आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुलका पिलर हेर्दै डुंंगा चढेर मोहना नदी वारपार

AuthorAP Khabar२०७६ श्रावण ३२, शनिबार (४ साल अघि) २८० पाठक संख्या

साउन ,३२ : दुई वर्षभित्र सक्ने गरी ०७१ असारमा एलाइट एडभेन्चर जेभीले धनगढी चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीमा पुल बनाउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म पुलका खम्बा मात्रै ठडिएका छन् । दुईपटक थपिएको अवधिमा पनि काम सम्पन्न हुन सकेको छैन । सात करोड ४२ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको ठेकेदार कम्पनीले पुल नबनाइकन हालसम्म चार करोड नौ लाख ८१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।

पुलका लागि बनाइएका पिलरमुनि निजी डुंगा चल्छन्
धनगढी चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । दुई वर्षभित्र सक्ने गरी ०७१ सालमा निर्माण सम्झौता भएकोमा पाँच वर्ष बित्दा पनि करिब आधा काम बाँकी छ । निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीय बासिन्दा भने पैसा तिरेर डुंगाबाट नदी तर्न बाध्य छन् ।

कृष्णपुर नगरपालिका–९, राजधाट, पिपरी, चपरतल्लालगायत गाउँका स्थानीय किनमेल, अध्ययनलगायत कामका लागि नजिक पर्ने धनगढी बजार आउँछन् । दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल छैन । वर्षायाममा उनीहरू डुंगा चढेर नदी वारपार गर्छन् । ‘पुलका खम्बा हेर्दै डुंंगा चढेर नदी पार गर्नुपर्छ,’ राजघाटका स्थानीय शम्भु चौधरीले भने, ‘पुल बन्ने त कहिले हो कहिले ।’ पुलका लागि बनाइएका पिलरमुनि भएर निजी डुंगा चल्छ । डुंगाबाट नदी पार गरेबापत स्थानीयले प्रतिव्यक्ति १० रुपैयाँ र मोटरसाइकलसहित भए ३० रुपैयाँ तिर्ने गर्छन् ।

नदीमा बाढीको सतह बढेका दिन डुंगा चल्दैन, आवतजावत बन्द हुन्छ । दूध, तरकारी आदि बेच्न, उपभोग्य सामान किन्न, बैकिङ कारोबार, रोजगारी तथा औषधि उपचारलगायत कामका लागि दैनिक चार–पाँच सयजनाभन्दा बढी राजघाट क्षेत्रका स्थानीय धनगढी आउने गरेका कृष्णपुर–९, का वडाध्यक्ष छत्रबहादुर महराले बताए ।

‘मानवीय जीवनमा आवश्यकता पर्ने ८० प्रतिशत कारोबार यहाँका बासिन्दाको धनगढीमै हुन्छ,’ महराले भने, ‘वारिपारि भए पनि नदीमा पुल नहुँदा धनगढी पुग्न भने सास्ती खेप्नुपर्छ ।’ धनगढीबाट राजघाट करिब पाँच किलोमिटरको दूरीमा भए पनि पुल र स्तरीय सडक नहुँदा विकट रहेको उनले बताए ।

निजी पुल तरेको पैसा तिर्नुपर्छ
पुल निर्माण भइरहेको स्थानबाट दुई किलोमिटर उत्तरतिर काठको पुल बनाइएको छ । निजी पुल भएकाले वारपार गर्दा पैसा तिर्नुपर्छ । काठेपुल पुग्न घुमेर जानुपर्ने भएकाले धेरैजसोले डुंगा प्रयोग गर्ने स्थानीयको भनाइ छ । क्याम्पस तथा विद्यालय अध्ययनका लागि पनि विद्यार्थीहरू धनगढी आउने गर्छन् । धनगढीको सिटी स्कुलमा कक्षा ६ मा अध्ययनरत राजघाटका पवन महराले डुंगाबाट नदी तर्दा अफ्ठेरो हुने गरेको बताए ।

दुई वर्षभित्र सक्ने गरी ०७१ सालमा पुल निर्माण सम्झौता भए पनि पाँच वर्ष बित्दा अझै आधा काम बाँकी

‘नदीमा बाढी बढेको दिन डुंगा नचल्ने हुँदा विद्यालय जान समस्या हुन्छ,’ उनले भने, ‘वर्षा बढी भएको दिन विद्यालय जाँदैनौँ ।’ धनगढीमै भएकै वेला बाढी आए वारि थुनिने गरेको उनले बताए । विद्यार्थीलाई भने डुंगा तरेको शुल्क लिइँदैन । महराका अनुसार वडा नम्बर ९ का पूरै बासिन्दा र वडा नम्बर ८ का केही घरधुरीको किनमेल, कारोबारलगायत काम धनगढीमा हुन्छ । ०६८ को जनगणनाअनुसार वडा नम्बर ९ मा मात्रै ६ हजार जनसंख्या छ । हिउँदमा नदीमा पानीको सतह घट्दा राखिने काठे पुलबाट नदी तर्दा पनि शुल्क तिर्नुपर्ने अध्यक्ष महराले जनाए ।

दुईपटक म्याद थप्दा पनि पुल बनेन
०७१ असारमा दुई वर्षभित्र सक्ने गरी एलाइट एडभेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । त्यसयता दुईपटक थपिएको अवधिमा पनि काम सम्पन्न हुन सकेको छैन । पुलका तीनवटा स्पानमध्ये हालसम्म एउटाको मात्रै ढलान भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन बमले जानकारी दिए । पछिल्लोपटक थपिएको अवधि असार मसान्तमा सकिएको छ । ‘५५–६० प्रतिशत जति मात्र काम भएको छ,’ डिभिजन प्रमुख बमले भने, ‘पुनः म्याद थप भएको छैन, थपिँदैन ।’

निर्धारित अवधिमा पुलको पिलर राख्ने काम मात्रै सकिएपछि सडक विभागले निर्माण अवधि दुई वर्ष थपेको थियो । तर, निर्माणले गति लिन सकेन । त्यसपछि थपिएको एक वर्षमा पनि पुल नबनेकाले निर्माण कम्पनीलाई हर्जना तिराउने तयारी भइरहेको डिभिजन प्रमुख बमले जनाए । निर्माण कम्पनीबाट दैनिक ० दशमलव ०५ प्रतिशत हर्जाना तिराएर काम गराउने उनले बताए ।

सडक डिभिजनका अनुसार १२० मिटर लामो पुल सात करोड ४२ लाखमा निर्माण गर्ने सम्झौता थियो । हालसम्म चार करोड नौ लाख ८१ हजार रुपैयाँ भुक्तानी दिइएको छ । निर्माण कम्पनीले विभिन्न कारण देखाएर काम गर्न नसकेको बहाना गर्दै आएको सडक डिभिजनले जनाएको छ ।

नयापत्रिका;

प्रतिक्रिया दिनुहोस