आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असारको दोस्रो सातादेखि पेट्रोलियम पाइपलाइन बाट इन्धन

AuthorAP Khabar२०७६ जेष्ठ २१, मंगलबार (४ साल अघि) २८७ पाठक संख्या

जेठ २१

सिमरा : लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइन परियोजना करिब सम्पन्न हुने अवस्थामा पुगेको छ । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा छिटो सम्पन्न हुनेमा परियोजनामा पेट्रोलियम पाइपलाइन परियोजना परेको छ । निर्माण कार्य सुरु भएको दुई वर्षमा सो परियोजना सम्पन्न हुन लागेको हो ।

मोतिहारीदेखि अमलेखगन्जसम्म पाइपलाइन बिच्छ्याउने काम ९५ प्रतिशत सकिएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पेट्रोलियम पाइपलाई परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । “अब करिब आधा किलोमिटरमात्र पाइप बिच्छ्याउने काम बाँकी छ,” उनले भने, “असारको दोस्रो सातादेखि पाइपमार्फत तेल ल्याउने गरी तयारी गरिरहेका छौं ।” २०७३ चैत २४ देखि पाइपलाइनको निर्माण कार्य सुरु भएको थियो । पाइपलाइन बिच्छ्याउने काम तीब्र रूपमा विस्तार भएकाले तोकिएको समयभन्दा अगाडि निर्माण कार्य सम्पन्न हुन लागेको उपनिर्देशक उपाध्यायले जानकारी दिए । निर्माण कार्य सुरु भएको ३० महिना भित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

पाइपबाट ढुवानी गरेको तेल भन्डारण गर्नका लागि बाराको अमलेखगन्जमा दुई वटा ४१ सय किलोलिटरका ट्यांकी निर्माण सम्पन्न भइसकेका छन् । ३९ सय किलोलिटरका दुईवटामध्ये एउटा ट्यांकीको पुनर्निर्माण गर्ने काम भइरहेको निगमले जानकारी दिएको छ । सो पाइपलाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिनेछन् । पाइपलाइनबाट डिजेलमात्र आयात हुने छ । बजारमा डिजेलको माग बढी भएको र प्राविधि रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन हुँदा पहिलो चरणमा डिजेलमात्र ढुवानी गर्न लागिएको हो । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलो मिटर लम्बाई भएको सो पाइपलाइन भारतीय आयल कर्पाेरेसन (आईओसी) र निगमको संयुक्त लगानीमा निर्माण भएको छ । भारतको २ अर्ब र निगमको ७५ करोड भारु लागतमा सम्पन्न सो परियोजना निर्माण कार्य सम्पन्न हुन लागेको हो ।

पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक करिब २ अर्ब रुपैयाँ फाइदा हुनेछ । पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी तथा चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामजस्ता समस्या समाधान हुनेछन् । पाइपलाइनबाट तेल ल्याउँदा वातावरण प्रदूषणसमेत नियन्त्रण हुन्छ । यसअघि ट्यांकरबाट तेल ढुवानी गर्दा वातावरण प्रदूषण धेरै हुने गरेको थियो । पाइपलाइनबाट तेल ल्याउँदा बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज हुन्छ । यसअघि ढुवानीमा साामन्य अवरोध हुनासाथ बजारमा इन्धनको अभाव हुने गरेको थियो । निगमसँग पर्याप्तमात्रामा इन्धन ढुवानी गर्ने भन्डारणस्थल नभएकाले आपूर्तिमा सामान्य अवरोध हुँदा साथ बजारमा उपभोक्ताले अभाव खेप्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस