आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कालीगण्डकी डाइभर्सन आयोजनामा किचलो : प्रदेश सरकार नै विरोधमा

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) ६१० पाठक संख्या

काठमाडौं(जिल्ला ब्यूरो)साउन, २५ : रुपन्देही र कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना विवादित बनेको छ ।गण्डकी प्रदेश सरकारसँगै पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका जनता पनि डाइभर्सनको विरोधमा उत्रिएपछि आयोजना विवादमा परेको हो ।

२०७३ सालमा कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत् तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिँचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो ।झण्डै ४० अर्ब रुपैयाँ लागतको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।

नदीको प्राकृतिक बहावलाई मोडेर अर्कैतिर लैजाने भनिएपछि कालीगण्डकी आसपासका स्थानीयले विरोध जनाउँदै आएका छन् ।आयोजनाले रुपन्देही र कपिलवस्तुको ठूलो भूभाग सिँचाइ गर्ने उद्देश्य राखेका कारण सो क्षेत्रका स्थानीय भने निकै उत्साहित छन् ।

उक्त आयोजना जुनसुकै हालतमा सम्पन्न गरिने तत्कालीन अर्थमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले दाबी गर्दै आएका छन् ।

गत मंगलबार पनि गृहजिल्ला रुपन्देही पुगेर उनले देखिएका अवरोध हटाएर आयोजना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न छुटाएनन् ।आयोजनाको विपक्षमा गण्डकी प्रदेश खरो विरोधमा उत्रिँदै आएको छ ।असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएरै छाड्ने उनको दृढताप्रति भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खण्डन गरेका छन् ।

कालीगण्डकी नदी प्रदेश ५ मात्र नभएर गण्डकी प्रदेशसँग पनि जोडिएको हुँदा दुवै प्रदेशको सहमति चाहिने उनको तर्क छ ।कालीगण्डकी फगत नदी मात्र नभई यो धर्म, संस्कार, आस्था र विश्वाससँग पनि जोडिएकाले यसलाई परिवर्तन गर्न नहुने तर्क उठिरहेको छ ।साथसाथै यो आयोजनाले नेपालको भन्दा पनि भारतीय भूमि सिञ्चित हुन सहज हुने र स्याङ्जा, तनहुँ र नवलपुरलगायतका जिल्ला मरुभूमि हुने भन्दै विरोध भएको हो ।

यस्ता दीर्घकालीन रुपमा प्रभाव पार्ने आयोजनाको निर्माणबाट एकपक्षीय नभई सकेसम्म अधिकतम हित खोजिनुपर्छ ।समग्र पक्षको प्रभाव विचारै नगरी प्रादेशिक चिन्तन बोकेर उचित कुराको पनि विरोध र नाजायज कामको समर्थनमा उत्रिइहाल्नु सबैका लागि घातक हुन सक्छ ।

इमेजखबर;

प्रतिक्रिया दिनुहोस