आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

योगेशको चुनौतीपूर्ण पर्यटन

AuthorAP Khabar२०७६ श्रावण १७, शुक्रबार (४ साल अघि) ३५१ पाठक संख्या
किशोर नेपाल | काठमाडाैं
२०७६ श्रावण १७: नेपालको पूर्वी सीमान्त जिल्ला ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई केपी ओली नेतृत्वको सरकार गठन भएको १७ महिनापछि मन्त्री पदमा नियुक्त भएका छन् ।
 मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालयमा आएका मन्त्री योगेशले सबभन्दा पहिले आफ्नो कार्यालयमा ‘आइस्यो’ र ‘गैस्यो’ जस्ता सहरिया समाजमा चलनचल्तीमा रहेका आभिजात्य शब्दलाई निषेध गरेछन् । राम्रो भो । तर, लामो समयदेखि आइस्यो र गैस्योको संस्कारमा निथ्रुक्क भिजेका नेपाल सरकारका कर्मचारीले मन्त्रीको निर्देशनलाई कहिलेसम्म पछ्याउलान् ? यो महत्वपूर्ण पक्ष हो । भाषाको आदत सितिमिती जाँदैन । बल्लतल्ल भातलाई भुजा भन्न सिकेकाले यी शब्दावली नै बिर्सिने हो भने त्यसपछि के होला ?
योगेश भट्टराईको जिम्मामा मन्त्रीको खोजीमा रहेको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय परेको छ । यो उनका लागि सुनियोजित तवरले छुट्याइएको मन्त्रालय होइन । रवीन्द्र अधिकारीको दुःखद अवसानपछि खाली रहेको पर्यटनमन्त्रीमा योगेश भट्टराईको नियुक्तिले उनका मित्र, शुभचिन्तक र पर्यटन व्यवसायी तथा उनका गतिविधिसँग परिचित रहेका सर्वसाधारण पनि खुसी भएका छन् । पहिले पर्यटन मन्त्रालयको कुनै मान–भाउ थिएन ।
हिमाल चढ्न आउने विदेशी पर्वतारोहीको लगत राख्ने र पर्वतारोहणको मौसममा दैनिक पर्वतारोहण बुलेटिन प्रकाशित गर्ने काममा व्यस्त रहन्थ्यो । राजाको राज्य रहुन्जेल कुन हिमाल चुचुराको आरोहण गर्न दिने, कुन हिमाल चुचुराको आरोहण निषेध गर्ने भन्ने निर्णय दरबारले नै गथ्र्यो । हिमाल चुचुराको आरोहणबापत आउने सलामीको औपचारिक रकम धेरै नहुने तर अनौपचारिक रकम बढी हुने कुरा सुन्न पाइन्थ्यो ।
प्रजातन्त्र पुनस्र्थापनासँगै यो मन्त्रालयको महत्व सबैले देख्ने गरी हलक्क बढ्यो । पर्यटनलाई देशको महत्वपूर्ण मन्त्रालयका रूपमा चिनाउन प्रजातान्त्रिक वातावरण चाहिएको थियो । त्यस वेलादेखि अहिलेसम्म यो मन्त्रालयको महत्व बढ्दै गएको छ ।देशको महत्वपूर्ण मन्त्रालयका मन्त्री भएकाले पनि योगेश भट्टराईलाई शुभकामना दिनेहरूको ताँती लम्बिएको हो ।
योगेश भट्टराईको मिलनसार स्वभाव र लामो समयसम्म विद्यार्थी राजनीतिमा लागेका कारण उनका समर्थक र शुभचिन्तकको संख्या अन्य मन्त्रीको तुलनामा बढी हुनु अस्वाभाविक होइन । तर, योगेश भट्टराईलाई बधाई दिने अधिकांशले उनलाई ‘ताप्लेजुङ जिल्लामै हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका रवीन्द्र अधिकारीको उत्तराधिकारी बन्ने, उनका सपना पूरा गर्ने र उनले सुरु गरेका योजना टुंगोमा पु-याउने’ शुभकामना दिएका छन् । कसैलाई मन परे पनि नपरे पनि यो गलत शुभकामना हो ।
रवीन्द्र अधिकारी योगेश भट्टराई जस्तै युवक थिए । उनी योगेश भट्टराईभन्दा पहिले मन्त्री भए । मन्त्रीका रूपमा उनले के काम गरे ? उनका योगदान के थिए ? वाइडबडी घोटालामा उनको भूमिका के थियो ? संस्कृतिमन्त्रीका रूपमा उनले कसरी संकुचित ढंगले कलाकारमा ‘आफ्ना’ र ‘पराया’ छुट्याएका थिए ? नागरिक उड्डयनको क्षेत्रमा नेपालले भोग्नु र व्यहोर्नुपरेका समस्या समाधान गर्न उनले के गरे ?
नेपाली वायुसेवालाई आइकाओको सजायबाट मुक्त गराएर युरोपलगायत देशका रनवेमा नेपाली जहाज दौडाउने उनका के योजना थिए ? यी कुराको जानकारी कसैलाई छैन । रवीन्द्र अधिकारी छिटै दिवंगत भएकाले उनले धेरै काम गर्न पाएनन् होला । उनले जे काम गरे, त्यसमा त्रुटि भएको होला । जस्तो वाइडबडीकै कुरा गरौँ । वाइडबडी खरिद काण्डमा ठूलो गडबडी भएको कुरामा नेपाल वायुसेवा निगमको इतिहास जान्नेहरू सहमत छन् । रवीन्द्र अधिकारी त्यस गडबडमा सामेल थिएनन् होला । तर, उनले गडबडीलाई रोक्न कुनै प्रयास गरेको पनि देखिएन ।
स्वर्गीय रवीन्द्र अधिकारीका सबै कामको जिम्मेवारी योगेश भट्टराईले लिऊन् भन्नु मानिसको निजात्मक र भावुक कामना मात्र हो । रवीन्द्र अधिकारी र योगेश भट्टराई एउटै पार्टीका राजनीतिक सहयात्री मात्रै थिए । ती दुवैको आत्मा समाजवादप्रति एकाग्र थियो । तर, मानिस वा व्यक्तिका रूपमा रवीन्द्र र योगेशमा समानता खोज्नै मिल्दैन । नेपालीमा विचारको दरिद्रता छ । तर, भावनाको हिसाबले उनीहरू धनी छन् ।
पर्यटन मन्त्रालय एउटा निहित स्वार्थी तत्वको कब्जामा छ । योगेश त्यो स्वार्थी तत्वको कब्जाबाट मन्त्रालयलाई मुक्त गर्न सक्षम हुन्छन् कि हुँदैनन् ? त्यो निकट भविष्यमा देखिने नै छ ।
उनीहरूको आँखामा अथाह आँसु छ । तर, जसको आँखामा जे भए पनि योगेश भट्टराईले आफ्नो काँधमा आएको दायित्व निर्वाह गर्ने हो । अरू कसैको दायित्व सकार्ने होइन । यस हिसाबले योगेश भट्टराईले काम गर्ने नै हो भने निर्ममतापूर्वक मन्त्रालयका विगतका काम–कारबाहीको पूरै पुनरावलोकन गर्नुपर्छ । सरकारले आफैँ जमानी बसेर ल्याएको त्यति महँगो वाइडबडीमा के गडबडी छ ? किन निगमले वाइडबडी राम्ररी चलाउन सकेको छैन ? किन नेपालको नागरिक उड्डयन र वायुसेवा निगम सधैँ विवादमा पर्छन् ? किन नागरिक उड्डयन र वायुसेवाका क्षेत्रमा भनेको समयमा कुनै पनि काम सम्पन्न भएका छैनन् ? यी जायज प्रश्नको उत्तर खोजेपछि मात्रै योगेश भट्टराईको मन्त्री पद सफलतातिर लम्किनेछ । होइन भने सामाजिक सञ्जालको लोकप्रियता भरलाग्दो हुँदैन ।
योगेश भट्टराई जति सरल देखिन्छन्, उनी त्यति नै कठोर छन् । आफ्नो पार्टीको राजनीतिमा टिकिराख्नका लागि पनि उनले कठोर हुनु आवश्यक छ । आजको प्रतिस्पर्धी राजनीतिको स्वरूप नै यही हो । योगेशको मामिलामा प्रधानमन्त्री ओलीले निर्वाचन प्रचारकै वेला ताप्लेजुङका जनतालाई भनेका थिए– तपाईंहरू योगेशलाई जिताएर पठाइदिनुहोस्, उनलाई मन्त्री बनाउने काम मेरो । तर, प्रम ओलीले वचनको पालना गरेनन् । उनले सरकार गठन गरे । तर, योगेशलाई मन्त्री बनाएनन् । प्रम ओलीको यस कामको निकै आलोचना भयो । पछि, ओली मन्त्रिपरिषद्बाट शेरबहादुर तामाङलाई मन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्याइयो । तैपनि, प्रम ओलीले भानुभक्त ढकाललाई मन्त्री बनाए, योगेश भट्टराईलाई बनाएनन् ।
आफ्नो दलका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको गुटीय राजनीतिको फन्डा राम्ररी बुझेका योगेश भट्टराईले यी कुरा चुपचाप सहेर बसे । उनले संसद्मा सरकारको प्रतिरक्षामा भाषण गरे । डा. गोविन्द केसीको आन्दोलनको प्रतिरोध गरे । सरकार प्रमुखलाई खुसी पार्ने काम गर्न योगेश चुकेनन् । तर, बीच–बीचमा दह्रा कुरा गर्न पनि छाडेनन् । पर्यटनमन्त्रीका रूपमा योगेशसँग उनको पार्टीले अनेकौँ अपेक्षा राखेको होला । पर्यटन मन्त्रालय राजनीतिक दलहरूका लागि अवसरको थलो पनि हो । योगेशले यी कुरा पक्कै बुझेका छन् ।
योगेश भट्टराईको नेतृत्वमा पर्यटन मन्त्रालयले गर्नुपर्ने केही काम छन् । हामी देशमा दश लाख र बीस लाख पर्यटक ओराल्ने कुरा गर्छौं । तर, उनीहरूलाई कहाँ लैजाने ? कहाँ राख्ने ? हामीसँग नयाँ गन्तव्य नै छैन । सरकारले अहिलेसम्म पर्यटनको नयाँ गन्तव्य पहिचान र विकास गर्न सकेको छैन । राराका गफ धेरै भए । तर, त्यहाँ गुणात्मक पर्यटक लैजान चाहिने सुविधा विकासको कुरै भएन ।
अहिले कर्णालीको प्रदेश सरकार पर्यटन विकासमा लाग्न खोजेको छ । तर, झार उखेल्न लगाएर प्रधानमन्त्री रोजगार आयोजनामा अर्बौं खर्च गर्ने सरकारको ध्यान त्यतातिर छैन । पर्यटन मन्त्रालय एउटा निहित स्वार्थी तत्वको कब्जामा छ । योगेश भट्टराई त्यो स्वार्थी तत्वको कब्जाबाट पर्यटन मन्त्रालयलाई मुक्त गर्न सक्षम हुन्छन् कि हुँदैनन् ? त्यो निकट भविष्यमा देखिने नै छ । अहिलेलाई पर्यटनमन्त्रीका रूपमा योगेश भट्टराईलाई शुभकामना !
नयपत्रिका

 

प्रतिक्रिया दिनुहोस