निर्माणको मात्रै सम्झौता भएको थियो। पुरानो बसपार्कमा भ्यू टावर बनाउने भएपछि बसपार्क खुलामञ्चमा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस