आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतले आयातको सूचीबाटै हटायो चिराइतो : निर्यात ठप्प, किसान चिन्तित

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ७४९ पाठक संख्या

भाद्र , ७ : इलाम सन्दकपुर गाउँपालिका–५ जमुना निगुरेका गोपाल राईले ४० रोपनी जमिनमा चिराइतो खेती गरेका छन् । राईले औसतमा वार्षिक १० देखि १५ मन चिराइतो उत्पादन गर्छन् । केही वर्षअघिसम्म चिराइतोको आम्दानीले उनको घरखर्च धान्थ्यो । कुनै वेला मनग्य आम्दानीको स्रोत बनेको यही चिराइतोले उनलाई अहिले ‘निल्नु न ओकल्नु’ भएको छ । कुनै वेला ६ सय रुपैयाँ किलोका दरले बिक्ने चिराइतो अहिले सय रुपैयाँ किलोमा पनि बेच्न मुस्किल छ । ‘गत सालदेखि चिराइतो बिकेको छैन,’ उनले भने, ‘चिराइतो नबिक्दा हाम्रो त आम्दानी मासियो, घरखर्च कसरी चलाउने भन्ने समस्याबाट गुज्रिएका छौँ ।’

लेकाली क्षेत्रका किसानका लागि चिराइतो राम्रो आम्दानी हुने नगदे बालीका रूपमा स्थापित बनेको थियो । तर, नगदे आम्दनीको स्रोत बनेको यही चिराइतो बिक्न छाडेपछि किसान चिराइतो मासेर परम्परागत खेतीतर्फ फर्किन थालेका छन् । ‘फाइदा नै हुँदैन भने खेती गरेर भएन नि,’ उनले थपे, ‘अब पहिलेकै जस्तो गाईबस्तुको घाँसपात लगाउने हो, पैसा आउने अरू बाली यहाँ हुँदैन ।’ बजारमा राम्रो भाउ हुने भएपछि किसानले आफ्ना पाखाभित्तामा धमाधम चिराइतो खेती गरेका थिए । जसले गर्दा लेकाली क्षेत्रका पाखाभित्तामा चिराइतो खेती फस्टाएको थियो । अरू खेती नहुने ठाउँमा चिराइतो लगाएर किसानले आम्दानी लिँदै थिए । चिराइतोको बजार अनिश्चित भएपछि किसानको आम्दानी गुमेको छ । चिराइतो बिक्री हुने टुंगो नभएपछि किसान चिराइतो मास्नतिर लागेका छन् ।

भारतीय सूचीबाट हट्यो
नेपालमा उत्पादन हुने चिराइतोको मुख्य बजार भारत थियो । तर, भारतले नेपालबाट आयात हुने जडीबुटीको सूचीबाट चिराइतो हटाएपछि चिराइतोको निकासी ठप्प भएको हो । भारतले प्लान्ट क्वारेन्टाइन सूचीबाट चिराइतो हटाएपछि निकासीमा ठप्प छ । भारतले नेपालबाट निर्यात हुने १७ प्रजातिका जडीबुटीको सूची बनाएको छ । त्यसमा चिराइतो उल्लेख नभएको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुयश खनालले जानकारी दिए । नेपालबाट भारत निकासी हुने गरेको चिराइतो, टिम्मुर, रिट्ठा, पदमला, अमला पाखनबेद, कुट्कीलगायतका जडीबुटीको निकासीसमेत रोकिएको छ । नेपालमा उत्पादन भएको जडीबुटी चीनसमेत निकासी हुन्थ्यो । चीनतर्फ हुने निकासी पनि खस्किएको छ । चिराइतोमा मिसावट भएपछि चीनतर्फको बजार खस्किएको निकासी प्रवद्र्धन केन्द्रका निर्देशक खनाल बताउँछन् । ‘व्यवसायीको बेइमानीका कारण चीनतर्फको निर्यात खस्किएको हो,’ खनालले भने, ‘व्यापार लामो समयलाई सोचेर गर्नुपर्छ, तर चीन निर्यात हुने चिराइतोमा मिसावट हुन थालेपछि निर्यात रोकिएको हो ।’

देशमा उद्योग छैन, निकासी ठप्प
सरकारले नेपालमा उत्पादन हुने जडीबुटीको एक तह प्रशोधन गरेर मात्रै निर्यात गर्ने नीति लिएको छ । तर, नेपालमा चिराइतो प्रशोधन गर्ने उद्योग नै छैन । उद्योग नहुँदा नेपालमा चिराइतोको प्रशोधन हुँदैन भने विदेश निकासी पनि ठप्प हुन पुग्दा किसानको उत्पादन खेर जाने अवस्थामा आइपुगेको हो ।

दुई वर्षदेखि चिराइतोको सहज निकासी नभएकाले भाउ घटेको व्यवसायी बताउँछन् । उनीहरूले चिराइतो निर्यातको वातावरण बनाइदिन सरकारसँग पटक–पटक आग्रह गरे पनि पहल नभएको बताएका छन् । ‘भारतले आयात गर्ने जडीबुटीको सूचीमा चिराइतो नहुँदा चिराइतोको निकासी रोकिएको छ, हामीले लिखित–मौखिक रूपमा पनि निकासी सहज बनाउन सरकारलाई आग्रह गर्‍यौँ, अहिलेसम्म कुनै पहल भएको छैन,’ इलाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा चिराइतो व्यवसायी कृष्ण पौडेलले भने, ‘यसपालि चिराइतो निकाल्ने सिजन सुरु हुन लाग्यो, पोहोर–परारकै चिराइतो बेच्न बाँकी छ, नयाँ उत्पादन बिक्री हुने सम्भावना न्यून छ, हामी चिन्तित छौँ ।’

इलामसहित पाँचथर, ताप्लेजुङ, भोजपुर, संखुवासभालगायतका जिल्लामा व्यावसायिक चिराइतो खेती हुने गरेको छ । बाग्लुङ, प्युठान, म्याग्दी, पाल्पा, स्याङ्जा, कास्कीलगायतका जिल्लामा अहिले चिराइतो खेती विस्तार भइरहेको जडीबुटी प्राविधिक युवराज पिसीले जानकारी दिए । इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकामा बृहत्तर रूपमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । इलामबाट बर्सेनि ५० हजार किलोभन्दा बढी चिराइतो निकासी हुन्थ्यो । अहिले १५ हजार किलो चिराइतो निकासी भएको जिल्ला वन कार्यालयमा तथ्यांक छ । इलामबाट निकासी भएको चिराइतो झापाको गोदाममा थन्किएको व्यवसायी बताउँछन् ।

४६ वनस्पतिको अध्ययन गरिँदै
सरकारले विदेश निर्यात हुने वनस्पति र जडीबुटीको ‘पिस्ट लिस्ट’ तयार गर्नका लागि अध्ययन गर्ने भएको छ । वनस्पति र जडीबुटीमा हुने मित्रु र शत्रु जीवनहरूको अध्ययन गरेर ‘पिस्ट लिस्ट’ तयार गरिने वनस्पति विभागले जनाएको छ । विदेश निकासी हुने ४६ वटा जडीबुटी र वनस्पतिको अध्ययन गरिने वनस्पति विभागको जडीबुटी प्रवद्र्धन तथा विकास शाखाका वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए । ‘यसको अध्ययन गर्न लामो समय लाग्छ । यसमा वनस्पतिविज्ञ, किरा, सूक्ष्म जीवाणुविज्ञ, कृषि, रोग, माटोविज्ञहरूको आवश्यकता पर्छ,’ अधिकृत पराजुलीले भने, ‘अध्यनपछि त्यसको प्रमाणित प्लान्ट क्वारेन्टाइन कार्यालयले गर्ने हो ।’ नेपाल सरकारले ८३ वटा कृषि, वनस्पति र जडीबुटीजन्य वस्तुको पेस्ट लिस्ट भारत सरकारलाई पठाइसकेको छ । त्यसमध्ये ६ वटा मात्रै भारतले सूचीकृत गरेको छ । त्यसमा अलैँची, तितेपाती, तेजपत्ता, कचुर, चुत्रोलगायतका छन् । बाँकी ३१ वटा सूचीकरणको प्रक्रियामा रहेको वनस्पति विभागले जनाएको छ । चिराइतो पनि सूचीकरणको प्रक्रियामा रहेकाले निकासीमा समस्या भएको हुन सक्ने पराजुली बताउँछन् । खयर, बिखुमा, दमचाल, चिराइतो, लोठसल्ला, जटामसी, कुड्कीलगायतका ३१ जडीबुटी सूचीकरण हुन बाँकी नै छ । अन्य ४६ वटा जडीबुटी तथा वनस्पतिहरूको अध्ययन गर्ने सरकारले तयारी गर्दै छ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस