आज:  २०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा स्कुल विभाग प्रमुखमा ८ नेताको दाबी, सचिवालय बैठक सर्‍यो

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ३२४ पाठक संख्या

काठमाडौं , साउन २८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले मंगलबार बस्ने भनिएको बैठक बुधबार सरेको हो ।

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन् ।

सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार हुने महासचिव पौडेलले बताएका छन् । स्थायी कमिटी सदस्यहरुलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरुलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह-इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् । पौडेलले सो सुझाव अध्यक्षद्वय ओली र प्रचण्डलाई सुनाइदिएका छन् ।
यो पनि पढ्नुहोस

सचिवालयका नेतालाई विभागीय जिम्मेवारी नदिन नेकपामा दबाव
ती जनसंगठनका संयोजकहरु पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय तहसम्मका नेताहरु रहेकाले इञ्चार्ज माथिल्लो तहबाट पठाउनुपर्ने बाध्यतासमेत छ । नेकपा स्रोतका अनुसार संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी कमिटी सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ ।

विशेष गरी केन्द्रीय सचिवालय सदस्य प्रमुख रहेका विभागमा स्थायी कमिटी सदस्यलाई उपप्रमुख बनाउन सकिने नेकपा स्रोतले जनाएको छ । तर बेदुराम भुसाल, टोपबहादुर रायमाझीलगायतका धेरै स्थायी कमिटी सदस्यहरुले सचिवालय सदस्यलाई विभागको जिम्मेवारीमा सीमित नगर्न सुझाव दिएका छन् ।

स्कुल विभागमा ८ को दाबी

यसैबीच नेकपामा स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरुको संख्या बढेको छ । यसअघि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबीका कारण टुंगिन नसकेको सो विभागमा झलनाथ खनालले पनि दाबी गरेका थिए । उनले आफूलाई स्कुल विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

यता स्थायी कमिटीमा पनि करिब आधा दर्जन नेताहरुले स्कुल विभाग प्रमुखमा दाबी गरेका छन् । महासचिव पौडेलले संकलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा रुचि देखाएका हुन् ।

यीमध्ये युवराज ज्ञवाली र बेदुराम भुसाल यसअघि नै तत्कालीन एमालेमा स्कुल विभाग प्रमुख भइसकेका नेता हुन् भने घनश्याम भुसाल तत्कालीन एमालेको स्कुल विभाग उपप्रमुख भइसकेका हुन् । माओवादीमा स्कुल विभागको अभ्यास नभए पनि कार्की र पौडेल वैचारिक नेता मानिन्छन् ।

ओलीले थाले परामर्श

पार्टीमा विभाग प्रमुखहरुको टुंगो लगाउनुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग परामर्श थालेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, महासचिव विष्णु पौडेल र बामदेव गौतमलगायतका नेताहरुसँग ओलीले परामर्श थालेको बताइएको छ ।

विभाग प्रमुख र अन्य कार्य विभाजन टुंगो लगाउनुअघि पोलिटब्युरो गठन गर्न माधव नेपाल पक्षले अध्यक्षद्वय ओली र प्रचण्डलाई दबाव दिएको छ । पोलिटव्युरो गठनपछि मात्र पार्टीमा कार्यविभाजन गर्दा वरिष्ठता कायम हुने भएकाले यो माग गरिएको नेपालनिकट एक नेताले बताए ।

दुवै अध्यक्षले मंगलबार दिनभर आन्तरिक छलफल गरेपछि बुधवार सचिवालय बैठकले जिम्मेवारी बाँडफाँट टुंगो लगाउने छ । नेकपाले राजधानी विशेष प्रदेश कमिटी र प्रवास कमिटीसमेत गठन गर्ने भएको छ ।
अनलाइनखबर

प्रतिक्रिया दिनुहोस