आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अदुवाको आम्दानीले मालामाल

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) ३९८ पाठक संख्या

 जेठ १० रुकुम :

रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका किसानले अदुवा बेचेर मनग्ये आम्दानी लिएका छन्। गाउँपालिकाका विभिन्न ठाउँबाट संकलन गरिएको दुई हजार आठ सय ६५ क्विन्टल अदुवा अहिलेसम्म जिल्ला बाहिर निर्यात गरिएको स्थानीय व्यवसायी टेकबहादुर ओलीले जानकारी दिए। यस वर्ष किसानले उत्पादन गरेको अदुवा व्यावसायीले प्रतिक्विन्टल १४ हजार पाँच सय रुपैयाँका दरले खरिद गरेर बाहिर निर्यात गरेको उनले बताए।

त्रिवेणी गाउँपालिकाबाट मात्र यो वर्ष चार करोड बढीको अदुवा निर्यात भएको उनको भनाइ छ। व्यवसायीले खरिद गर्दै आएको यो मूल्य गत वर्षभन्दा झण्डै तीन गुणा बढी हो। मूल्‍य पाएपछि मख्ख गत वर्ष तीन हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टलमा बिक्री हुँदै आएको थियो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६, का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे।

हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा यो तीन क्विन्टल बढी अदुवा उत्पादन गरेका हुन्। उत्पादन भएको अदुवामध्ये अहिलेसम्म १७ क्विन्टल बिक्री गरिसकेको पुनले बताए। १० क्विन्टल भने आफूले अर्को वर्ष बिउका लागि राखेको बताए।

१७ क्विन्टल अदुवा बेचेर दुई लाख ४६ हजार आम्दानी लिएको पुनले सुनाए। ‘गतवर्ष ८० हजार मात्र आम्दानी भएको थियो, तर यो वर्ष अदुवाको मूल्य राम्रो गयो, त्यसैले आम्दानी पनि राम्रै भयो,’ उनले भने, ‘यो वर्ष अहिलेसम्मकै बढी मूल्यमा अदुवा बिक्री गरेका छौं, गत वर्षभन्दा झण्डै तीन गुणा बढीमा अदुवा बिक्री भयो।’

अदुवा बिक्रीबाट आएको रकमले आफ्नो दैनिक खर्चका साथै छोराछोरीको पढाइ खर्च पनि व्यवस्थापन गर्दै आएको उनले जनाए। अर्का किसान गोपाल ओलीले यो वर्ष ८ क्विन्टल अदुवा बिक्री गरेर एक लाख ३० हजार रुपैयाँ आम्दानी गरेको बताए।

घरमै बसेर राम्रै आम्दानी भएको ओलीको भनाइ छ। अन्य व्यावसायभन्दा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भएपछि आफू अदुवा खेतीमा लागेको उनले बताए। अदुवा किन्न व्यापारीहरू नै गाउँगाउँमा मसला बनाउनका लागि यहाँ उत्पादन भएको अदुवाको गुणस्तर बढी भएपछि बजारमा धेरै माग आएको व्यावसायीहरूको भनाइ छ।

अहिले नेपालका काठमाडौं, चितवन, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ लगायतका सहरबाट अदुवाको अत्यधिक माग हुँदै आएको छ। व्यापारीहरू अदुवा खरिद गर्नको लागि गाउँगाउँमा नै पुग्ने गरेका छन्। आफूहरूले उत्पादन गरेको अदुवा यस वर्ष भने बारीबाटै सहजै बिक्री भएपछि निकै सहज भएको त्रिवेणी गाउँपालिका ६, का स्थानीय किसान अमर बुढाले बताए। ‘हाम्रो गाउँमा धेरै अदुवा उत्पादन हुने गर्छ, गत वर्षहरूमा उत्पादन भए पनि समयमै बिक्री नहुँदा सुटो बनाएर बिक्री गर्नुपरेको थियो,’ बुढाले भने, ‘सुटो बनाएर बेचे पनि उचित मूल्य नजाँदा खासै फाइदा हुँदैन्थ्यो, यो वर्ष भने व्यापारी घरमै आएका छन्।’

स्थानीय सरकारको सहयोग किसानको प्रमुख आयस्रोतका रूपमा रहेको अदुवाको उत्पादनलाई बढाउनको लागि स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइएको छ। त्रिवेणी गाउँपालिकाले किसानले उत्पादन गर्ने अदुवालाई सहजरूपमा बिक्री गर्नको लागि यही मसला उद्योग सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले जानकारी दिए।

कर्णाली प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा मसला उद्योग स्थापनाको काम सुरु भएको उनले बताए। गाउँपालिकामा कति अदुवा उत्पादन हुन्छ भनेर एकीन जानकारीको लागि तथ्यांकसमेत संकलनको काम सुरु गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस