आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स पठाइयो

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ३०८ पाठक संख्या

बैशाख १६ काठमाडौं, दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ ।

झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक जाँच गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ ।

स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ ।

केही दिन देखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताईएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ । ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाई छ ।
पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस