आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नियमावली कार्यान्वयनमा ध्यानाकर्षण

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) ३६६ पाठक संख्या

काठमाडौं ,साउन २६ : प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि सांसदहरुले संसदलाई ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभा बैठकको शुन्य र विशेष समयमा सांसदले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगनकुमार थापाले शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो । विगतमा शुन्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे उहाँले ‘नियमको कार्यान्वयन किन नभएको ?’ भन्दै सभामुखलाई प्रश्न गर्नुभयो ।

त्यस्तै, शुन्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृतादेवी अग्रहरिले कपिलवस्तुमा किसानले मलखाद र पानीको ठुलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिँचाइको तत्काल व्यवस्था गर्न माग गर्नुभयो । उहाँले यसबारे पटकपटक कुरा उठाउँदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्दे कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवनभित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद खगराज अधिकारीले कालीगण्डकीको डायभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भन्दै, चापाकोट रामपुर लगायतका टार सिँचाइ हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज सञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गांभिर्यतातर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेशकुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुरकोट–घुर्मी सडकखण्डमा दोहोरो यातायात सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस