आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गंगालाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणः अस्पतालद्वारा छानबिन समिति गठन

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ३२७ पाठक संख्या

बैशाख २४
काठमाडौं–उपचारको क्रममा राजधानीको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा बालिकाको निधन भएपछि एक छानबिन समितिको गठन गरिएको छ ।

वैशाख २३ गते केन्द्रमा मुटुको भाल्वको शल्यक्रियाका क्रममा सर्लाही सिसौटियाकी आकृति कुमारीको मृत्यु भएको थियो । बालिकाका आफन्तले शल्यक्रियाको क्रममा गलत रगत चढाउँदा बालिकाको मृत्यु भएको आरोप लगाएपछि अस्पतालले डाक्टर झिझुनाथ पोखरेल, सर्जन सिद्धार्थ प्रधान, नर्सिङ प्रतिवदन ढंगोल लगायतको टिमको छानवित समिति गठन गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माका अनुसार ५ वर्षया आकृतिको मुटुमा जन्मजात मुटु भित्र प्वाल थियो । उनको मुटुको दाहिने र देब्रे दुबै भागमा एक÷ एक वटा खण्ड हुनुपर्नेमा आकृतिको मुटुको दाहिले भागमा दुई खण्ड भएको हुँदा शल्यक्रिया निकै जोखिमपूर्ण थियो ।

जोखिम पूर्ण शल्यक्रिया भएको हुँदा शल्यक्रिया सफल हुने या नहुने भन्नेमै निश्चित थिएन । तर अहिले गलत समूहको रगत दिँदा बालिकाको मृत्यु भएको भन्ने शंका उत्पन्न भएपछि आफन्तलाई स्पष्ट जानकारी गराउनको लागि समिति गठन गरिएको उनले बताए ।

डा. शर्माले अहिलेसम्म गंगालाल अस्पतालको २० वर्ष लामो सर्जरीको इतिहासमा २० हजार भन्दा बढी ओपन हार्ट सर्जरी सफलतापूवर्क गरेको बताउँदै यदी गलत समूहको रगत नै मृत्युको कारण भएको पाइए कडाभन्दा कडा कारबाही गर्ने बताए ।

निर्देशक शर्माले रातोपाटीसँग कुरा गर्दै भने, ‘छानविन पछि अस्पतालनै दोषी ठहरिएको खण्डमा सरकारी अस्पतालले निजी अस्पतालले जसरी क्षतिपूर्ति दिन सक्दैन, तर अबका दिनमा घटना नदोहोर्याउने काम भने अवश्य हुन्छ । गल्ती भएको हो भने यो नै पहिलो र अन्तिम घटना हुनेछ ।’

कुमारीको रगत समूह ‘ओ’ पोजेटिभ भएपनि अस्पतालमा ‘ए’ पोजेटिभ रगत चढाइएपछि ज्यान गएको आफन्तको दाबीछ । तर अस्पतालले भने छानबिन प्रतिवेदन आएपछि सबै स्पष्ट हुने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस