आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईको कार्ड अरु बैंकको एटिएममा घुसाउँदा शुल्क कति लाग्छ?

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ८६७ पाठक संख्या

बैशाख २४

कहिलेकाही आफूसँग भएको एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाउनु पर्ने बाध्यता हुन्छ। सम्बद्ध बैंकको एटिएम नजिक नभएर होस् वा भएर पनि काम नगरेको अवस्थामा यस्तो वाध्यता पर्दछ।

जुन बैंकको कार्ड छ, सोही बैंकको एटिएमबाट देशभर पैसा निकाल्दा कुनै पनि शुल्क लाग्दैन।

तर एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने गरेको छ। सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ। कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक छ।

एक बैंकको कार्ड अर्कोको एटिएमबाट झिक्नुअघि बैंकहरु आबद्ध नेटवर्क बुझ्नु जरुरी हुन्छ।

बैंकहरु भिसा, एससिटी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन)मा आवद्ध छन्। केही बैंक दुई वा दुईभन्दा बढी नेटवर्कमा पनि छन्।

फरक नेटवर्कमा आबद्ध बैंकको कार्ड र एटिएम प्रयोग भएमा साढे २ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ। शुल्कको बारेमा कतिपयलाई जानकारी नभई कार्ड प्रयोग हुन सक्छ। तसर्थ कार्ड बोक्नेले आफ्नो बैंक आवद्ध भएको नेटवर्कमा अन्य कुन कुन बैंक आवद्ध छन् भन्ने बुझ्नु जरुरी छ।

हिमालयन, लक्ष्मी, एनआइसी एसिया, बैंक अफ काठमाण्डु, प्रभु, एनएमबि, नेपाल बंगलादेश, एभरेष्ट र प्राइम कमर्सियल बैंक भिसा नेटवर्कमा आवद्ध छन्।

इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य, कुमारी, सानिमा, एनसिसी, सेन्चुरी, मेगा र नेपाल बैंक इन्भेष्टमेन्टमेन्टको भिसा नेटवर्कमा आवद्ध छन्।

एससिटी नेटवर्कमा सिभिल, एभरेष्ट, ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी, मेगा, नविल, नेपाल, एनएमबि, कृषि विकास र प्रभु बैंक आवद्ध छन्।
एनपिएन (नेसनल पेमेन्ट नेटवर्क)मा सिटिजन्स, जनता, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, नेपाल बंगलादेश, एनआइसी एसिया, प्राइम, सिद्धार्थ तथा सनराइज बैंक आबद्ध छन्।

बैंकहरुका कार्ड विभागहरुले दिएको जानकारीका आधारमा हामीले एक बैंकको एटिएम (डेविट) कार्ड प्रयोग गरी अन्य बैंकको मेसिनबाट झिक्दा कसले कति शुल्क काट्छन् भन्ने तथ्यांक तयार पारेका छौँ।

सनराइज/सिद्धार्थ/प्राइम कमर्सियल/ जनता/ बैंक अफ काठमाण्डु/ माछापुच्छ्रे/ सिटिजन्स

यी बैंकहरुले दिने भिसा कार्ड सम्बद्ध बैंककै एटिएममा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। तर भिसामा आबद्ध एकअर्काको वा अन्यको मेसिनबाट पैसा झिक्दा ३० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

सेन्चुरी कमर्सियल/ एनसिसी/इन्भेष्टमेन्ट/मेगा/ग्लोबल आइएमई/कुमारी/नेपाल/राष्ट्रिय वाणिज्य/कृषि विकास/नेपाल बंगलादेश

यी बैंकका भिसा कार्ड होल्डरले भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकका मेसिनबाट पैसा झिक्दा एक पटकमा ३० रुपैयाँ शुल्क तिर्नुपर्छ।
एससिटी कार्डको हकमा भने चिपयुक्त कार्ड हुनेले एससिटी नेटवर्कभित्रका बैंकको एटिएमबाट पैसा झिक्दा प्रतिकारोबार ३० रुपैयाँ शुल्क लाग्छ। चिप नभएको कार्ड भएमा २५ रुपैयाँ कटौती हुन्छ।

सानिमा
सानिमा बैंकको भिसा कार्ड भिसा नेटवर्कमा आवद्ध बैंकका जुनसुकै एटिएममा घुसाएर रकम झिक्दा शुल्क लाग्दैन। तर व्यालेन्स इन्क्वायरी गर्दा भने २० रुपैयाँ शुल्क लाग्छ।

सिभिल बैंक
बैंकका कार्ड होल्डरले हिमालयन बैंकको एटिएम प्रयोग गरेर पैसा झिक्दा १५, भिसा नेटवर्कका बैंकबाट २०, एससिटी नेटवर्क सदस्य बैंकबाट ३० तथा एनपिएन आवद्ध भिसा सदस्य बैंकबाट २५ रुपैयाँ प्रति कारोबार शुल्क तिर्नुपर्दछ।

सिभिलको मास्टरकार्ड मात्रै भिसा नेटवर्कमा आवद्ध छ। नबिल, स्टण्डर्ड चार्टड तथा नेपाल एसबिआई बैंकको एटिएममा सिभिलको भिसा कार्ड घुसाउँदा लाग्ने शुल्क महँगो छ। यी तीन बैंकको एटिएममा घुसाएर रकम झिक्दा साढे २ सय रुपैयाँ शुल्क लाग्छ।

स्टाण्डर्ड चार्टड बैंक
स्टाण्डर्ड चार्टडले खातावालहरुलाई (स्यालरी एकाउन्टअन्तर्गत) दिएको डेबिट कार्डको प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा हरेक महिनाको कारोबारमा तीन पटकसम्म निशुल्क छ। त्यसपश्चात र अन्य खाताको कार्डबाट अरु बैंकको एटिएमबाट झिक्दा प्रतिकारोबार ४५ रुपैयाँ शुल्क लाग्दछ।

नेपाल एसबिआई/नविल/एनआइसी एसिया
यी बैंकको भिसा कार्डको प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

हिमालयन बैंक
हिमालयन बैंकको भिसा कार्ड अन्य जुनसुकै बैंकको एटिएमममा प्रयोग गर्दा ३५ रुपैयाँ शुल्क लाग्दछ।

एभरेष्ट बैंक
एभरेष्टको भिसा कार्ड हिमालयनको एटिएममा प्रयोग गरी पैसा झिक्दा २० रुपैयाँ शुल्क लाग्छ। अन्य नेटवर्कका एटिएमबाट झिक्दा १५० रुपैयाँ शुल्क लाग्छ। एससिटी नेटवर्कमा आवद्ध अन्य बैंकका एटिएमबाट झिक्दा ३० रुपैयाँ शुल्क लाग्दछ।

प्रभु बैंक
प्रभुले खातावालहरुलाई दिने एससिटी कार्ड सो नेटवर्कमा आवद्ध अन्य बैंकका एटिएमबाट पैसा झिक्दा ३० रुपैयाँ शुल्क लाग्छ। त्यस्तै भिसाको हकमा आबद्ध अन्य बैंकका एटिएमबाट झिक्दा १५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

लक्ष्मी बैंक
बैंकले प्रदान गर्ने भिसा कार्डको हकमा अन्य बैंकका एटिएमबाट रकम झिक्दा ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ। नविलको एटिएमबाट झिक्दा २५ रुपैयाँ लाग्छ।

बैंकले कार्डबिहीन अर्थात ओटिपी (ओन टाइम पासवर्ड) का आधारमा पनि रकम झिक्ने व्यवस्था मिलाएको छ। यस्तो अवस्थामा २५ हजार रुपैयाँभन्दा कम झिक्दा प्रतिपटक २५ रुपैयाँ शुल्क लाग्छ। सोभन्दा बढी रकम झिक्दा ५० रुपैयाँका दरले शुल्क लाग्दछ।

एनएमबी बैंक
एनएमबिका भिसा कार्ड होल्डरले भिसा नेटवर्कका एटिएमबाट पैसा झिक्दा कुनै शुल्क लाग्दैन। एससिटी कार्डमार्फत अन्य बैंकका एटिएमबाट झिक्दा १ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क तिर्नुपर्दछ।

अफरका बेला निशुल्क पनि हुन सक्छ

यदी बैंकहरुले कुनै अफर ल्याएको अवस्थामा ति बैंकको कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गरे पनि शुल्क लाग्दैन। एनआइसी एसिया बैंकले प्रिमियम समुन्नति बचत खाता संचालनमा ल्याएको छ। जुन खाता खोल्दा पाइने भिसा कार्डको प्रयोग अन्य बैंकको जुनसुकै एटिएममा प्रयोग गरे पनि कुनै शुल्क लाग्दैन।

त्यस्तै सिद्धार्थ बैंकले जीवन सुरक्षा बचत खाता संचालनमा ल्याएको छ। सो खाता खोलेर कार्ड लिनेहरुले नेपालभर जुनसुकै बैंकका एटिएमबाट पैसा निकाल्दा शुल्क तिर्नु पर्दैन।

प्रतिक्रिया दिनुहोस