प्रधानमन्त्री ओली र नेपालबीच चर्काचर्की, स्विकारेनन् स्वास्थ्यलाभको कामना

18

काठमाडौँ भाद्र , ६ : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठक ‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरू विषयले प्रवेश नै पाउन सकेन ।सहभागी एक नेताका अनुसार संवाद यतिसम्म ‘तल’ पुग्यो कि नेता नेपालले ‘स्वास्थ्यलाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईंको स्वास्थ्यलाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

पार्टीका गत शुक्रबार र आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए । बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरूबीच उत्पन्न तरंगले प्रवेश पायो । नेता नेपालले आफूमाथि लाञ्छित गर्दै फेसबुकमा लेख्ने सांसद तथा हालै प्रेस संगठनको इन्चार्ज घोषणा गरिएका नेता राजेन्द्र गौतमको प्रसंग झिके ।

उनले ‘जे पायो त्यही लेखेको’ भन्दै गौतमलाई कारबाही गर्नुपर्ने धारणा राखे । त्यो कुरा ओलीलाई चित्त बुझेन । ओलीले नेपाललाई ‘तपाईंले पनि बुधबार पत्रिकालाई प्रयोग गरेर के–के लेखाउनुभएछ’ भन्दै सातबुँदे असहमतिपत्रमा आपत्ति जनाए । ‘तपाईँचाहि जे पायो त्यही कुरा पत्रिकामा छपाउँदै हिँड्न मिल्ने, अनि अरूले चाहिँ केही लेखे भनेर कारबाही गर्नुपर्ने ?’ भन्दै उल्टै नेपालमाथि ओली खनिए । त्यसपछि माहौल तात्दै गयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...