आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति भण्डारी र सीबीच आज द्विपक्षीय भेटवार्ता हुने

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ३२७ पाठक संख्या

वैशाख १६,काठमाडौँ — चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आफ्ना समकक्षी सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्दैछिन्। बेइजिङको केन्द्रस्थित ग्रेट हल अफ द पिपुल्समा हुने राजकीय सम्मान तथा शिष्टाचार भेटवार्ताका क्रममा केही सम्झौतामा हस्ताक्षर हुनेछ।

साथै साँझ केन्द्रिय अनुशासन आयोगका अध्यक्ष चाउ लचीसँग पनि भेटवार्ता र रात्रीभोजको कार्यक्रम छ।

त्यसअघि राष्ट्रपति भण्डारीले सोमबार बिहान थ्यानआनमन स्क्वायरमा पुगेर शहीदहरूप्रति पुष्पाञ्जली अर्पण गरेकी छन्।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपतिद्वयको भेटवार्ताका क्रममा विभिन्न हस्ताक्षरसहितका गतिविधिहरू हुनेछन्।

पारवहन यातायात सम्बन्धी प्रोटोकल कार्यान्वयन सम्झौता हुनेछ। नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ तर्फबाट यातायात मन्त्री ली स्याउफङले हस्ताक्षर गर्नेछन्।
चीनको सहयोगमा निर्मित परियोजनाको पुनःमर्मत तथा सुदृढीकरणका लागि अनुदान सहायता सम्बन्धी प्रमाणपत्र आदानप्रदान गरिनेछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ तर्फबाट ट्रान्सपोर्ट मन्त्री चोङ शानले आदानप्रदान गर्नेछन्।
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता हुनेछ। नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव लालशंकर घिमिरे र चिनियाँ तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीका अध्यक्ष वाङ स्याउथाओले हस्ताक्षर गर्नेछन्।
नेपालको उत्तरी क्षेत्रमा जनजीविकाका क्षेत्रमा सुदृढ सहायता सबल बनाउनेबारेको एउटा बैठक हुनेछ। नेपालका वाणिज्य सचिव लालशंकर घिमिरे र चीन अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीका अध्यक्ष वाङ स्याउथाओबीच यो बैठक गरिनेछ।
जनगणतन्त्र चीनको भन्सार प्रशासन र नेपालको वाणिज्य मन्त्रालय अन्तर्गत भन्सार विभागबीच सहकार्य तथा मैत्रीपूर्ण प्रशासनिक सहायताका विषयमा सम्झौता हुनेछ। नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव लालशंकर घिमिरे र चिनियाँका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले हस्ताक्षर गर्नेछन्।
नेपाल स्टाण्डर्ड तथा मेट्रोलोजी विभाग र मानकीकरण प्रशासन चीनबीच मानकीरण सहायता सम्बन्धी एमओयू हुने कार्यक्रम छ। यसमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले हस्ताक्षर गर्नेछन्।
सांस्कृतिक सम्पदाको अवैध आयात तथा निर्यात, चोरी तथा गोप्य उत्खनन् सम्बन्धी नियन्त्रणका लागि पनि सम्झौता हुनेछ, त्यो चाहिं सोही हस्ताक्षर कार्यक्रममै घोषणा हुने संभावना रहेको जनाइएको छ। यदि सो भएमा नेपालबाट राजदूत लीलामणि पौडेल र चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका प्रशासक लिउ युचुले हस्ताक्षर गर्ने कार्यक्रम छ।

नेपालमा गणतन्त्र स्थापनाको एकदशक पछि चीनले पहिलोपटक राष्ट्रपतिलाई चीनमा निम्त्याएको हो। यसअघिका राष्ट्रपतिले चीनको भ्रमण गरेपनि बेइजिङमा राजकीय भ्रमण गरेका थिएनन्। राष्ट्रपति भण्डारी बेइजिङपछि तिब्बतको भ्रमणमा जाने कार्यक्रम छ। त्यतैबाट चीनको ९ दिने भ्रमण पूरा गरी नेपाल फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस