आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोदीले इमरानको बधाई स्वीकारे, शपथमा बोलाएन

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) ३८४ पाठक संख्या

जेठ १५ नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाई स्वीकारे। माइक्रो ब्लगिङ साइट ट्विटर टेलिफोन सम्बादमा इमरानले दिएको बधाई स्वीकार्दै मोदीले दुई छिमेकी मिलेर दक्षिण एसियामा शान्तिका लागि काम गर्ने जवाफ दिएका थिए। तर उनै मोदीले दक्षिण एसियाली सार्क स‌ंगठनको सदस्य छिमेकी मुलुक पाकिस्तानका प्रम इमरानलाई आफ्नो दोस्रो कार्यकालको शपथमा निम्ता गरेनन्।

सार्कलाई बेवास्ता गर्दै मोदीले बिम्स्टेक सदस्य राष्ट्रलाई शपथमा अतिथिको निम्तो दिएका थिए। पाकिस्तान बिम्स्टेकमा छैन। शपथमा निम्ता नदिए पनि मोदी र इमरानबीच एक महिनापछि हुन लागेको संघाई सहयोग संगठन (एससीओ) को बैठकमा हुने भएको छ। समाचार अनुसार १३-१४ जुनमा कीर्गिस्तानको बिस्केकमा हुने बैठकमा दुवै नेता सहभागी हुनेछन्। यस्तोमा दुवै नेताको भेटघाटको सम्भावना बढेको हो। कीर्गिस्तानमा हुने एससीओको बैठकमा मोदीले चीनका राष्ट्रपति सी चिनफिङ्ग र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटघाट गर्ने भएका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको भेटबारे अझै केही शंका रहेको छ। केही समाचार विवरण अनुसार दुवै देशका अधिकारीहरु पहिले भेटेर एजेन्डा तयार गरेर मात्रै दुई नेताबीच भेटको वातावरण बनाउने छन्। समाचार अनुसार बिस्केकमा सम्मेलन भन्दा पहिले भारतीय विदेश मन्त्री सुषमा स्वराज र पाकिस्तानी समकक्षी शाह महमुद कुरैसीको भेटवार्ताले यो पृष्ठभूमि बनाएको हो।

अघिल्लो साल अगस्ट महिनामा इमरान खान पाकिस्तानका प्रधानमन्त्री बनेका थिए। त्यसपछि मोदी र इमरानबीच एक पटक पनि भेटवार्ता भएको छैन। पछिल्लो १० महिनामा दुई नेताबीच केबल २ पटक टेलिफोन सम्वाद भएको छ। त्यो पनि दुवैले चुनाव जितेकोमा बधाई दिने क्रममा। इमरान खानले गत आइतवार मोदीलाई बधाई दिँदै सम्वाद अगाडि बढाउन चासो दिएका थिए।

प्रम इमरानलाई मोदीको शपथमा निम्ता नदिएकोबारेमा पाक विदेशमन्त्री शाह महमूद कुरैसीले यसको अपेक्षा गर्नु नै बेवकुफी हुने बताए। ‘मोदीकफ चुनावी अभियान नै पाकिस्तानविरोधी थियो’, उनले भने, ‘त्यसैले शपथको निम्तोको अपेक्षा गर्नु नै मुर्खतापूर्ण कुरा हो।’

प्रतिक्रिया दिनुहोस