आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि बाराको पवन सराफ बन्यो हिरो

AuthorAP Khabar२०७६ जेष्ठ २५, शनिबार (४ साल अघि) ४६६ पाठक संख्या

२०७६ जेठ २५

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक प्रतियोगिताको उपाधि उचालेको हो ।

शनिवार कीर्तिपुर क्रिकेट मैदानमा १ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेलेका थिए । अमित श्रेष्ठले ४४ रन बनाउँदै पुलिसको जितको आधार तयार गरेका थिए । कप्तान मञ्जित श्रेष्ठ ११ रनमा नटआउट रहे । आर्मीका करन केसीले ३, साहाब आलमले २ तथा सुसन भारीले एक विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २५ रन मात्र बनाउन सक्यो । पवन सरार्फ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीको ब्याटिङ लाइन धराशायी बनाएका थिए । ओपनर राजु रिजाल र सोमपाल कामीले आर्मीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । त्यसपछि लगातार विकेट पतन सुरु भएपछि आर्मी सस्तैमा समेटिएको थियो ।

राजुले ३२ र सोमपालले ३५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन सकेन । रोहित पौडेल १८ र भीम सार्की २० रन बनाएर आउट भए । पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे ।

प्रतियोगिताको तीनै संस्करणको फाइनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो । पहिलो संस्करणको उपाधि एपीएफ र आर्मीले संयुक्त रूपमा बाँडेका थिए । उपाधिसँगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस