आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिल्लीमा क्षेत्रीय सुरक्षासम्बन्धी सम्मेलन

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) २०८ पाठक संख्या

श्रावण ,२५ : पूर्वमन्त्री सुनील थापा भन्छन्– बिमस्टेकमार्फत क्षेत्रीय सहकार्य गरौँभारतीय सेनाको चिफ अफ इन्टिग्रेटेड डिफेन्स स्टाफ लेफ्टिनेन्ट जनरल पिएस राजेश्वरले नेपालसँग भारतको समस्यारहित र विशिष्ट सम्बन्ध रहेको बताएका छन् । नयाँदिल्लीमा शुक्रबार आयोजित ‘ग्लोबल सेक्युरिटी डायलग’मा उनले सैनिक र राजनीतिक तहमा भइरहेका नियमित संवाद र भ्रमण आदानप्रदानले राजनीतिक र सैन्य सम्बन्ध सम्बन्ध सुदृढ भएको उल्लेख गरे ।

भारतका बहालवाला उच्च सैन्य अधिकारी, भूतपूर्व सैनिक जनरल तथा अनुभवी कूटनीतिज्ञ सहभागी सम्मेलनमा जनरल राजेश्वरले भारतका छिमेकी देशसँगको सम्बन्धबारे व्याख्या गर्नेक्रममा नेपालबारे बोलेका थिए । ‘हामी नेपालसँग विशिष्ट सम्बन्ध कायम गरिरहेका छौँ । भारतीय सेनामा नेपालीहरूको ठूलो संख्या काम गरिरहेको छ । राजनीतिक र सैन्य तहमा नियमित इन्गेजमेन्ट छ,’ जनरल राजेश्वरले भने । उनले नेपाली सेनासँग नजिकबाट सहकार्य गरिरहेको पनि उल्लेख गरे । भारत र नेपालका प्रधानसेनापति एकअर्काका प्रधानसेनापति छन् ।

उनले चीन भारतको मुख्य व्यापारिक साझेदार रहेको र आपसी विश्वास अभिवृद्धिका लागि विभिन्न तहमा संवाद भइरहेको बताए । अर्को छिमेकी पाकिस्तानले भारतसँग छद्म युद्ध लडेको, जम्मु–कस्मिरसहित भारतमा धार्मिक अतिवाद र जिहादी घुसपैठ गरेको आरोप लगाए । उनले अफगानिस्तानको शान्ति र लोकतन्त्रका लागि साझा अवधारणा आवश्यक रहेको टिप्पणी गरे ।

म्यानमारसँग नजिकबाट काम गरिरहेको, बंगलादेशसँग चार दशकभन्दा लामो सीमा विवाद सम्पन्न भएपछि सम्बन्ध नयाँ मोडमा प्रवेश गरेको उनको भनाइ थियो । भारत र श्रीलंकाबीच एकअर्काको सुरक्षा र स्थायित्वमा सहकार्य भइरहेको राजेश्वरले भने । भारतको मुख्य समस्या आतंकवाद र अतिवाद रहेको उल्लेख गर्दै उनले नक्सलवादी समस्या समाधानका लागि एकीकृत अवधारणाअनुसार काम भइरहेको बताए ।

भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिदले भारतले पछिल्लो समयमा कूटनीतिक क्षेत्रमा प्रभावकारी उपस्थिति देखाउन सकेको, तर रणनीतिक क्षमता प्रदर्शन गरिरहनु आवश्यक नभएको टिप्पणी गरे । उनले चीनसँग ऐतिहासिक समस्या कायम रहेकाले तत्कालै समाधान नहुने बताए । ‘त्यसका लागि विगत २० वर्षमा गरिएको प्रयासका आधारमा अघि बढ्नु आवश्यक छ,’ उनले भने ।

चीनबारे स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । ‘भारत विश्व रंगमञ्चको नयाँ सदस्य हो । अफ्रिकाको स्वतन्त्रता र लोकतान्त्रीकरणमा भारतको भूमिका छ, प्यालेस्टाइनका सन्दर्भमा भारतले के बोल्छ भनेर विश्वले हेरिरहेको छ,’ उनले थपे, ‘जी–२०, बिमस्टेक, आसियान, सांघाई कर्पोरेसन अर्गनाइजेसन (एससिओ)मा भारत सुनिन थालेको छ ।’ पूर्वविदेशसचिव कनवल सिब्बलले भारतको चासो चीन र इन्डोप्यासिफिक रहेको बताए । उनले चीनसँग रणनीतिक समझदारी कायम हुन सके द्विपक्षीय र क्षेत्रीय समस्या समाधान हुने बताए ।

भारतको भूमिका अपेक्षित : पूर्वमन्त्री थापा
पूर्व उद्योग वाणिज्यमन्त्री एवं राप्रपा संयुक्तका महामन्त्री सुनीलबहादुर थापाले सार्कको नाम उल्लेख नगरी बिमस्टेकमार्फत क्षेत्रीय सहकार्य गर्नुपर्ने बताए । थापाले यसका लागि भारतको भूमिका अपेक्षित रहेकोसमेत उल्लेख गरे । ‘इन्डिया एन्ड न्यु मल्टिल्याटरल अर्डर’ शीर्षकमा थापाले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई प्रमुख वक्ता राखिएको थियो । अन्तिम अवस्थामा उनी सहभागी हुन नसक्ने भएपछि पूर्वमन्त्री थापालाई प्रमुख वक्ता बनाइएको थियो ।

‘दक्षिण एसियामा हामी बिमस्टेकमार्फत नयाँ यात्राको उडान भरेका छौँ । यसले नेपालको विकासका लागि कनेक्टिभिटी, प्रविधिको विकासमा पहुँच स्थापित गर्नेछ,’ उनले भने । नेपालको पानी क्षेत्रीय सहकार्यको विषय बन्न सक्ने बताउँदै थापाले क्षेत्रीय विद्युतीय प्रसारण लाइन, ग्यास पाइपलाइनमा जोड दिए । उनले क्षेत्रीय रूपमा व्यापार, कनेक्टिभिटी, लगानीका लागि अवरोध हटाउनुपर्ने बताए ।

‘सार्कलाई अघि बढाऔँ’
बंगलादेशका पूर्वब्रिगेडियर जनल इकवाल अजिमले सार्क प्रक्रिया सुचारु गर्नुपर्ने बताए । ‘सांघाई कोपरेसन अर्गनाइजेसन (एससिओ)मा भारत र चीन सँगै बस्न सक्ने, सार्कमा किन सहकार्य नगर्ने ?’ उनले प्रश्न गरे । अजिमले दक्षिण पूर्वी एसियाली संगठन (आसियान) जस्तै प्रभावकारी सार्क हुनुपर्नेमा जोड दिए । उनले बिबिआइएन थप प्रभावकारी हुनुपर्ने पनि बताए । भारतले सबै छिमेकी मुलुकलाई साथमा लिएर अघि बढ्नुपर्ने अजिमको भनाइ थियो ।

नयापत्रिका :

प्रतिक्रिया दिनुहोस