आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धावक गुरुङलाई चीनमा स्वर्ण

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) २५२ पाठक संख्या

काठमाडाैं, श्रावण २५ : नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर खेलकुदको हाफ म्याराथन (२१.१ किलोमिटर)मा स्वर्णपदक जितेका छन् । गुरुङले सिंगापुर पुलिस फोर्समार्फत प्रतियोगितामा सहभागिता जनाएका हुन् । उनले सिंगापुर पुलिस फोर्सबाट सहभागिता जनाए पनि प्रतियोगितामा नेपाली खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका हुन् । सिंगापुर पुलिसमा भर्ती भएकासँग नेपाली पासपोर्ट नै हुने भएकाले उनीहरूको सहभागिता पनि नेपाली खेलाडीकै रूपमा हुन्छ ।

‘प्रतियोगितामा सहभागिताका लागि सिंगापुर पुलिस संगठनले सिफारिस गरेको हो । यद्यपि, प्रतिस्पर्धामा हामी नेपाली खेलाडीकै रूपमा हुन्छौँ,’ पदक जितेपछि निमेशले चीनबाट भने, ‘नेपाली खेलाडीका रूपमा पदक जित्दा खुसी लागेको छ ।’ उनले शुक्रबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी एक घन्टा नौ मिनेट २६ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जितेका हुन् । यो विधामा आयोजक चीनका धावक दोस्रो तथा सिंगापुरका धावक तेस्रो भए ।

विश्व पुलिस फायर गेम्स विश्वका पुलिस तथा आर्मी संगठनका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो । जारी प्रतियोगितामा ५० भन्दा बढी देशका पुलिस र आर्मी संगठनका खेलाडी सहभागी छन् । शुक्रबार हाफ म्याराथनको प्रतिस्पर्धामा एक सय खेलाडी सहभागी थिए ।

मादी मूलखर्क शंखुवासभाका निमेशले दुई वर्षअघि अमेरिकामा भएको यही प्रतियोगितामा हाफ म्याराथनमा पनि स्वर्ण जितेका थिए । उनले जारी प्रतियोगितामा क्रसकन्ट्री र १० किलोमिटरका अन्य दुई इभेन्टमा पनि प्रतिस्पर्धा गर्दै छन् । त्यसमध्ये क्रसकन्ट्री आइतबार र १० हजार किमि दौड १८ अगस्टमा हुँदै छ ।
नयाँ पत्रिका;

प्रतिक्रिया दिनुहोस