आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढी–पहिरोपीडितलाई घर बनाउन प्रदेश सरकारको तीन लाख सहयोग

AuthorAP Khabar२०७६ श्रावण ११, शनिबार (४ साल अघि) २२४ पाठक संख्या

२०७६ श्रावण ११

सुर्खेत,

कर्णालीमा बाढी र पहिरोका कारण पीडित भएका परिवारलाई प्रदेश सरकारले घर बनाउन तीन लाख रुपैयाँ उपलब्ध गराउन निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबाट मृतकका आफन्त र घरबारविहीन भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिका आफन्तलाई एक लाख र घर पूर्णरुपमा क्षति भएका परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराइने भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रतिमृतक एक लाखका दरले र घर निर्माणका लागि पीडित परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरेको बताइन् ।

वर्षातका कारण कर्णाली प्रदेशमा सबैभन्दा बढी डोल्पामा क्षति भएको छ । असार २८ गते डोल्पाको मुड्केचुला गाउँपालिकामा बाढी र पहिरोका कारण चार जनाको मृत्यु भएको छ । यस्तै बाढीमा बगेका अरु सात जना हालसम्म वेपत्ता छन् । यस्तै पहिरोका कारण अन्य जिल्लामा पनि धेरै परिवार घरबारविहीन बनेका छन् ।

केसीले भनिन्,‘प्राकृतिक क्षतिको विवरण संकलन भइरहेको छ, वर्षातले हाम्रो प्रदेशमा धेरै नोक्सान भयो । हामी पीडितलाई तत्काल राहत वितरण गर्नेछौं, मन्त्रिपरिषद्ले पनि पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।’

यस्तै बिहीबारको बैठकमा जाजरकोटको छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्रको बिवादबारे पनि छलफल भएको छ । यो विषयलाई मन्त्रिपरिषद्का् राजनितिक समितिमा थप छलफल गरेर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिइन् ।

त्यसैगरी जिल्लास्तरमा मन्त्रालयले एकमात्र एकीकृत कार्यालय स्थापना गर्नेगरी संगठन र व्यवस्थापनको सर्वेक्षण गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस