आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैंकरपछि मात्र कलाकार हुँ : शिवहरि पौड्याल

AuthorAP Khabar२०७६ श्रावण ३१, शुक्रबार (४ साल अघि) ४५८ पाठक संख्या

साउन, ३१ : हास्यकलाकार शिवहरि पौड्यालको अर्को परिचय पनि छ, पूर्वबैंकरको । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जिरे खुर्सानी’ टेलिचलचित्रबाट ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ थेगोबाट परिचित छन्, उनी । कलाकारिता र बैंकिङ करिअरको दुई फरक पाटोबारे उनले नयाँ पत्रिकासँग यसरी अनुभव साटे :

बैंकमा जागिर खान थालेको करिब दुई वर्षपछि मात्र म कलाकार बनेको हुँ । ०४१ सालमा सुरु गरेको नेपाल राष्ट्र बैंकको जागिरबाट ३० वर्ष सेवा अवधि पु-याएर ०७१ सालमा रिटायर्ड भएँ । राष्ट्र बैंकको ‘असिस्टेन्ट’बाट सुरु भएको करिअर डेपुटी डाइरेक्टरसम्म पुगेर टुंगियो ।

राति सुटिङ दिनभर अफिस
कलाकारिता र बैकिङ नितान्त फरक क्षेत्र हुन् । म दुवै क्षेत्रमा भएपछि एकले अर्कोलाई असर त पाथ्र्यो नै । त्यतिवेला बिहान पाटन क्याम्पस पढ्थेँ, दिउँसो अफिस जान्थेँ । क्याम्पस सकिएपछि बिहान ९ बजेसम्म, बेलुका ५ बजेपछि रातभरि र शनिबार पनि सुटिङमा व्यस्त रहन्थेँ । अरू दिन सुटिङ गर्नुप-यो भने अफिसको बिदा प्रयोग गर्थें ।

त्यतिवेला भोक र निद्रा दुवै गायब हुन्थ्यो । ‘इन्डोर सुटिङ’ भएका वेला छर्लंगै रात बित्थ्यो । बिहान ६ बजे घरमा गएर एक–डेढ घन्टा सुतेर हतारमा अफिस पुग्थेँ । त्यसकै असर होला, अहिले पनि ३–४ घन्टाभन्दा बढी निद्रा लाग्दैन । सारै गाह्रो हुँदै जागिरमा तीन दशक बिताएँ ।
किसानको छोरो म
थप ६ महिना जागिरमा रहन पाएको भए प्रथम श्रेणीको अधिकृत हुन्थेँ । तर, एक तह बढुवा हुन नपाएकोमा मलाई पछुतो छैन । कलाकारिताबाट दर्शकमाझ परिचित भएँ । बाराको अमलेखगन्जमा जन्मेको एउटा सामान्य किसानको छोरो हुँ, म । सात कक्षासम्म त्यहीँ पढेँ । माध्यमिक तह हेटौँडामा पढेपछि उच्च शिक्षा पाटन क्याम्पसमा लिएँ । कानुनको कक्षा पनि लिन्थेँ, तर सुटिङका कारण परीक्षा दिन पाइनँ । किनकि, त्यतिवेला नाम र पैसाको खाँचो थियो ।

कलाकारिताले बैंकिङलाई छोपिदियो
कलाकार व्यक्तित्वले बैंकरको परिचयलाई छायामा पार्‍यो । अफिसमा आउने मान्छेले ‘ओेहो मुखाँ हान्नुजस्तो पनि आउनुभएको रहेछ’ भन्थे । आफ्नो कार्यकक्षमा देख्दा ‘सर त मुखाँ हान्नुजस्तो होइन ?’ भन्ने गर्थे । त्यतिवेला बैंकरको परिचयलाई कलाकारिताले छोपिदिएजस्तो लाग्थ्यो । कर्मचारी साथीहरूमाझ पनि कलाकारकै रूपमा प्रिय थिएँ ।

अफिसमा पनि अभिनय
अफिसमा आफूभन्दा वरिष्ठ सरहरूले मलाई अभिनय गर्न वा थेगो बोल्न आग्रह गर्नुहुन्थ्यो । उहाँहरूको आग्रह स्विकार्थें । मेरो कारणले पनि कहिलेकाहीँ अफिसको माहोल रमाइलो हुन्थ्यो । आफूसरहका सहकर्मीले पनि जिस्क्याइरहन्थे ।

रुचि गायनमा
मेरो पहिलो रुचि गायन थियो । स्कुलमा पनि गीत गाउँथेँ । रेडियो नेपालमा आधुनिक गीतमा स्वर परीक्षा पनि दिएँ । तर, लोकगीतमा परीक्षा दिनु भनेपछि त्यस विधामा ‘ग’ श्रेणीको प्रमाणपत्र लिएँ । केही लोकगीत पनि रेकर्ड गरेँ । तर, बिस्तारै अभिनयले लोकगायनको इच्छालाई विस्थापित गरिदियो । २–४ वटा गीत गाउने रहर भने अझै छ ।

नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस