आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकै वर्ष ७ राष्ट्रियस्तरका सर्वेक्षणको तयारी

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) २४९ पाठक संख्या

काठमाडौं ,साउन २८ : सरकारले एकै वर्षमा विभिन्न शीर्षकमा राष्ट्रियस्तरका ७ वटा सर्वेक्षण गर्ने भएको छ । योजना तथा तथ्यांकका लागि मात्र सरकारले १ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।चालु आर्थिक वर्ष २०७६/७७ मा आर्थिक तथा सामाजिक तथ्यांक विकास कार्यक्रमलाई प्राथमिकता दिने सरकारको योजना अनुसार यी सर्वेक्षण गर्न लागिएका हुन् ।

सरोकारवाला मन्त्रालय, निकाय, विभाग लगायतको सहयोगमा राष्ट्रिय स्तरका सर्वेक्षणहरु गरिने राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ । यसबाहेक आयोग मातहतको केन्द्रीय तथ्यांक विभागले सर्वेक्षणको नेतृत्व गर्ने भएको छ ।‘यो वर्ष हामी महत्वपूर्ण सर्वेक्षणहरुमा व्यस्त हुँदैछौं,’ विभागमा महानिर्देशक सुमनराज अर्यालले भने, ‘क्रमशः तयारी सुरु गरिसकेका छौं ।’

यस वर्ष हुने सर्वेक्षण

यस वर्ष हुने सर्वेहरुमा नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे (चौथो), नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर्स सर्वे (तेस्रो), आन्तरिक पर्यटन सर्वे, वेस्ट म्यानेजमेन्ट वेसलाइन सर्वे, ग्रस हेप्पीनेश सर्वे २०७६, इन्डष्ट्रियल सर्वे २०७६ र एग्रीकल्चर इन्टरग्रेटेड सर्वे छन् ।

खुशी र पर्यटनको सर्वे

‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लिएको सरकारले सुख निर्माणको आधार खोज्ने पनि तयारी गरिरहेको छ । त्यसका लागि पहिलोपटक नेपालमा ‘ग्रस हेप्पीनेस सर्वे २०७६’ हुनेछ । ‘सुखको निर्माणका लागि खुसीको आवश्यकता पर्छ । त्यसका आधार के हुन् भन्नेबारे हामी सर्वेक्षण गर्दैछौं,’ अर्यालले भने, ‘त्यसका लागि तयारी गरिरहेका छौं ।’

त्यसैगरी सरकारले आन्तरिक पर्यटक सर्वेक्षण यसै वर्ष गर्दैछ । राष्ट्रिय योजना आयोगको ‘अर्काइभ’मा रहने गरी विभिन्न निकायको सहयोगमा आन्तरिक पर्यटक सर्वेक्षण गर्न लागिएको हो । ‘यसमा मूख्य काम पर्यटन बोर्डले गर्नेछ,’ अर्यालले भने, ‘हामी प्राविधिक सहयोग गर्छौं ।’ यसबाट पर्यटनमा नेपालको वास्तविक क्षमताको आंकलन हुने आयोगको विश्वास छ ।

सरकारले १५ औं योजनाको अन्त्यसम्म वार्षिक ३५ लाख पर्यटक नेपाल आउने आंकलन गरेको छ । निजी क्षेत्रले लामो समयदेखि आन्तरिक पर्यटकको गणनाको माग गर्दै आएको छ ।

कृषिको एकीकृत तथ्यांक खोजिँदै

यस वर्ष सरकारले कृषिको एकीकृत तथ्यांक खोज्ने भएको छ । कृषिका बहुआयामिक क्षेत्रको तथ्यांक खोजी गर्ने विभागले जनाएको छ । कृषिमा क्षेत्रगत रुपमा भने सर्वेक्षण भइरहेको छ ।

केही समय पहिले विभागले कफी खेतीबारे सर्वेक्षण गरेको थियो । कृषिका केही तथ्यांक आर्थिक सर्वेक्षणमा समेत समटिएका छन् ।

राष्ट्रिय जनगणनाको तयारी

यस वर्ष सरकारले राष्ट्रिय जनगणनाको आधार तयार पार्दैछ । त्यसका लागि पाइलट जनगणना समेत हुने भएको छ । यसवर्ष इटा भट्टा सर्वेक्षणको नतिजा सार्वजनिक हुदैछ भने राष्ट्रिय आर्थिक गणनामा आधारित भएर वस्तु उत्पादन गर्ने क्षेत्रहरुको एकिकृत औद्योगिक गणना तथा सर्वेक्षणको तयारीमा समेत सरकार रहेको छ।
अनलाइन ;

प्रतिक्रिया दिनुहोस