आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीले यसकारण उद्धार गर्यो गोल्फुटारबाट १९ बालबालिका

AuthorAP Khabar२०७६ बैशाख २५, बुधबार (४ साल अघि) ६२९ पाठक संख्या

बैशाख २५ काठमाडौँ,

कर्णाली क्षेत्रका ४७ बालबालिकालाई एक वर्षअघि नै कालीकोटका जयबहादुर विकले निश्चित शुल्कमा जिम्मा लिएर पठनपाठनका लागि भन्दै काठमाडौँको गल्फुटारस्थित न्यू कर्णाली एजुकेशन होस्टलमा राखेका थिए ।

तीनजना सञ्चालककै आफन्त भए पनि ४४ बालबालिका विभिन्न क्षेत्रका थिए । अभिभावकसँग विवाद भएपछि यसअघि २४ बालबालिकालाई अभिभावकले फिर्ता लगेको बताइए पनि यकिन जानकारी नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी परेपछि १९ लाई भने सोमबार प्रहरीले उद्धार गरिसकेको छ ।

होस्टलको रेखदेख गर्दै आएका कमल विकका अनुसार शुरुआती समयमा बालबालिकाको बसाइ र पढाइ राम्रै थियो । विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुँदा बालबालिकाको सरसफाइदेखि खानपान तथा स्वास्थ्य शिक्षामा कुनै समस्या थिएन ।

बाहिरी सहयोग आउन छाडेपछि अवस्था नाजुक बन्दै गएको विकको भनाइ छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार सोमबार बच्चा भेट्दा कोठा दुर्गन्धित थियो । खानेपानी तथा खान लगाउनकै समस्या थियो । पसलबाट ल्याएको रासनको पैसा तिरिएको थिएन । बालबालिकाको अवस्था सरसफाइविहीन भेटिएको घटनास्थलको मुचुल्का गर्न गएका प्रहरी हवल्दार ओमप्रकाश बैठाले बताए ।

विगतमा प्रतिव्यक्ति रु २५ हजारदेखि रु दुई लाखसम्म उठाएर बालबालिका ल्याएका जयबहादुरले होस्टलको आर्थिक अवस्था कमजोर भएको भन्दै अभिभावकसँग पुनः मासिक एक हजार दिनुपर्ने माग गरेपछि समस्या बल्झिएको हो । कतिपय अभिभावकले दिने सहमति जनाए भने कतिपयले पैसा तिर्न नसक्ने जवाफ दिए । कतिपयले दिएको पैसा र बालबालिका फिर्ता गर्न माग गरेपछि विवाद शुरु भएको हो ।

त्यसअघि रु २५ हजारदेखि दुई लाखसम्म पैसा लिएर बालबालिकालाई १० कक्षासम्म पढाइ दिने सहमति गरी जयबहादुरले बालबालिका ल्याएको होस्टल रेखदेख गर्दै आएका विकको भनाइ छ । उनका अनुसार पढाइ पनि चल्दै थियो ।

विवादका कारण अभिभावकले पैसा र बालबालिका फिर्ता मागेपछि जयबहादुरले एक वर्षसम्म पालनपोषण गरेको पैसा कटाएर दिने बताएको विकको भनाइ छ । त्यसपछि रुष्ट अभिभावक प्रहरीको शरणमा पुगेका हुन् । ‘अब हाम्रो भन्नु केही छैन, अभिभावकले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं’, विकले भने ।

अभिभावककै उजुरीका आधारमा सोमबार बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारबाट १९ बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो । जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट झण्डै रु दुई लाखसम्म उठाएर बालबालिका ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

वृत्तबाट खटिएको प्रहरीद्वारा उद्धार गरिएका बालबालिकामध्ये नौ जना हिमाली नवीन समाज महाराजगञ्ज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेका छन् । जयबहादुर हाल फरार रहेकाले उनकोे खोजी जारी रहेको तथा सो विषयमा अनुसन्धान भइरहेको वृत्तका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

ठगी मुद्दा लाग्दै

प्रलोभनमा पारी पैसा लिएर बालबालिकालाई अलपत्र पारेको भन्दै बालबालिकाका अभिभावकले ठगी गरेको आरोपमा कारवाहीको माग गरेका छन् । बालबालिकाका चार अभिभावक रामबहादुर बुढा, बुद्धिमान रोकाया, वीरबहादुर कटुवाल र कल्पना सिंहले महाराजगञ्ज प्रहरी वृत्तमा जाहेरी दरखास्त दिँदै रु १३ लाख १३ हजार ठगी गरेको आरोपसहित कारवाहीको माग गरेका छन् । अन्य अभिभावकसमेत सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ ।
‘हामी अनुसन्धानकै क्रममा छौँ, जाहेरीको आधारमा शुरुमा ठगी मुद्दा अगाडि बढ्ने देखिएको छ, त्यसपछि प्रमाणको आधारमा अरु कारवाही हुन्छ’, वृत्तका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले भने ।

खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने २८ वर्षीय सुरेश तामाङलगायत तीन जनालाई खुकुरी प्रहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय लालसिंह तामाङलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट घाइते भएका तीन जनाको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस