आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाभित्र भयावह स्थिति : भुसभित्रको आगोजस्तै

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) २७५ पाठक संख्या

साउन ,२५ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आन्तरिक रस्साकस्सी अहिले केही दिनसम्मलाई यसकारणले शान्त भएको छ कि दुवै अध्यक्षहरु मुलुक बाहिर रहनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जानु भएको छ( आइतवार आउँदै हुनुहुन्छ) भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका खुसीका लागि दुबई जानु भएको थियो । साउन भरिमा सबै एकता प्रक्रिया सम्पन्न गर्ने कुरा पनि छेपाराको कथा जस्तै हुने पो हो कि ?

यता एकता प्रक्रियासँगै दलमा कोही कता कोही कता अर्थात् कोही ओली समूहमा र कोही प्रचण्ड समूहमा लागेको समाचारहरुसँगै जनताको बहुदलीय जनवादको विषय पेचिलो बनेको छ । पछिल्लो कालखण्डमा मदन भण्डारीले समन्वय गरेर एकीकृत गरेको तत्कालीन एमालेको जगमा पुरै समाहित भएर, माओबादी केन्द्र सहितको मतले प्रतिनिधि सभामा झन्डै दुई तिहाईको सरकार बनाउन सफल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) वा डबल नेकपामा अहिले उहाँकै जबजलाई मसान घाटमा सुताएर एकता प्रक्रियालाई पूर्णता दिन लागेकोमा भित्रभित्रै भुसको आगो बलिरहेको अनुभूत गर्न सकिन्छ । यसलाई कसैले एमालेको माओबादीमा विलय मानेका छन् भने कसैले तत्काललाई माओबादीलाई भ्रमित बनाएर आउँदो अधिवेशनसम्मका लागि ललीपप ख्याउन पूर्व एमालेहरु सफल भएको मानेका छन् ।

कम्युनिस्ट पार्टीमा सामान्यतया शक्तिकेन्द्रहरु बनाइँदैन, जो पार्टीको नेतृत्वमा रह्यो, त्यही नै केन्द्रीयताको विन्दु हुनुपर्ने हो तर नेपाली प्रयोगमा एउटै पार्टीमा एकै प्रकारका, एउटै शक्तिका दुईओटा अध्यक्षहरु छन् जसलाई एउटा हवाइ जहाजमा परिपक्व दुईओटा पाइलटको संज्ञासमेत दिएर दुईओटा अध्यक्ष राखेको पुष्टि गरिएको छ । हुन त वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधव नेपालले साउनसम्ममा पार्टीका सबै समस्या समाधान भइसक्ने समेत बताउनु भएको छ र वरिष्ठ नेताको पदमा रहे पनि आफूलाई अध्यक्षहरुमाथि दवाव दिन सक्ने नेताको रुपमा ठड्याउनु भएको छ । जबजको जहाजमा चढेर १५ वर्षसम्म महासचिव हुँदा र भएका जे जति सफलताहरु छन् राजनीतिक फाँटमा जबजका कारणले भएका हुन् भनेर भन्ने नेताहरुको बोलीमा केही फरकपन देखिनुले शक्तिकेन्द्रहरुको नयाँ नयाँ समीकरण सुरु भएको मानिन थालेको छ ।

सर्वविदितै छ, तत्कालीन एमाले र माओबादी केन्द्र नामका दुईओटा पार्टी सङ्गठन एकै ठाउँमा गाभिएको छ । तत्कालीन एमाले सुसङ्गठित थियो तर सत्ताको स्वादका लागि जोसँग पनि घाँटी जोडेर आफ्नो अभीष्टता पूरा गर्ने दाउमा थियो । तत्कालीन माओबादी केन्द्र आफैँमा लथालिङ्ग पार्टीको रुपमा थियो र केन्द्रीय समितिसमेत चार हजार व्यक्तिभन्दा धेरैको बनाएर सबै कार्यकर्ताको चित्त बुझाएर बसेको थियो । तर पनि त्यति गर्दा पनि जनयुद्धको परिणामको व्याज नपाएकाहरु ठुस्स परेकै थिए । अचानक एक भयो , तत्कालै सत्तामा जाने गरी । एमालेको हिसाब कमजोर थिएन, झन्डै दुई तिहाईको संख्यामा प्रतिनिधि सभामा साँसद संख्या पनि पुग्यो तर राजनीति कहिल्यै पनि सरल रेखामा नहिँड्ने भएकाले राजनीतिक गाँठो पाइलैपिच्छे परिरहेको छ , कस्तो गाँठो हो जहिले पनि मुलुकलाई संक्रमणकालमा राख्नु पर्ने अवस्थाको छ ।

गाँठो त त धेरै ठाउँमा छ । माओवादीलाई अहिलेको एमालेसँगको गठबन्धनको यो कम्युनिस्ट पार्टीको खासै माया छैन, तर तत्काल कतै जाने सम्भावना पनि छैन । प्रचण्डलाई भावी राजनीतिक संरक्षणका लागि एमालेभन्दा सहज अर्को राजनीतिक स्थल पनि थिएन किनभने एमाले मूल राजनीतिक धारमा थियो र नेपालमा मात्रै होइन, विश्वका प्रजातन्त्रवादीहरुले समेत प्रजातान्त्रिक धारको कम्युनिस्टका रुपमा स्वीकार गरेका थिए । माओबादीको बेग्लै पहिचानभन्दा एमालेसँगको समष्टिको पहिचानले राजनीतिक फाइदा थियो र प्रचण्डमा आफ्ना कार्यकर्तालाई एकगोल राख्ने कला थाहा थियो र त अहिले पनि नेकपामा एकाकार हुँदा पनि कोही पनि चुँइक्क बोलेका छैनन् ।

जनयुद्धको अतीतले हेग पुर्‍याउने कुरा पनि बेलाबेलामा उठ्छ र जनयुद्धमा माओबादीबाट पीडितहरुको माओबादी विरुद्धको शान्तिपूर्ण विरोधी अभियानले अहिले पनि नेपाली समाजमा राम्रै सहानुभूति पाएको छ । खासगरी ती गैरसैनिक नेपालीहरु जो घरमा बसेर आफ्नो खोले फाँडो खाएका थिए,अनाहकमा सेना र माओवादीको चेपुवामा परेर या त मारिए, या त बेपत्ता पारिए या त अधमरा भएर बाँचिरहेका छन् । माओवादीका लागि त दलले नै सरकारमा हुँदा राज्यको सम्पत्तिले अथाह सुरक्षा दियो, सुविधा दियो तर ती निरीह जनताका पक्षमा कसले बोल्ने ? काँग्रेस र तत्कालीन एमाले ती पीडितहरुका पक्षमा बोल्दै थिए तर सत्ताका स्वार्थी दलदलमा फसेपछि माओवादीका विरुद्धमा कोही पनि बोल्न सक्ने अवस्थामा रहेनन् । झन अहिले त एमाले र माओबादी एकाकार भएपछि त स्थिति झन भयावह बनेको छ, भुसभित्रको आगोजस्तै । माओवादी पीडित जनताको कुरा सुन्ने एमालेको कान पनि बैरो भएको छ र जनतालाई राज्य गर्ने शक्तिको श्रोतको रुपमा माओवादी फेला पारेपछि स्थिति झन झन विकराल बन्दैछ । अनि दुई दलका बीचको मौलिकरुपमा सिद्धान्तमा फरक अवस्था थियो तर एकाकार भएकै हुन् । यसलाई ऐतिहासिक एकता भने पनि हुन्छ, अत्यन्त नाटकीय अवसरवादिता मान्दा पनि हुन्छ । त्यसैले एकताका सबै अवयवहरु अझै सम्पन्न हुन सकेका छैनन् ।

अहिले कुरो स्कुल विभाग र प्रचार विभागमा अड्किएको भनिन्छ । वास्तवमा सैद्धान्तिकरुपमा नै यी दुई दल अझै एकाकार हुन सकेका छैनन् । माले , एमालेको हिँसात्मक इतिहास छोटो छ तर जेल नेलको धपेडीसँगै संगठन निर्माणको लामो प्रक्रियामा खारिएर माले अनि एमाले बनेको हो । यो बीचमा उसले प्रजातान्त्रिक प्रक्रियालाई आत्मसात गर्ने अवसर पनि पायो । तर माओबादीमा भूमिगत कालको अराजक जनयुद्ध र चरम केन्द्रीयताको धरापमा बाँचेको र हुर्किएको पार्टीसँग एमालेको एकाकार साँच्चै बाघको सबारी सावित भएको छ । यसको प्रत्यक्ष उदाहरण बारम्बार अध्यक्ष प्रचण्डले देखाउने घुर्की र उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिने जबाफमा पाइन्छ ।

साँच्चै अस्तिको माले र हिजोका एमालेमा बौद्धिक तथा साङ्गठनिक उहापोहलाई समन्वय गर्ने र आफू सधैँ नेतृत्वभन्दा बाहिर बसेर भए पनि संगठनलाई जीवित राख्ने ईश्वर पोखरेल र प्रदीप नेपालहरु नै हुन् । माधव नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीका बीचमा कसलाई नेता बनाउने भनेर प्रष्टरुपमा आफूलाई समन्वयकारी बनाउने पनि यिनै नेताहरु हुन् जसलाई अर्का नेता वामदेव गौतमले हक्की भएर आफूलाई प्रस्तुत गरेकै छन् । ईश्वर पोखरेल अहिले उपप्रधानमन्त्री हुनुहुन्छ र टुलुटुलु आफूले बनाएको एमाले विघटन भएको खपिरहनु भएको छ, त्यो पनि सैद्धान्तिक विचलनको विष पिउँदै । अनि प्रदीप नेपाल जस्ता बुझ्झकी नेता अर्ती उपदेश दिनेमा पर्नु भएको छ किनभने माओबादीको हैकम चलाउने गरी सत्ता स्वार्थको रोटी पाकिरहेको छ र पुराना एमालेहरु अलमल्लमा परेका देखिन्छन् । न विद्रोह गरेर पुरानै अवस्थामा फर्कन सक्छन् , न त अहिलेको अवस्थामा परिवर्तन गर्ने हैसियत राख्छन् ।

प्रचण्ड बहुमतको सत्ताधारी दल भएकाले नेकपाको झगडा र मिलनमा नेपालको राजनीति जोडिएको हुन्छ । पानी र तेलको स्वभावका दुई दलहरुका बीचमा एकता भएको मानिए पनि वास्तवमा हुन सकेको छैन । भएको रहेनछ । भए त साह्रै राम्रो । सत्ता सञ्चालन राम्रोसँग हुन नसक्नुमा आधारभूत रुपमै आपसमा जाने बाटो थाहा नभएर नै हुन सक्छ । सैद्धान्तिक विचलन पनि हुनसक्छ र मुलुकको तत्कालीन अवस्थाका वारेमा भ्रमपूर्ण विश्लेषण राखेर बसेको पनि हुनसक्छ ।

तत्कालीन एमाले र माओबादी केन्द्रको सम्पूर्ण ध्यान अहिले सत्ताको भागबन्डामा केन्द्रित छ । हुनुपथ्र्यो , कसरी रुपान्तरित राज्य व्यवस्थालाई दिगोरुपमा नेपाली समाजमा पुर्‍याउने ? नेपाली काँग्रेसलाई गाली गरेर मात्रै नेपालमा कम्युनिस्टहरुले प्रजातन्त्रको भारी बोकेर लैजान सक्दैनन् । समानता र प्रजातन्त्रको अन्तर्घुलन आवश्यक छ । सामाजिक न्याय मुखले दिएर मात्र जनताले पाउँदैनन्, त्यसका लागि समुचित योजनाबद्ध कार्यान्वयनको खाका आवश्यक पर्छ । जनताका लागि समानताको सिद्धान्तभन्दा व्यावहारिकरुपमा कार्यान्वयन भएको आवश्यक पर्छ ।

सम्भवतः दुई दलको अस्तित्व यथावत भएर पनि होला, सकस बढेको छ । एकतालाई नारामा भन्दा योजना र कार्यान्वयन चरणमा आवश्यक छ । कम्तीमा पनि साम्यवादी सोचभन्दा सामाजिक प्रजातन्त्रप्रतिको सोचले डोर्‍याउन सकेमा मात्र एकता वास्तविकतामा आधारित होला, नत्र यो आफैँमा छिन्न भिन्न हुन सक्ने खतराबाट धेरै टाढा छैन । आपसमा अन्तर्घुलन त झन कता हो कता । जतिसक्यो छिटो आपसमा सहजता स्वीकार्य हुन्छ, त्यति छिटो एकता प्रक्रिया टुङ्गिने छ । तर सिद्धान्तमा प्रष्ट हुनैपर्छ र पुरानो माओबादीमा प्रजातन्त्रप्रतिको आस्था पुरानो एमालेमा जस्तै हुनु अनिवार्य छ । सायद यिनै कारणहरुले होला एकता प्रक्रियाको अन्तिम चरणको काम अड्किएको कि ?

इमेज खबर ;

प्रतिक्रिया दिनुहोस