आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवेकशील साझाकी प्रदेश ३ संयोजकमाथि कारवाही सिफारिस

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५०५ पाठक संख्या

काठमाडौं , मंसिर २७ : विवेकशील साझा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटामाथि अनुशासन विपरीत आचरण गरेको भन्दै आन्तरिक कारवाही सिफारिस गरिएको छ ।

केन्द्रीय सदस्य किशोर थापा प्रमुख रहेको पार्टीको स्वायत्त न्याय तथा सुशासन आयोगले गत श्रावण १८ र १९ गतेका घटनामाथि गरेको अनुसन्धानपछि दिएको प्रतिवेदनमा उनीमाथि कारवाही सिफारिस गरिएको हो ।

श्रावण १८ गते पार्टीको बखुन्डोलस्थित मुख्यालयको गेटमा केही पुरुष साथीहरुले गीत गाएर बास्कोटालाई हेर्दै हाँसेर अमर्यादित व्यवहार गरिएको विषयमा आयोगले पहिलो छानबिन गरेको थियो । छानबिनमा दावी गरिएअनुसार अमर्यादित घटना भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, सो दिनको सीसीटीभी फुटेज भने आयोगलाई प्राप्त भएको थिएन ।

पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य थापाको उपस्थितिमा असन्तुष्ट समूहसँग भएको छलफलमा बास्कोटा बिना अनुमति प्रवेश गरेको र आक्रोशित मुद्रामा अभिव्यक्ति दिएको भन्ने विषयमा छानिबिन गरिएको थियो । यसमा बास्कोटालाई आयोगले दोषी ठहर गरेको छ । ‘उहाँमा पार्टीका मूल्य मान्यता (विनम्रता)को अभाव देखियो,’ प्रतिवेदनमा भनिएको छ ।

‘बानेश्वर घटनाले पार्टीको छवि बिग्रियो’

गत श्रावण १९ गते बानेश्वर ब्याङ्क्वेटमा भएको प्रदेश ३ का जिल्ला संयोजक घोषणा कार्यक्रममा असन्तुष्ट समूहले बबाल गरेका थिए । यसको भिडियो भाइरल बनेको थियो । यो घटनाले पार्टीको छवि धुमिल बनाएको आयोगले निश्कर्ष निकालेको छ ।

यस घटनामा पनि प्रदेश ३ संयोजक बास्कोटामाथि मुख्य दोष थोपरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘उहाँ (बास्कोटा)को भाषण असन्तुष्ट साथीहरुलाई अझै आक्रोशित बनाउने परिस्थिति प्रतिकुल, उत्तेजना फैलाउने, असान्दर्भिक र समाधानमुखी नभएको देखियो ।’

यसैगरी पार्टी संयोजक रवीन्द्र मिश्रले क्षेत्राधिकार बाहिर गएर कार्यक्रम समापन घोषणा गरेको प्रतिवेदनमा उल्लेख छ । तर, वानेश्वर घटनाको जिम्मेवारी प्रदेश ३ संयोजक बास्कोटाले लिनुपर्ने र उनले क्षमायाचना गर्नुपर्ने भनिएको छ । उनले क्षमायाचना आधिकारिक फेसबुक समूहमा राख्नुपर्ने भनिएको छ । बैकल्पिक राजनीति र नेतृत्वकलासम्वन्धी बन्द प्रशिक्षणमा बस्नुपर्ने छ ।

कारवाहीको चौंथो बुँदामा बास्कोटालाई घटनामा संलग्न सबै व्यक्तिहरुलाई बोलाएर ब्रेकफास्ट, लन्च, डिनर वा चियापान आयोजना गर्न र त्यसको जानकारी आयोगलाई दिन भनिएको छ ।

आयोगले पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्ववल थापालाई बास्कोटाको नेतृत्व क्षमता, कार्यकुशलताको र राजनीतिक सोचको पुनमूल्यांकन गर्न अनुरोधसमेत गरेको छ ।

पार्टीका अन्य केही कार्यकर्ताहरुमाथि पनि कारवाही सिफारिस भएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस