आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिवनगर स्वास्थ्य चौकीमा एक्स–रे मेसिन प्रयोगविहीन,भरतपुर धाउँदै बिरामी

AuthorAP Khabar२०७६ श्रावण २९, बुधबार (४ साल अघि) ५३३ पाठक संख्या

चितवन,साउन २९ : भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरको प्राथमिक स्वास्थ्य चौकीमा ल्याइएको नयाँ एक्स–रे मेसिन प्रयोग विहीन भएको छ । दुई वर्षअघि विमा कार्यक्रमबाट आएको एक्स–रे मेसिन चलाउने प्राविधिक नहुँदा एक पटक पनि सुचारु नभई प्रयोग विहीन बनेको हो । एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफरको दरबन्दी नहुँदा मेसिन सञ्चालनमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य चौकीका सिनियर अहेव हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

‘एक्स–रे मेसिन आएको दुई वर्ष भयो । चलाउने प्राविधिक नभएर त्यतिकै छ,’ न्यौपानेले भने, ‘सरकारले नै यो सञ्चालनका लागि दरबन्दि नदिँदा समस्या भएको हो ।’ यो एक्स–रे सञ्चालन गर्न भनेर शिवनगर प्राथमिक स्वास्थ्य चौकी विकास समितिले एक जनालाई तालिम लिन पठाएको थियो । तर, यो एक्स–रे मेसिन पुरानो मोडलको हुँदा सञ्चालन गर्न समस्या भएको उनले बताए । यो मेसिनलाई १० लाख रुपैयाँ परे पनि उपयोग हुन नसक्दा आफुलाई दुःख लागेको उनको भनाई छ ।

यस प्राथमिक स्वास्थ्य चौकीमा नयाँ मेसिन ल्याउन भन्दा अघि पनि एक्स–रे मेसिन थियो । तीन वर्ष अघिसम्म एक जना अहेवले तालिम लिएर एक्स–रे मेसिन चलाउने गर्दथे । तर, उनी सरुवा भएपछि एक्स–रे को काम नभएको न्यौपानेले बताए । स्थानीय तहले एक्स–रे मेसिन सञ्चालनका लागि कुनै पहल नथालेको उनको भनाई छ ।

यहाँबाट बिरामीले तीन वर्ष अघि एक्स–रे सेवा प्राप्त गर्दै आएका थिए । तर, पछिल्लो समयमा प्राविधिक नहुँदा दुवै मेसिन सञ्चालनमा नआएको भरतपुर–२ का वडाध्यक्ष ओमप्रकाश पौडेलले जाकारी दिए । ‘यहाँ रेडियो ग्राफरको दरबन्दी छैन । तलब खुवाउनको लागि स्रोत पहिचान गर्न सकेनौँ’, शिवनगर प्राथमिक स्वास्थ्य चौकी विसकास समितिका अध्यक्ष समेत रहेका पौडेलले भने, ‘६ वर्ष अघि सञ्चालन गरेको एक्स–रे सेवा पनि अहिले आएर चलाउन सकेनौ ।’

पुरानो मेसिन पनि सञ्चालन नहुँदा बिग्रन लागेको उनले बताए । ‘यो चाईनिज प्रविधिको एक्से–रे रहेछ । यसलाई सञ्चानल गर्न ३० देखि ४० हजार रुपैयाँ लाग्दो रहेछ,’ उनले भने, ‘स्वास्थ्य चौकीको बिजुलीको पैसा तिर्न समेत हामीसंग पैसा हुँदैन । कसरी यो सेवा दिने ।’ वडाले यसका लागि भरतपुर महानगरपालिका प्रमुख, प्रशासकीय अधिकृतलाई पनि जानकारी दिएको उनले बताए ।

यहाँबाट फूलबारी, पार्वतीपुर, गीतानगर, पटिहानीसम्मका बिरामीले सेवा लिदै आएका छन् । तर, एक्स–रे समेत सञ्चालन हुन नसक्दा बिरामीहरु भरतपुर आउन बाध्य भएका छन् । ‘हामीलाई अन्य सेवा त राम्रै छ । विगतमा नभएको ईसिजि सेवा पनि हामीले पाएका छौँ,’ स्वास्थ्य जाँच गराउन पुगेकी शिवनगरकी सीता चापागाईले भनिन्, ‘विगतमा लिँदै आएको एक्स–रे सेवा नपाएर भरतपुर जानु परेको छ ।’ अस्पतालको रुपमा बढुवा हुन लागेको यस प्राथमिक स्वास्थ्य चौकीमा दैनिक एक सय ३० जना भन्दा बढी बिरामी आउने गर्दछन् । उनीहरुलाई एक्स–रे सेवा लिनका लागि बाहिर पठाउने गरिएको प्राथमिक स्वास्थ्य चौकीका प्रमुख विभेकराज पौडेलले जानकारी दिए ।

यहाँबाट ईसिजी सेवा, खकार परीक्षण, मलेरिया, टिबि, कुष्टरोग, दिसा, पिसाब तथा सामान्य किसिमका रक्तपरीक्षण समेत गर्ने गरिएको छ ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस