पार्टी छाडेपछि माड्साब रुनुभयो

6

भाद्र , ७ : मोबाइलको रिङटोन बज्यो । उठाएँ ।
‘म अरविन्द रिमाल बोलेको हरि !’
म आश्र्चयचकित थिएँ । अग्रज, विद्वान इतिहासकार अरविन्द दाइको झन्डै तीन दशकपछिको त्यो टेलिफोन स्वरले मलाई हौस्यायो । मैले झटपट खुसी हुँदै सोधेँ, ‘दाइ ! म ठीक छु । हजुरको स्वास्थ्य कस्तो छ ?’
दाइले भन्नुभयो, ‘हाल ठीकै छ । अक्टोबर क्रान्तिबारे तिम्रो लेख पढेर आनन्दाभूति महसुुस भयो । धन्यवाद भनौँ भनेर फोन गरेको । मसँग त तिम्रो नम्बर थिएन, माड्साबसँग लिएर गरेको ।’
हलुका डर मिसाउँदै मैले सोधेँ, ‘दाइ ! खोइ
कस्तो भयो ? सर्वहारा वर्गको नाममा सय वर्षअघि सम्पन्न भएको महान् अक्टोबर क्रान्तिको समीक्षा
एउटा गैर–एकेडेमिक एक्टिभिस्टले गर्दा पक्कै कमजोरी भयो होला ।’
होस्याउँदै उहाँले भन्नुभयो, ‘होइन राम्रो भा’छ । तिमीलाई ‘धन्यवाद’ भन्न फोन गरेको । तिम्लाई माड्साबको पनि फोन आउन सक्छ ।’
अन्नपूर्ण पोष्ट दैनिकको ‘फुर्सद’ परिशिष्टांकमा ‘महान् अक्टोबर क्रान्तिः लेनिनदेखि पुटिनसम्म’ शीर्षकमा छापिएको मेरो छोटो आलेखले दाइसँग फेरि जोडिन पुगेँ म ।
‘आऊ न फुर्सद मिलाएर गफ गरौँ,’ अरविन्द
दाइले भन्नुभयो ।
‘दाइ म कोसिस गर्नेछु,’ मैले भनेँ ।
माड्साबको पनि फोन आई पो हाल्छ कि भनेर म सतर्क थिएँ । तर, त्यस दिनभरि फोन आएन । मलाई आफैँ फोन गर्न अलि संकोच लाग्यो ।
केही दिनपछि माड्साबको फोन आयो । छोटो फोनवार्तामा माड्साबले सोध्नुभयो, ‘अरविन्दजीले
फोन गर्नुभयो ?’
‘गर्नुभयो !’
‘घर आउनोस् न, अनुहार हेर्दै बात मारौँ,’ उहाँले प्रस्ताव गर्नुभयो ।
‘कतिवेला आउँदा सहज हुन्छ ?’ मैले सोधेँ
‘दुई बजेतिर, जुनसुकै दिन वा बार आउँदा हुन्छ,’ उहाँले भन्नुभयो ।
यो नोभेम्बर १५, २०१७ को दिन थियो ।
०००
०३७ साल असोजमा पहिलोपटक माड्साबलाई मैले प्रत्यक्ष देखेको थिएँ । नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनको सम्मेलनमा । उहाँले छोटो राजनीतिक मन्तव्य राख्नुभएको थियो– विद्यार्थी राजनीति र शिक्षा सम्बन्धमा ।

मेरा राजनीतिक गुरु इन्द्रबहादुर थापाको साथ लागेर म काठमाडौं आएको थिएँ । धरान फर्कनुभन्दा अघिल्लो दिन हामी कालिकास्थानस्थित माड्साबको घर–कम–समीक्षा साप्ताहिक कार्यालयमा माड्साबलाई भेट्न गयौँ । माड्साब केही लेख्दै हुनुहुन्थ्यो ।छोटो भलाकुसारीपछि हामी छुट्टियौँ । त्यसपछि म साप्ताहिक समीक्षाको पाठक बनेँ । यद्यपि, छापिएका धेरै कुरा बुझ्नु मेरो वशको कुरा थिएन । तर, बानी बस्यो र मेरो व्यक्तिगत जीवनमा राजनीति पढ्ने र त्यसबारे घोत्लने चस्का साप्ताहिक समीक्षाले दियो ।

केही महिनापछि म अध्ययनको सिलसिलामा काठमाडौं आएँ । समीक्षाको नियमित पाठक भए पनि माड्साबसँग नियमित भेटघाट गर्ने र अनौपचारिक कुरा गर्ने अवसर जुरेको थिएन । क्याम्पसको पढाइ, विद्यार्थी राजनीति र संगठनमा सक्रिय सहभागिताले बौद्धिक छलफलमा भाग लिन समय मिलाउनै गाह्रो थियो ।काठमाडौं आएको केही महिना नबित्दै एउटा राजनीतिक कार्यक्रममा भाग लिएबापत पक्राउ परेँ । तत्कालीन बाग्मती अञ्चलाधीशले राजकाज ऐनअन्तर्गत दुई वर्ष कैद र दुई हजार जरिवाना ठेल्दिए । भेटघाट, बौद्धिक छलफल र बहस सब थान्को लाग्यो ।जेल पर्दा पनि कैद तोकिएपछि ढुक्क हुन्छ । किनभने कहिले छुट्ने भन्ने सेट हुन्छ । भेटघाटका लागि निश्चित साथीभाइ, परिवारका पनि निश्चित सदस्यहरू आउँछन् । जेलमा पनि रुटिनमा काम हुन्छ । इन्द्र दाइले मलाई जेल कसरी बस्ने ? आफूलाई बोर हुन नदिन रुटिनमा कसरी अल्झाउने भन्नेबारे वर्षौंअघि सुझाउनुभएको सूत्रले काम गरेको थियो ।

धरहराको टुप्पो मात्र देखिने सेन्ट्रल जेल शान्त थियो । तर, मेरो मन बेचैन हुन थालेको थियो । किनभने, जेलबाट बाहिर निस्कन अब करिब तीन महिना मात्र बाँकी थियो । छुटेपछि के गर्ने ? डेरा कहाँ लिने ? लुगाफाटा, भाँडाकुँडाको नयाँ बन्दोबस्ती कसरी मिलाउने ? कलेज फी, किताबकापी, लाउने ड्रेस कसरी जोहो गर्ने ?घरमा वृद्ध र रोगग्रस्त बाबु–आमासँग फेरि खर्च पठाउनु भनेर कसरी भन्नेजस्ता पिरलाले मलाई गाँज्न थालेका थिए । यस्तै वेलामा पाल्पमा कार्यथलो बनाएर बस्नुभएका कामरेड केबी राई माड्साबको माधवी लिएर झुल्कनुभयो ।त्यो चर्चित ऐतिहासिक उपन्यास दिँदै कामरेडले भन्नुभयो, ‘चार दिनअघि किनेको । पढिसकेर तपाईंलाई दिउँला भनेको त कथै भयो ।’ ‘गाह्रो, साह्रै चाम्रो लेखेछन् बुढाले,’ उहाँले मलाई किताब थमाउँदै भन्नुभयो । कामरेड केबी राई राम्रो पढन्तेमा गनिनुहुन्थ्यो । उहाँले नबुझेको उपन्यास म कसरी बुझुँला ? तैपनि लोभले किताब लिएँ ।

प्रतिभावान्, पढालेखा र घरानियाहरूसँग पहुँच भएका दीक्षितहरू कम्युनिस्ट पार्टीमा लाग्नु सानो कुरा थिएन, माड्साबजस्तो दर्शन र राजनीतिको धुरन्धर ज्ञाताले सरासरी दुःख र अप्ठ्यारो रोज्नुभएको महसुस हुन्थ्योकिताब समातेर पढ्न थालेपछि झन् विषाद बढ्यो । केही बुझेको भए मार्दिनु । आफ्नो पढाइ–लेखाइप्रति ग्लानि भएर आयो । ‘हे शिव ! न अंग्रेजीमा ज्ञान, न संस्कृतमा ज्ञान, न नेपालीमा ।’ मनमनै आफैँलाई कोसेँ । कम्मर कसेर हिज्जे सोध्दै–खोज्दै एक हप्ता लगाएर माधवी पढेर सिध्याएँ । तर, माधवी पढेको मेरो दाबी कथित मार्क्सवादीहरूले मार्क्सको ‘पुँजी’को तीनै खण्ड एक हप्तामै पढेर आफू परिपक्व भएको गफ दिएजस्तै थियो । जाँच दिनुपरेको भए सयमा दश नम्बर पनि प्राप्त गर्ने मेरो बुझाइ थिएन ।
०००
जेलबाट छुटेपछि चारखालछेउ डिल्लीबजार दुई महिना, मैतीदेवी पीपलबोट ६ महिना हुँदै अन्त्यमा ज्ञानेश्वरमा मेरो डेरा बसाइको टुंगो लाग्यो । म र भाइ सुरेन मुक्तान बस्थ्यौँ । एउटा हल टाइपको आधुनिक कोठा थियो । पुरानोघरको एउटा कोठामा भान्सा थियो ।

मैले शंकरदेवमा पढाइलाई निरन्तरता दिएँ । भाइ सुरेन पुल्चोकमा इन्जिनियरिङ पढ्थे । ‘माधवी’को पढाइपछि किताब पढ्नेमा विशेष चाख बढेको थियो । कनेर भए पनि अंग्रेजी, हिन्दी, नेपाली किताबहरू पढ्ने कोसिस गर्न थालेको थिएँ । एक दिन नेता कृष्णराज बर्मासँग माड्साब हाम्रो डेरामा आउनुभयो । ताजुब के थियो भने सोभाउकै लागि भए पनि औपचारिकता निर्वाह गर्न हाम्रो डेरामा चिया पिउने जोगाडसम्म थिएन ।माड्साब अलि मुडमा हुनुहुन्थ्यो । ‘हरिकामा चिया त रहेनछ, सियाले काम चलाउने त ? केटाहरूलाई अप्ठ्यारो त लाग्दैन नि ?’ बर्माजीतिर हेरेर माड्साबले हाम्रो कुरा उठाउनुभयो । ‘किन सुर्ता गर्नुहुन्छ माड्साब ! एउटा पक्का किरात, अर्को पक्का तामाङ । बरु खल्ती कत्तिको दरो छ ?’ बर्माजीले जिस्क्याउने पारामा माड्साबलाई भन्नुभयो ।माड्साबले पाँच सयको नोट बर्माजीलाई दिँदै भन्नुभयो, ‘पुगेन भने थप्नुस् !’

सुरेन र बर्माजी दारु, मासु र काँक्राफर्सी लिन बजार जानुभयो । माड्साब प्याज र लसुन केलाउन थाल्नुभयो । म बिहानका भाँडा धुन थालेँ । ‘हामी गफ गर्दै खाना बनाउँछौँ, आज तिमिहरूलाई छुट्टी, तर भाँडा माझ्ने सर्तमा,’ बर्माजीले आदेश गर्नुभयो । हामी आ–आफ्ना होमवर्क गर्न लाग्यौँ । पाकेपछि जाउलाखेल भोड्काको बोतल खुल्यो । सुरेनले एक बोतल बियर पियो । म बुढा अभिभावकहरूसँग सामेल भएँ । माड्साबजस्तो विद्वान् र बर्माजीजस्तो पाको राजनीतिक अर्थशास्त्रको ज्ञातासँग गफ गर्दै सोमरस पान गर्न पाउनु ठूलै कुरा थियो ।मैले ठानेँ– अब अन्तरंग गफ गर्ने बाटो खुल्यो । ०३९ देखि ०४७ सम्मको सेरोफेरोमा मेरो डेराबसाइ ज्ञानेश्वर, मैतीदेवी, घट्टेकुलोआसपास रह्यो । माड्साब, बर्माजी, गोविन्द लोहनी, अरविन्द रिमाल, रामेश्वर मरहट्ठा त्यही आसपास क्षेत्रमा बस्नुहुन्थ्यो, आ–आफ्ना घर र डेरामा । कम्तीमा हप्तामा एक दिन समसामयिक राजनीतिक विषयमा छलफल भइरहन्थ्यो ।

माड्साबसँग प्रायः शुक्रबार अपराह्न या उहाँको निवास–कम–समीक्षा कार्यालयमा म भेट्न पुग्थेँ । बर्माजी काठमाडौं आउनुभएको समयमा उहाँ मेरो डेरामा आउनुहुन्थ्यो । कहिलेकाहीँ बर्माजी ढिलो आइपुग्दा मसँग अन्तरंग कुराहरू पनि सेयर गर्नुहुन्थ्यो माड्साब । माड्साबसँगको अथाह ज्ञान र अनुभवहरूबाट लाभान्वित हुन धेरै लालायित हुन्थे । तर, त्यो समयमा मैले नै धेरै लाभ लिन पाएँ जस्तो आज पनि लागिरहन्छ ।

०००

फेरि ०४० देखि ०४२ सालसम्म दुईवर्षे जेलयात्रामा जाकिएँ । जेल बसाइ काठमाडाैंमै थियो । अधिकांश घरबेटीहरू मलाई जेलको चरी भन्न रुचाउँथे । घट्टेकुलोमा पुष्प दाइको घरमा मेरो डेरा थियो । जेलबाट छुटेर आएकै भोलिपल्ट माड्साब आउनुभयो । जेलमा हुँदै मेरी आमाको मृत्यु भएको थियो ।समीक्षालगायत अखबारहरूले कुरा उठाइदिएका कारण मैले घर गएर किरिया गर्ने छुट पाएको थिएँ । सायद संवेदना दिन र केही अन्तरंग कुरा गर्न आउनुभएको होला भन्ने मैले ठानेको थिएँ । तर, आँखा टिलपिल पार्दै भन्नुभयो, ‘हरि ! मैले कम्युनिस्ट पार्टीको सदस्यता परित्याग गरेँ ।’

नमीठो महसुस हुनु अस्वाभाविक थिएन । मदनमणि माड्साबलाई कम्युनिस्ट पार्टीमा ल्याउनमा उहाँकै भाइ कमरेड महेशमणि दीक्षितको ठूलो हात थियो । अत्यन्त प्रतिभावान्, पढालेखा र आफैँ पनि विशिष्ट परिवारको तथा राज्यसम्बद्ध विशिष्ट घरानियाँ व्यक्ति र संस्थामा आबद्ध व्यक्तिहरूसँग पहुँच भएका दीक्षितहरू कम्युनिस्ट पार्टीमा लाग्नु सानो कुरा थिएन । माड्साबजस्तो दर्शन र राजनीतिको धुरन्धर ज्ञाताले सरासरी दुःख र अप्ठ्यारो रोज्नुभएको महसुस हुन्थ्यो ।‘हालखबर’, त्यसपछि ‘समीक्षा’मार्फत माड्साबले निरन्तर राजनीतिक कलम चलाइरहनुभयो र वाम आन्दोलनको दियोमा तेल (इन्धन) उपलब्ध गराइरहनुभयो ।
जीवनमा सारा दुःखकष्ट खेपेर आएको एउटा विद्वान् भनिरहेछ, ‘मैले कम्युनिस्ट पार्टीको सदस्यता त्याग गरेँ ।’

मलाई भाउन्न भयो । सबैतिर अन्धकार देखिरहेको थिएँ । माड्साबले त्यसो भनिरहँदा आफूले बोकेको झन्डावाल पार्टीको देहान्त नजिक छ भन्ने महसुस भइरहेको थियो मलाई । माड्साब आफैँमा ठूलो संस्था हुनुहुन्थ्यो । दुनियाँले संशोधनवादी राजावादी भनिरहँदा पनि माड्साबको विद्वत्तालाई देखाएर सानका साथ हामी हिँड्न सकिरहेका थियौँ । आज उनै माड्साबले …. ।अग्लो छाँगोबाट पछारिएको अनुभूति भइरहेको थियो मलाई । त्यतिन्जेलसम्म मैले झन्डै ५ वर्ष जेलजीवन व्यतीत गरिसकेको थिएँ त्यही पार्टीको नाममा, जसलाई नेपाल कम्युनिस्ट पार्टीको संस्थापन पक्ष भनिन्थ्यो । हामी थोरै बेर बसेर छुट्टियौँ । त्यसपछि पनि माड्साबसँग कुरा भई नै रहे, छलफल–बहस भई नै रहे । उहाँले पञ्चायतविरुद्ध मात्र होइन, जनताको साहित्य र समाजवादको पक्षमा कलम चलाइरहनु नै भयो ।
०००
डा. केशरजंग रायमाझीको नेतृत्वको संस्थापन पक्ष अर्थात् नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो माड्साब । ०१९ सालमा सम्पन्न दरभंगा प्लेनमसम्मै पनि डा. रायमामाझी नेकपाको केन्द्रीय कमिटीको बहुमतमा थिए । संस्थापक महासचिव कमरेड पुष्पलालविरुद्धको घेराबन्दीका क्रममा रायमाझी नेतृत्व फस्टाएको थियो ।

रायमाझी अति–दक्षिणपन्थी धनाढ्यहरूमाझ हुर्किएका ‘वेल–एजुकेटेड’ वामपन्थी थिए । अतिविशिष्ट खानदानी वर्गबाट भित्रिएका पढालेखा युवा कम्युनिस्टहरूले कम्युनिस्ट पार्टीमाथि २०१० सालमै धावा बोले । बुद्धि, बर्कतभन्दा पनि जात, धन, र ख्यातिसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थापक महासचिव बिस्तारै ओझलमा पर्नु अनि कुण्ठाग्रस्त बन्दै जानु अनौठो थिएन । यी सम्पूर्ण कुराको लाभ रायमाझीले उठाएका थिए होला भन्ने आज अड्कल काट्न सकिन्छ ।दक्षिण एसियामा खासगरी भारतमा कम्युनिस्ट आन्दोलन बेलायती स्कुलिङबाट भित्रिएको थियो । बेलायती कम्युनिस्ट स्कुलिङ क्रान्तिकारी कम संसद्वादी ज्यादा थियो । चिनियाँ र रुसी कम्युनिस्ट पार्टीबीच क्रान्ति र परिवर्तनलाई हेर्ने दृष्टिकोणमा फरक आएपछि भारतमा पनि त्यसको असर पर्‍यो । कन्जरभेटिभ सोच भएका संसद्वादीहरू बहुमतसहित सिपिआईमै रहे ।

अलि र्‍याडिकल संसद्वादीहरूले सिपिएम बनाए । सिपिएमभित्रका संसद्वादविरोधी तप्काले विद्रोह गरेर सिपिआई (एम–एल) गठन गरे । नेपालमा त्यही फोटोकपी चल्यो । कन्जरभेटिभ, महेन्द्रीय राष्ट्रवादलाई परोक्ष समर्थन जनाउने र सुधारको पक्षमा हुने संसद्वादीहरू डा. रायमाझीको पक्षमा लागे, र्‍याडिकल रिफर्मिस्ट तथा राजाविरोधी संसद्वादीहरू का.पुष्पलालतिर लागे । पछि, पुष्पलाललाई छोडेर एम–एल गठन गरे ।झापा आन्दोलन त्यसैको पछिल्लो कडी थियो । सिपिआईजस्तै रायमाझी रुस पक्षधर बने । सोभियत संघ र पूर्वी युरोपेली मुलुकहरू लाल रंगबाट खैरो रंगमा सरिसकेका थिए । उनीहरूको अन्तर्राष्ट्रियले हाम्रा जस्ता तेस्रो विश्वका मुलुकहरूमा ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पोल्टामा हालिदिएका थिए ।कामरेड पुष्पलाल र हाँगाबिँगाहरूले होलसेलमा अध्यक्ष माओको ‘नौलो जनवाद’ कार्यक्रमलाई आफ्नो कार्यक्रम ठान्थे । मैले भेट्दा माड्साब राष्ट्रिय प्रजातन्त्र मान्ने मलीन क्रान्तिकारी हुनुहुन्थ्यो । मैले एकदिन माड्साबलाई सोधेको थिएँ, ‘माड्साब ! चिन्तन र स्वभावगत हिसाबले अध्ययनशील पुष्पलालतिर नलागेर चञ्चल, बौद्धिक कसरत गर्न नरुचाउने डा. रायमाझीतिर किन लाग्नुभयो ?’

‘एउटा त व्यवहारले, पुष्पलाल अलि रुखो स्वभावको हुनुहुन्थ्यो । दोस्रो, आफ्ना असल मित्रहरू पिबी मल्ल, कमर शाह, विष्णुबहादुर मानन्धर, कृष्णप्रसाद श्रेष्ठ (बिए), कृष्णप्रसाद शर्मा (सिराहा), कृष्णराज वर्मा, भूपि शेरचन (अरू पनि केही प्रतिष्ठित व्यक्तिहरूको नाम लिँदै भन्नुभयो) जस्ता साथीहरूको साथ मैले छोड्न सक्तिनथेँ,’ माड्साबले भन्नुभयो । कम्युनिस्ट आन्दोलन वैचारिकभन्दा बढी सांसारिक लागेर म हाँसेँ । माड्साबले नोटिस गर्नुभएको रहेछ । पछिल्लो भेटमा उहाँले मेरो हाँसोबारे कुरा उठाउँदै सोध्नुभयो, ‘भन्नुस् त, किन हाँस्नु भा’थ्यो ?’‘क्रान्तिकारितामा ऐक्यबद्धता मिसिएछ भनेर हाँसेको थिएँ,’ मैले जवाफ दिएँ ।माड्साबलाई मैले पनि सोधेको थिएँ, ‘तपाईं किन भक्कानिनुभएको थियो माड्साब ?’ उहाँको छोटो जवाफ थियो, ‘म कम्युनिस्ट सर्वहारा अधिनायकत्वको ठूलो पक्षधर थिएँ, घरबार आमाबाउ, स्वास्नी, छोराछोरीभन्दा पनि प्यारो पार्टी थियो । तर, यसरी धुजाधुजा होला, यसरी धमिरा लाग्ला भन्ने सोचेको थिइनँ । त्याग गर्नेहरू गरिरहेकै थिए, मर्नेहरू मरिरहेकै थिए र भोजभतेरमा रमाउनेहरू भोजभतेरमै थिए । उदेक लागेर छोडेँ, तर ज्यादै दुख्यो ।’

२०४७ मा म पनि एमालेमा सामेल भएँ । एमाले प्रवेश गर्नुभन्दा पहिला माड्साबलाई भेट्न उहाँको निवासमै गएको थिएँ । उहाँलाई मेरो पछिल्लो राजनीतिक कदम एकदमै मन परेको थिएन भन्ने अनुहारबाटै जाहेर हुन्थ्यो । त्यसपछि म गाउँ गएँ । दश वर्ष गाउँमै संगठन गर्नमा बिताइयो । अर्को आधा दशक पढाइलेखाइमा । माड्साबसँग उठबस छुट्यो ।उहाँ एकेडेमीमा जानुभयो । बधाई दिन एक दिन कमलादी पुगेको, भेट भएन । अर्कोपटक एकेडेमीमै भेट्दा भन्नुभयो, ‘तपाईं त स्यालको सिङझैँ गायब हुनुभयो ।’ मैले मजाक गर्दै भने, ‘माड्साब एकेडेमीमा, म फुटपाथमा भेट्नै गाह्रो ।’ माड्साब रिसाउनुभएन, फिस्स हाँस्नुभयो ।मेरो जेल भोगाइ एउटा उदेकलाग्दो पहलुजस्तो थियो । माड्साब चिन्तित हुनुहुन्थ्यो– मेरो भोगाइलाई विचार गरेर । एकपटक किसुनजी (कृष्णप्रसाद भट्टराई) सँग पनि कुरा गर्नुभएछ । २०४६ को आन्दोलनको सेरोफोरोमा आरके दाइ (राधाकृष्ण मैनाली) सँग किसुनजीलाई भेट्न जाँदा उहाँले माड्साबको चिन्ता उल्लेख गर्दै मलाई स्नेह जताउनुभएको थियो ।

माड्साब र्‍याडिकल रिफर्मिस्ट हुनुहुन्थ्यो । नन–रिफर्मिस्ट रिफर्मको पक्षमा उहाँ निरन्तर लागिरहनुभयो । त्यो लाइनमै अहिले एकाधबाहेक सबै वामपन्थी आइपुगेका छन् । माड्साबले नेपाली साहित्यमा मात्रै होइन, राजनीतिमा पनि ठूलो वैचारिक योगदान पुर्‍याउनुभएको छ, जो अझै पनि प्रकाशित हुन बाँकी होलान् ।माड्साबको योगदानमा उहाँको परिवारका सबै सदस्यको त्याग, तपस्या र बलिदान मिसिएको छ । मेरो विचारमा माड्साब हाम्रो मुलुककै ‘मणि’ हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ! आदरणीय म्याडम, श्रद्धेय दाइ विनोदमणि दीक्षितलगायत शोकसन्तप्त परिवारमा धैर्यधारण गर्न बल पुगोस् भन्ने कामना गर्छु ।
नयपत्रिका ;

Loading...