आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेलायतमा नेपाली साहित्यको बहस : कसैलाई भिसा मिलेन, कसैलाई नामै पचेन

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं, साउन २५ : यो साता नेपाली साहित्यकारहरुले बेलायत घुमघाम गरेका तस्वीरहरु सामाजिक सञ्जालमा प्रशस्तै देख्न पाइयो । यसको कारण थियो, लण्डनमा गत शनिबारदेखि सोमबारसम्म चलेको ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को छैठौं अन्तर्राष्ट्रिय सम्मेलन ।

अमेरिकामा २९ वर्षअघि स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अन्तर्राष्ट्रिय सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ । सम्मेलनमा संस्थाको नामको विषयमा समेत छलफल भएको छ । साथै, नेपालबाट सम्मेलनमा निम्त्याइएका साहित्यकारलाई बेलायत सरकारले भिसा नदिएको विषय पनि सम्मेलनमा उठेको छ ।
दुई दिन चलेको सम्मेलनमा नेपाल, भारत, अस्ट्रेलिया, जापान, कोरियालगायतका देशबाट ६७ जना साहित्यकार उपस्थित थिए । कार्यक्रममा सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा कविता वाचन, नेपाली साहित्यका विषयमा चर्चा, पुस्तक प्रदर्शनीलगायतका कार्यक्रम भएका थिए । बेलायतमा रहेर कलम चलाइरहेका दर्जनौं साहित्यकारको उपस्थिति थियो ।

सम्मेलनलाई बेलायतस्थित नेपाली राजदुत तथा साहित्यकार दुबसु क्षेत्री र प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक दशकयता गरेको साहित्यिक गतिविधिलाई नजिकबाट नियालिरहेको र प्रवासमा रहेका नेपालीलाई साहित्यको माध्यमबाट जोड्ने काम गरेकोमा क्षेत्रीले खुसी व्यक्त गरे । त्यसै गरी उपकुलपति गुरुङले मानिसको मन जोड्न साहित्यले खेल्ने भूमिका बताउँदै विदेशमा रहेर मातृभूमि जोड्न साहित्य महत्वपूर्ण साथी भएकै कारणले संस्थाले लामो इतिहास बनाउन सकेको बताए ।

कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा विद्यावारिधि गरेका बेलायती नागरिक माइकल हटले ०७२ सालको भूकम्पपछि नेपाली साहित्य लेखनले फरक धार समातेको बताए । भूकम्पपछिको नेपाली साहित्य विषयमा कार्यपत्र प्रस्तुत गर्दै माइकल हटले भने, ‘भूकम्पपछि नेपाली साहित्यमा मृत्युको त्रास देखिँदैन, बरु देश बनाउन एकजुट हुनुपर्ने सन्देश जताततै पाइन्छ । जिजिभिषाका बीचमा यसखालको मनोवृत्ति हुने नेपालका लागि धेरै खुसीको कुरा हो ।’

भूकम्पका विषयमा लेखिएका सयौं कविताको अध्ययन गरिसकेको बताउँदै माइकल हटले कथा र उपन्यासमा पनि त्यही प्रवृत्ति देखिएको बताए । अहिले उनी भूकम्पपछिको नेपाली साहित्य विषयमा पुस्तक प्रकाशनको तयारीमा छन् ।

कार्यपत्रका अर्का प्रस्तोता प्राध्यापक डा. खगेन्द्र लुइँटेलले डायोस्परिक साहित्यको रुपरेखा र मूलधारको साहित्यबीचको सीमारेखा प्रस्तुत गरे । ‘विदेशमा बसेर लेख्ने वित्तिकै त्यो लेखन डायस्परिक हुँदैन । न त नेपालबाट घुम्न आएका लेखकले विदेशका नेपालीका बारेमा कुनै कृति लेख्दा त्यो डायस्परिक हुन्छ । डायस्परिक हुनका लागि त्यसले डायोस्परिक चरित्र बोकेको हुनपर्छ ।’

कार्यक्रममा नेपालका प्रारम्भिक २० आख्यानकार र उनीहरुका चर्चित कथाहरुको अङ्ग्रेजी अनुवाद कृति ‘टाइमलेस स्टोरीज फ्रम नेपाल’ विमोचन गरिएको थियो । विमोचित अन्य पुस्तकहरुमा सुमलकुमार गुरुङ्को ‘यात्रा स्पर्शका अनुभूति, लालगोपाल सुवेदीको ‘रोटीको दन्त्य कथा मोहन सिटौलाको ‘जीवन बाँसुरी, रामप्रसाद घिमिरेको ‘खप्परेको कथाहरु र शशी थापा सुब्बाको ‘साँझकी शशी’ थिए ।

भिसाका कारण दर्जनौं लेखक पुगेनन्

सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय सम्मेलनमा चर्चित अनुहार नदेखिँदा पनि प्रश्न उठेको थियो । ‘नेपालका चर्चित कुनै पनि अनुहार सम्मेलनमा उपस्थित नभएपछि कसरी त्यो नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन भयो ?’ संस्थाकै केही आजीवन सदस्यले सार्वजनिकरुपमा यस विषयमा टिप्पणी गरेपछि सम्मेलनमा त्यससम्बन्धी चर्चा उठ्यो ।

‘हामीले युवा पुस्ताका लेखक, अध्येता एवं प्राध्यापकहरुलाई कार्यक्रममा निम्ता दिएका थियौं । तर, दूतावासले भिसा नदिँदा उहाँहरु उपस्थित हुन सक्नुभएन ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव गणेश घिमिरेले अनलाइनखबरसँग भने, ‘त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत तथा चर्चित लेखकहरुलाई बेलायतले भिसा नदिनुले हाम्रो स्टाटस बताउँछ । यो हामी सबैका लागि दुःखदायी अवस्था हो ।’

घिमिरेका अनुसार दूतावासले लेखको स्टाटस हेरेर नभई आर्थिक अवस्थालाई आधार मानेर भिसा दिने कारणले ठूला-ठूला सम्मेलनमा काठमाडौंका सम्पन्न व्यक्तिहरु मात्र उपस्थित हुने अवस्था आउने गरेको छ । उनले भने, ‘यस्ता घटना यसअघि पनि भएका छन्, जसका कारण कार्यक्रम सामान्य हो कि भन्ने परेको छ । यसलाई हाम्रो कमजोरीभन्दा पनि देशको अवस्थासँग जोड्नुपर्छ ।’

नाम गलत भएको भन्दै विरोध

बेलायतस्थित नेपाली राजदूत तथा साहित्यकार दुबसू क्षेत्री र उपकुलपति जगमान गुरुङले कार्यक्रम उद्घाटन गरिसक्नेवित्तिकै अमेरिकाबाट डा. प्रदीप भट्टराईले एउटा लेख सार्वजनिक गरे । लेखमा गलत नाम भएको संस्थामा राजदुत र प्रज्ञा प्रतिष्ठानका उपकुलपतिले संस्था उद्घाटन गर्दा ती संस्थाहरुकै अपमान भएको कुरा उल्लेख थियो । लेखको आशय वर्षौदेखि गलत नाम बोकेर हिँडेको संस्थाले नेपाली र अंग्रेजीभाषाबीच तालमेल नभएको सामान्य गल्ती पनि सच्याउन नसकेको जिकिर थियो ।

उक्त लेखपछि सामाजिक सञ्जालमा त्यसको विरोध भयो । यही विरोधका कारण दोस्रो सेसनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बैठक बसेर यसको छलफल गरियो ।

‘अमेरिकामा दुई दशकअघि संस्था दर्ता हुँदा नेपाली भाषा र अंग्रेजी भाषाबीच थोरै केही नमिलेको पाइयो तर, त्यसलाई सच्याउन अमेरिकाका सबै निकायहरुमा पुग्नुपर्ने भएकाले परिवर्तन हुन नसकेको रहेछ,’ संस्थाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइलाले अनलाइनखबरसँग भने, ‘अंग्रेजी र नेपालीभाषाको अनुवादमा केही शब्द नमिलेको मात्रै हो, यो अमेरिकी प्रशासनमा जाँदा भएको सानो प्राविधिक समस्या मिलाउन निकै झन्झट भएका कारण यो गल्ती बषौर्ंदेखि बल्झिरहेको छ ।’

के-के निर्णय गर्‍यो युके सम्मेलनले ?
सम्मेलनले नेपाली साहित्यकारका चर्चित कृतिलाई संसारका धेरै जनसंख्याले बोल्ने भाषामा अनुवाद गर्ने कामलाई तीब्रता दिने निर्णय गरेको छ ।

सम्मेलनले डायस्पोरिक साहित्यको इतिहास तयार गर्न विज्ञ टोली गठन गर्ने, विदेशमा रहेका नेपालीभाषी परिवारका सन्तानहरुले नेपाली भाषामा पनि पठन-पाठन गर्न तयार भएका पाठ्यसामग्रीहरुलाई सामयिक बनाउने एवं त्यस्ता बालबालिकालाई नेपाली भाषामा चासो जगाउन प्रविधि मैत्री बनाउने निर्यण पनि गरेको छ ।

संसारभर छरिएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरुको सदस्यतालाई अद्यावधिक गर्ने र नेपालका विश्वविद्यालय एवं संघसंस्थाहरुसँग सम्पर्क गरी साहित्य अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय पनि सम्मलेनले गरेको छ ।

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ नेपालीभाषीहरुको बसोबास रहेका सबैजसो देशमा फैलिएको छ । यस संस्थामा साहित्य लेखन तथा साहित्यिक सेवामा संलग्न एक हजारभन्दा बढी आजीवन सदस्य रहेको दाबी गरिएको छ । संस्थाले वार्षिक १० लाख रुपैयाँ बराबरको पुरस्कार तथा सम्मानसमेत वितरण गर्दै आएको छ ।अनलाइनखबर

प्रतिक्रिया दिनुहोस