आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धरानमा खानेपानीको हाहाकार : खानेपानी माग्दै स्थानीय आन्दोलित

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ४३० पाठक संख्या

बैशाख २४
धरान : एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न गर्न ढिलाइ भएको भन्दै धरानवासीहरु खानेपानी माग्दै आन्दोलित भएका छन्। उपमहानगरपालिकाले आयोजना निर्माणमा ढिलाइ गर्दा पानी पिउन नपाएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलित बनेका छन्।

घरमा जडान गरिएका धारामा खानेपानी नआएको भन्दै धरानका विभिन्न वार्डका वासिन्दाले उपमहानगरपालिका विरुद्ध नारावाजी गर्दै विरोध प्रर्दशन गरेका छन्। उनीहरुले जनप्रतिनिधि आएको दुई वर्ष बित्न लाग्दा समेत खानेपानी आयोजना निर्माणमा चासो नदेखाका कारण आन्दोलन गरेका हुन्।

धरानका १, २, ३, ५, ७, ८, ९, १०, ११, १३, १५, १८ लगायतका वडाहरुबाट स्थानीय वासिन्दाहरु रित्ता ग्रागी र रित्तो जग लिएर पानी माग्दै आन्दोलित भएका हुन्। विभिन्न वार्डहरुबाट प्लेकार्डसहित आन्दोलनमा उत्रिएका स्थानीयवासिन्दाले धरान उपमहानगरपालिकामा धर्ना दिएका छन्।

उनीहरुले जनप्रतिनिधिविरुद्ध चर्का नाराबाजी गरेका थिए। ‘जीवनका लागि पानी देऊ, स्वास्थ्य जीवन बाच्न देउ’, ‘पानीको अभाव अन्त्य गर, स्थायी समाधान खोजी गर’, ‘जनताको सुझाव ग्रहण गर, जिम्मेवारी बहन गर’ लगाएतका नारा लगाउँदै विरोध प्रर्दशन गरेका थिए।

पटक पटक धरान उपमहानगरपालिकासँग पानी माग्दा नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको ‘पानी देऊ’ दवाव समुहका संयोजक धरान १८ का हर्क राईले बताए। उनले घरमा जडान भएका धारामा तीन÷तीन दिनमा मात्र पानी आउने गरेको भए पनि प्रयाप्त पानी वितरण नगरेका कारण धरानवासीले काकाकुल बन्नु परेको गुनासो गरे।

धरान १९ का धनकुमार राईले धरान खानेपानी आयोजनाको काममा करौडौं रुपैयाँ आर्थिक अनियमितता भएको भन्दै छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन्।

धरानमा वर्षेनी खानेपानीको अभाव भएका कारण धरान उपमहानगरले एशियाली विकास बैंक (एडिबी) को एकअर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम सुरु गरेको थियो। २०१७ डिसेम्बर सम्ममा आयोजनाको काम सम्पन्न गर्नु पर्ने भए पनि अझै आयोजनाको काम सम्पन्न नहुँदा धरानमा खानेपानीको चरम अभाव कायमै छ।

दैनिक ४ करोड लिटर खानीपानीको माग भए पनि संस्थानले हाल दैनिक एक करोड २० लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ। खानेपानी संस्थान धरानका प्रमुख रामश्रेष्ठले सुख्खा मौसमका कारण पानी उत्पादन कम भएर दिन बिराएर खानेपानी वितरण गर्नु परेको बताए।

धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले खानेपानी निर्माणमा सर्वोच्च अदालतमा मुद्धा परेका कारण निर्माणमा ढिलाइ भएको बताइन्। उनले सर्वोच्चमा परेका मुद्धामा धरान उपमहानगरले जीत हासिल गरेको बताउँदै अब आयोजनाको काम छिट्टै सम्पन्न गरी धरानबासीलाई पर्याप्त पानी वितरण गर्ने आश्वासन दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस