आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गाईखुरे झरनामा क्यान्योनिङ महोत्सव

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ४४४ पाठक संख्या

 भाद्र , ७ : छंगाछुरको छहरा लामो डोरी, रातो हेलमेट, पिठ्युँमा सुरक्षा र कम्मरमा सुरक्षापेटी (हार्नेस) बाँधेकी बेँसीसहरकी सबनम तामाङ एक सय २० मिटर लामो गाईखुरे झरनाबाट झर्दै गर्दा उत्साहित देखिन्थिन् । झरनाको फेदीमा रहेका स्थानीय बासिन्दा हेरेर एकोहोरिए ।सबनमलाई पछ्याउँदै बुद्धि लामा, बुद्धराज गुरुङ, श्याम लामा, विवेक पाण्डे, सुमन ढकाल, नवीन भट्टराई र सान श्रेष्ठ पानीको फोहरासँग लहरिँदै तल झरे । चिप्लो छहरामा चिप्लँदै, पानीसँग लहरिँदै झरिरहेका उनीहरूलाई देखेर दर्शक दंग थिए ।

गाईखुरे झरना वर्षात्मा मात्रै ठूलो हुन्छ । यही मौका छोपेर वातावरण सुधार तथा विकास अभियान र लमजुङ टेलिभिजनले क्यान्योनिङ महोत्सवको आयोजना गरेको छ । दुईदिने महोत्सवको पहिलो दिन शुक्रबार आठजनाकोे समूहले क्यान्योनिङ गरेको अध्यक्ष ऋषिराम बस्नेतले बताए । शनिबार थप ३५ जनाले क्यान्योनिङको मज्जा लिनेछन् । बेँसीसहर नगरपालिकाको सहयोगमा क्यान्योनिङ महोत्सव आयोजना गरिएको लमजुङ टेलिभिजनकी कार्यक्रम संयोजक सुशीला पौडेलले बताइन् ।

क्यान्योनिङ गर्दा निकै रामाइलो महसुस भएको चितवनका सान श्रेष्ठले बताए । १४ वर्षदेखि क्यान्योनिङमै संलग्न राजेश लामा तामाङले व्यावसायिक रूपमा क्यान्योनिङ सञ्चालन गर्न सकिने बताए । यसलाई निरन्तरता दिन सके पर्यटन प्रवद्र्धन हुने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।महोत्सवको अवसरमा गाईखुरे झरनामा क्योनोनिङ गर्न टाढा–टाढाबाट आन्तरिक पर्यटक आएका छन् । चितवन, पोखरा, तनहुँ, गोर्खालगायतका जिल्लाबाट पनि पर्यटक आएको लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठले बताए ।

पछिल्लो समय यो झरना अवलोकन गर्न आउने पर्यटक बढेका छन् । दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । यसलाई व्यवस्थित गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बँेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । लमजुङमा गाईखुरेजस्तै अन्य झरना पनि छन् । अन्नपूर्ण पदमार्गको मध्यभागमा पर्ने ताघ्रिङ–२ मिप्रास्थित स्याँगे झरना क्यान्योनिङका लागि संसारभरि नै प्रसिद्ध रहेको उत्तरी लमजुङ पर्यटन विकास समितिका अध्यक्ष नरबहादुर गुरुङले बताए । उत्तरी लमजुङको हामखोला झरना, राइदु, घोप्टे, च्याम्चे, छहरे, डोँड र तातोपानी खोलामा पनि क्यान्योनिङको मज्जा लिन सकिने उनको भनाइ छ  ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस