थाइराइडबारे जान्नै पर्ने १० कुरा

समाचार

जेठ ११
थाइराइड ग्रन्थिसम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले विश्वभर थाइराइड दिवस मनाउन थालिएको हो। विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा सन् २००८ देखि हरेक वर्ष मे २५ मा विश्व थाइराइड दिवस मनाउने गरिन्छ। यस वर्ष ‘थाइराइड र यसबाट हुने क्यान्सरको प्रभाव’का विषयमा मुख्य जोड रहेको छ।

थाइराइड घाँटीको अघिल्लो भागमा हुने पुतलीको आकारको २० देखि ४० ग्रामको ग्रन्थी हो। जसबाट उत्पादन हुने थाइराइड हर्मोन अर्थात् मेटाबोलिजम शरीरमा प्रवाह हुने गर्दछ। यसको प्रवाहमा तलमाथि हुँदा थाइराइड हुने मुख्य कारण हो।

थाइराइड समस्या हुने ५० प्रतिशतभन्दा बढी मानिस आफूलाई थाइराइड छ भन्ने थाहा नै हुँदैन।

थाइराइड समस्या पुरुषका तुलनामा महिलालाई १० गुणा बढी देखिन्छ। थाइराइड हर्मोन कमी हुने रोग हाइपोथाइरोडिजम पनि थाइराइड हर्मोन बढी हुने रोग हाइपरथाइरोडिजमभन्दा १० गुणा बढी देखिन्छ।

हाइपोथाइरोडिजम मा देखा पर्ने लक्षणहरुः

-कपाल र छाला सुक्खा हुनु।
-छाला फुस्रो देखिनु।
-अरुचि भएपनि तौल बढ्नु।
-सुस्त हुनु।
-छाला चिसो हुनु।
-चिसो सहन नसक्नु।
-थकित र कमजोर हुनु।
-स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनु।
-कब्जियत हुनु।
-महिनावारी अनियमित तथा धेरै हुनु।
-त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो -तथा भास्सिएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु।
-बच्चाहरूमा अरुचि, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु। कुनै कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ।

हाइपरथाइरोडिजम हुदाँ निम्न लक्षणहरु देखा पर्दछन्।

-एक्कासी धेरै मात्रामा तौल घट्नु।
-मुटुको धड्कन तीव्र तथा अनियमित हुनु।
-हतास तथा चिट्चिटाहट हुनु।
-हातहरू काम्नु।
-धेरै पसिना आउनु।
-मैनावारी नहुनु वा अल्प मात्रामा हुनु।
-पटक-पटक दिसा लाग्नु।
-सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु।
-निन्द्रा नलाग्नु।
-सास फेर्न गाह्रो हुनु।
-आँखाहरू ठूला देखिनु।
-जोर्नीहरू दुख्नु।
-कमजोर अनुभव हुनु।
-घाँटीमा गलगाँडजस्तै बढ्नु।
– बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु।
-मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु।
-मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु।

थाइराइड हर्मोनको समस्याको कारण आउने रोगहरु मधुमेह र उच्च रक्तचाप जस्तो शारिरिक रुपमा खतरनाक हँुदैनन्। समयमा परीक्षण गरेर पहिचान भएमा यसबाट हुने धेरै असरहरु न्यूनीकरण गर्न सकिन्छ।

रगत परीक्षणमा थाइराइडका फ्री टी थ्री, फ्री टी फोर र टीएचएस चेक जाँच गरिन्छ।

९५ प्रतिशत भन्दा बढी थाइराइड हर्मोन प्रोटिनसँग जोडिएर निष्क्रिय अवस्थामा रगतमा बग्छ र ५ प्रतिशतभन्दा कम मात्र शरीरमा सक्रिय भएर रहन्छ। यसलाई फ्री हर्मोन भनिएको हो। परिक्षणमा टीएचएस बढ्यो भने थाइराइड बढ्यो भन्ने आम धारण छ तर त्यो ठीक उल्टो हो। टिएचएस बढ्नु भनेको शरीरमा थाइराइड ग्रन्थीको हर्मोन कम हुनु हो।

यसबारे जान्नैपर्ने १० विषयहरु यसप्रकार छन्।

-थाइराइड हर्मोन गर्भवती महिलामा पूर्ण सुरक्षित हुन्छ।
-हामीले खाने नुनमा आयोडिनको मात्रा कमी वा बढी भएमा थाइराइड हुने संभावना बढी हुन्छ।
-आयोडिनको मात्रा कमीले हुने हरेक गलगाँड डरलाग्दो रोग होइन। यो सामान्यदेखि लिएर सिस्ट, एडिनोमा र क्यान्सरसम्मको अवस्थामा हुन सक्छ।
-थाइराइड क्यान्सर धेरै मानिसमा देखिने क्यान्सर होइन। २० देखी ४० वर्ष उमेर समूहका मानिसमा यो संभावना बढी हुन्छ।
-पुरुषभन्दा महिलामा थाइराइड हुने संभावना दोब्बर हुन्छ।
-थाइराइड क्यान्सर पक्का गर्न घाँटिको भिडियो एक्स-रे, एफएनएसी जाँच गरिन्छ। मासुको जाँच अथवा नोडुल स्क्यान गरेर पनि यसको परीषण गर्न सकिन्छ।
-यसको उपचारको सफलतादर सामान्यतया उत्कृष्ट रहन्छ।
-गर्भवति अवस्थामा थाइराइड पत्ता लागेर हर्मोन नियन्त्रण भएमा जन्मिने बच्चामा थाइराइडको समस्या आँउदैन। तर वंशाणु गुणका कारण पनि थाइराइड हुनसक्ने संभावना रहन्छ।
-सामान्यतया खाना बारेर थाइराइड निको हुने होइन। तर चिल्लो, लामो समयसम्म संचित गरी राखिएका खाना र विषादी प्रयोग गरिएका तरकारी फलफुलको सेवनले नकारात्मक असर गर्छ।
-थाइराइड हर्मोन नियन्त्रणमा आयो वा सामान्य अवस्थामा आयो भनेर औषधी बन्द गर्ने चलन छ तर चिकित्सकको सल्लाह बिना औषधि सेवन बन्द गर्नु हुँदैन। ३ देखि ४ महिना नियमित परीक्षण गर्नु जरुरी हुन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *