आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागुपदार्थको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै प्रदेश राजधानी हेटौँडा

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ४९७ पाठक संख्या

जेठ १३, हेटौँडा : प्रदेश-३ को अस्थायी राजधानी हेटौँडा लागुपदार्थ ओसारपसारको हब बन्दै गएको छ। प्रदेश सरकारका मन्त्रीहरू, केन्द्रीय नेताको आवतजावत, शान्ति सुरक्षालगायत अन्य विषयमा मात्र नभई प्रहरी अहिले लागुपदार्थ ओसारपसारको नियन्त्रण गर्नमा केन्द्रित देखिन्छन्।

विश्वव्यापी साझा समस्याको रूपमा रही आएको लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा परेको छ। पछिल्लो समय हेटौँडामा पनि लागुऔषधको ठूलो गिरोह सक्रिय रहेको प्रहरी अधिकारीको भनाइ छ।

हेटौँडामा पछिल्लो ३ वर्षयता लागुऔषध गाँजा, चरेश, खैरो हिरोइन, अफिम ठूलो मात्रामा बरामद हुँदै आएको छ। बर्सेनि लागुऔषध बढी मात्रामा नियन्त्रणमा आएको प्रहरीको तथ्यांकले देखाएको छ।

एकपछि अर्को गर्दै ठूलो मात्रामा लागुऔषध बरामद भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन्। उनका अनुसार लागुऔषध कारोबार तथा ओसारपसारमा भारतीय नागरिक र भारतीय सवारी साधनको प्रयोग बढ्दो क्रममा छ।

गत आर्थिक वर्ष २०७३/०७४ मा मकवानपुर जिल्लाबाट गाँजा १ हजार ९८० केजी ८५२ ग्राम, चरेश २२४ केजी ५०२ ग्राम, खैरो हेरोइन ६१३ ग्राम १३ मिलिग्राम, अफिम ४ केजी ६५ ग्राम नियन्त्रणमा लिएको थियो। यस्तै, लागुऔषध नाइट्रोभेट ट्याब्लेट दुई हजार ४८८ पत्ता, डाइजेपाम दुई हजार २१७, व्युप्रिनोरफिन एक हजार ८८४ वटा, फेनारगन दुई हजार ४२२ वटा, कोरेक्स १२४ बोतल नियन्त्रणमा लिएको थियो। गत आर्थिक वर्षमा मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा ३२ भारतीय नागरिकसहित १५८ पुरुष र १३ महिलालाई पक्राउ गरेको थियो। गत आर्थिक वर्ष १३१ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो। यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा गाँजा १ हजार ११० केजी ३६७ ग्राम, चरेश ७० केजी ८६६ ग्राम, खैरो हेरोइन ११ मिलिग्राम, अफिम एक केजी २४ ग्राम बरामद गरेको थियो। नाइट्रोभेट ट्याब्लेट दुई हजार ९३७ पत्ता, डाइजेपाम एक हजार ४४९ वटा, व्युप्रिनोरफिन एक हजार ३०८ वटा, फेनारगन एक हजार ४७७ र कोरेक्स ४४६ बोतल नियन्त्रणमा लिएको प्रहरीको तथ्यांक छ।

यस्तै, १५ भारतीयसहित २११ जना पुरुष र ११ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले १५५ वटा लागुऔषधका मुद्दा दर्ता गरेको थियो।

१० महिनामा दुई हजार ६८७ केजी गाँजा बरामद चालू आर्थिक वर्ष २०७५/०७६ को श्रावण महिनादेखि वैशाख मसान्तसम्म अर्थात् १० महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा दुई हजार ६८७ केजी ९१५ ग्राम, चरेश ३०५ केजी १४० ग्राम, खैरो हेरोइन १० ग्राम ४२५ मिलिग्राम, अफिम ७०० ग्राम बरामद गरेको छ। यस्तै नाइट्रोभेट ट्याब्लेट २ हजार ९३३ पत्ता, डाइजेपाम एक हजार ८२८ वटा, व्युप्रिनोरफिन १ हजार ७१६ वटा, फेनारगन एक हजार ७४९ र कोरेक्स १७७ बोतल बरामद गरेको छ। चालू आर्थिक वर्षमा २४ भारतीयसँगै १४२ पुरुष र ५ महिलालाई लागुऔषध मुद्दामा नियन्त्रणमा लिएको छ।

१२४ वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जानकारी दिएको छ। गत आर्थिक वर्षमा ३ हजार ४७९ कट्ठा गाँजा फँडानी गरेको थियो। पछिल्लो समय प्रहरीले सक्रियता देखाएको कारण यो उपलब्धी हासिल भएको छ। यसले लागुऔषध ओसारपसार र नियन्त्रणमा पनि न्यूनीकरण गरेको छ। प्रहरीका अनुसार लागुऔषध उत्पादन हुने ठाउँ मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका र आग्रा, डाँडाखर्कमा सक्रिय गिरोहको गतिविधि उच्च हुने गरेको छ।

हेटौँडा बजारको राजमार्ग क्षेत्रसँगै भएका कारण र चितवन र धादिङबाट पनि अवैधरूपमा गाँजा भित्रिने भएकाले गाँजा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको भनाइ छ।

उनका अनुसार लागुऔषधको नियमनका लागि राज्यले धेरै प्रक्रिया अगाडि बढाएको छ। राक्सिराङ, कैलाश र बकैया गाउँपालिका लागुऔषधको प्रभावित क्षेत्र रहेको छ। यसलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले गाउँपालिका र स्थानीय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिसँग छलफलसमेत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस