आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामुदायिक वनबाट काठ तस्करी : छुटाउन सांसदको दबाब

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) २९५ पाठक संख्या

बैशाख २४
सिरहा : सिरहाको गोलबजार नगरपालिका ३ स्थित लामाडाँडा सामुदायिक वनबाटै सखुवाको काठ तस्करी भइरहेको खुलेको छ । डिभिजन वन कार्यालय लहानले वनमै काठ लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएपछि थप रहस्य खुलेको हो।

शनिबार लामाडाँडा सामुदायिक वनबाट कटान गरी तस्करी भइरहेका अवस्थामा स १ त ७१७९ नम्बर ट्याक्टरसहित सय क्युफिट सखुवा काठ वन कार्यालयको टोलीले नियन्त्रणमा लिइएको सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी गराए । उनका अनुसार नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर ल्याउन शनिबार तस्करका पक्षबाट आएका व्यक्तिहरुले अवरोध गरेका थिए । अवरोधका कारण शनिबार दिनभरि सशस्त्र प्रहरी वेश क्याम्पस गोलबाजरमा राख्नु परेको उनले जानकारी दिए । आइतबार वन कार्यालयमा उक्त काठ ल्याइएको सहायक वन अधिकृत यादवले बताए ।

काठ कटान गरी ट्याक्टरमा लोड गरिएको अवस्थामा फोरेस्टर काशिन्द्र यादवको टोलीले नियन्त्रणमा लिएको सहायक वन अधिकृत यादवले बताए । वनको टोलीलाई देखेर ट्याक्टर चालक फरार भएको उनले बताए । बरामद काठ र ट्याक्टरमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ट्याक्टर धनदिप राईको हो। राईले गोलबजार ४ मा ठेक्का लिएर मिल सञ्चालन गरेको स्रोतले बताएको छ । तीन वर्षअघि पनि राईको अर्को ट्याक्टर काठसहित पक्राउ परेको थियो। त्यो अहिले कार्यालयमै राखिएको छ ।

सामुदायिक वनका अध्यक्ष आनन्द पार्खिनले तस्करी नभएर घारगदीका लागि सखुवा रुखको हाँगा कटान गरेको दाबी गरेका छन् । ‘रुख फस्टाउनका लागि गोडमेल गर्नुपर्छ । त्यही अनुरुप हाँगा कटान गरेका छौँ,’ उनले भने, ‘वन कार्यालयको टोलीले तस्करी सम्झेर नियन्त्रणमा लिएको छ ।’

काठ छुटाउन सांसदको दबाब

डिभिजन वन कार्यालय लहानले नियन्त्रणमा लिएको तस्करीका सखुवा काठ छुटाउनका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश सांसद तथा सिरहा जिल्ला अध्यक्ष रामकुमार यादवले कर्मचारीलाई दबाब दिएका छन् । अध्यक्ष यादवले सहायक वन अधिकृत यादवलाई काठ छुटाउन फोन गरी दबाब दिएका हुन्।

सांसद यादवको दबाब आएपछि वन कर्मचारीले प्रदेश २ का वन राज्य मन्त्री सुरेश मण्डललाई जानकारी गराएका थिए। मन्त्री मण्डलले तस्करीमा संग्लन जोसुकैलाई कारवाही गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले वन विनास कार्यमा संग्लन कसैलाई पनि छुट नदिन वनका कर्मचारीलाई निर्देश गरेका हुन् । कर्मचारीलाई दिएको दबाबको बारेमा सांसद यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस