आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३ दिनसम्म मनसुन सक्रिय, साना खोलामा बाढीको सम्भावना

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ३२३ पाठक संख्या

असार २२ काठमाडौँ ।
देशभर ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै ३ दिन मुलुकभर मनसुन सक्रिय रहने भएको हुनाले भारी वर्षा हुने भएको हो ।

वर्षाका कारण साना खोलामा नदीको वाहव बढ्ने र सामान्य बाढीको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । उनले भनिन्,‘ अहिले मनसुनको गतिविधि अलिक तीव्र छ । त्यसैले सानातिना नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि छ ।’

मौसमविद् कँडेलका अनुसार शनिवारबाटै देशको धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट सो क्रम अझ बढ्नेछ । विभागका अनुसार आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै आइतबार राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । यो क्रम कम्तीमा तीन दिन रहने बताइएको छ ।

यसैबिच मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले पश्चिम नेपालका डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटीय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।

आइतबारदेखि मङ्गलवारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस