आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आठौँ साफ सकिएपछि छनोट भएको पत्र पाएँ : तारादेवी पुन

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ४३१ पाठक संख्या

भाद्र , ७ : तारादेवी पुन, भारोत्तोलन खेलाडी
चैत २०५५ मा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता भयो । चौथो राष्ट्रिय प्रतियोगिता त्यसको झन्डै ६ महिनापछि ०५६ असोजमा भएको आठौँ दक्षिण एसियाली खेलकुद (साफ)को छनोट प्रतियोगिता थियो । भारोत्तोलन खेलकी अहिलेकी सशक्त खेलाडी तारादेवी पुनले चौथो राष्ट्रिय खेलकुदमा भलिबल खेलबाट सहभागिता जनाएकी थिइन् । चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चललाई स्वर्णपदक दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी तारादेवी त्यही प्रदर्शनका आधारमा आठौँ साफ खेलकुदमा पनि छनोट भएकी थिइन् । तर, आठौँ साफका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि छनोट भएको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पठाएको पत्र उनले साफ खेलकुद सकिएपछि मात्रै प्राप्त गरेकी थिइन् । त्यससँगै उनको सन् १९९९ मा काठमाडौंमै भएको आठौँ साफको सहभागिता अवसर गुमेको थियो । उनले आठौँ साफको अवसर कसरी गुमाएकी थिइन् ? तारादेवीकै शब्दमा,

राष्ट्रिय खेलकुद प्रतियोगितामा मैले पहिलो सहभागिता भलिबल खेलबाट जनाएकी हुँ । चौथो राष्ट्रिय खेलकुदलाई आठौँ साफको छनोट प्रतियोगिता मानिएको थियो । त्यसैले राखेपले त्यसवेला तल्लो तहदेखि नै छनोट प्रतियोगिता गरेको थियो । वडा, गाविस, जिल्लास्तरीय र अन्तरजिल्लाका सबै छनोट प्रतियोगितामा म उत्कृष्ट खेलाडी भएकी थिएँ । बेनीमा भएको जिल्लास्तरीय र दमौलीमा भएको अन्तरजिल्ला छनोट प्रतियोगिता हेर्न हंसराज वाग्ले, जितेन्द्र चन्द, भरत शाहलगायत गुरुहरू पुग्नुभएको थियो । बेनीमा मेरो खेल देखेपछि हंसराज गुरुले तारालाई जसरी पनि टोलीमा बेलाउनू भन्नुभएको रहेछ । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म पश्चिमाञ्चल टोलीमा छनोट भएँ । पश्चिमाञ्चलले चौथो राष्ट्रिय खेलकुदमा स्वर्णपदक जित्यो । टोलीले जित्दा मेरो खेल पनि निकै राम्रो भयो । त्यो प्रदर्शनले म आठौँ साफ खेलकुदका लागि छनोट हुन्छु भन्ने पूर्ण विश्वास थियो । छनोट भएको पत्र आउँछ भन्ने विश्वासका साथ म घर फर्किएँ ।

‘पत्र आएन, आठौँ साफको नतिजा रेडियोबाट सुनेँ’
म घर पुगेँ । अरूले पनि भन्थे, ‘तेरो खेल राम्रो छ, तँ आठौँ साफका लागि छनोट हुन्छेस् ।’ मेरो पनि विश्वास त्यही थियो । दिन बित्दै गए, राखेपबाट राष्ट्रिय टोलीबाट छनोट भएको पत्र आएन । त्यसवेला सञ्चारको माध्यम भनेकै रेडियो थियो । म दैनिकजसो रेडियो सुन्थेँ । कसले कति स्वर्ण जित्यो, कसले के जित्यो भन्ने समाचार रेडियोमै सुनेर आठौँ साग खेलकुद सकियो ।स्कुलनजिकैको हुलाक कार्यालयमा एक दिन मेरो नामको पत्र आइपुग्यो । मेरा दाइहरूले पत्र हेर्नुभएछ । पत्र राखेपले काठमाडौंंबाट पठाएको थियो । पत्रमा लेखिएको थियो, ‘तपाईं आठौँ साफ खेलकुदका लागि छनोट हुनुभएको छ, त्यसका लागि बन्द प्रशिक्षणमा सहभागी हुन आउनुहोला ।’ त्यतिवेला आठौँ साफ सकिसकेको थियो । पत्र पढेपछि निकै दुःख लाग्यो ।

आठौँ साफ खेलकुद प्रतियोगिता सकिसकेको थियो । म स्कुलमा पढ्दै थिएँ । स्कुलनजिकै रहेको हुलाक कार्यालयमा एक दिन मेरो नामको एउटा पत्र आइपुग्यो । मेरा दाइहरूले पत्र हेर्नुभएछ । त्यो राखेपले काठमाडौंबाट पठाएको पत्र थियो । पत्रमा लेखिएको थियो, ‘तपाईं आठौँ साफ खेलकुदका लागि छनोट हुनुभएको छ, त्यसका लागि बन्द प्रशिक्षणमा सहभागी हुन आउनुहोला ।’ आठौँ खेलकुद बिर्सिसकेकी थिएँ । त्यो पत्र पढेपछि निकै दुःख लाग्यो । निको भइसकेको चोट फेरि बल्झिएझैँ भयो । तर, त्यसलाई सहनुको अर्काे कुनै उपाय थिएन । मैले त्यसवेला साफ खेलकुदको महत्व बुझेकी थिइनँ । यो प्रतियोगिता खेल्नुपर्छ भन्ने मात्रै मनमा थियो । पछि थाहा पाउँदा ठूलो अवसर गुमाएछु भन्ने महसुस भयो । अझ पछि आठौँ साफमा पदक जित्ने खेलाडीहरूले गोर्खा दक्षिणबाहुदेखि अन्य धेरै पदक र पुरस्कार पाए, त्यसवेला पनि मन खिन्न रह्यो ।

विकट गाउँ, सञ्चारको असुविधाका कारण गुम्यो अवसर
मेरो घर म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ मा पर्छ । मेरो घर जंगलको बीचमा छ । मेरो घरबाट अर्काे घर भेट्न १५–२० मिनेट हिँड्नुपर्छ । म त्यो विकट ठाउँबाट आएकी हुँ । मेरो घरमा अझै पनि टेलिफोनको टावर टिप्दैन । अझै पनि गाउँमा रहनुभएकी आमासँग चाहेर पनि मेरो कुरा हुन सक्दैन । मसँग कुरा गर्न आमालाई १५–२० मिनेट हिँडेर टावर टिप्ने ठाउँसम्म आउनुपर्छ । अनि मात्रै हाम्रो कुरा हुन्छ । त्यसवेला त मोबाइल फोनको यस्तो विकास नै भइसकेको थिएन । गाउँमै फोन थिएन हाम्रो । सञ्चारको एउटै साधन थियो, हुलाक । त्यो पनि हाम्रो जस्तो विकट ठाउँमा हुलाक सेवा पनि चुस्त थिएन । त्यही कारण मेरो साफ खेल्ने अवसर नै गुम्यो ।

त्यसवेला सञ्चारको माध्यम भनेकै रेडियो थियो । म दैनिकजसो रेडियो सुन्थेँ । कसले कति स्वर्ण जित्यो, कसले के जित्यो भन्ने समाचार रेडियोमै सुनेर आठौँ साग खेलकुद सकियो ।

साग खेल्न १६ वर्षको प्रतीक्षा
पाँचौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन म काठमाडौं आएकी थिएँ । तर, त्यहीवेला दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश नै विनाश भयो । सोही कारण पाँचौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा भएन । त्यो समयमा अरू केही गरौँ भन्ने सोच आयो । एकजना दिदीले सुझाउनुभयो, ‘तिमी भारोत्तोलन सिक ।’ त्यसपछि ओलम्पियन स्व. सुनीललाल जोशी र मिठु गुरु (पार्थ सारथि सेन गुप्ता)लाई भेटेपछि म भारोत्तोलन खेल्न थालेँ । त्यसवेला मैले भलिबल र बक्सिङ पनि सँगसँगै खेल्दै थिएँ । तर, मेरो मुख्य खेल भारोत्तोलन बन्यो । मैले चौथोदेखि आठौँ राष्ट्रिय खेलकुदसम्म निरन्तर स्वर्णपदक जितेकी छु । तर, मैले साग खेलकुदमा प्रतिस्पर्धा गर्नका लागि १६ वर्ष कुर्नुपर्‍यो । किनभने, त्यसपछिका कुनै पनि साग खेलकुदमा भारोत्तोलन सहभागी भएन । एकैपटक ०७२ फागुनमा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ साग खेलकुदमा मात्रै भारोत्तोलन समावेश भयो । राष्ट्रिय टोलीमा छनोट भएको पत्र ढिला आइपुग्दा साग खेलकुद खेल्न गुमेको अवसर १६ वर्षपछि मात्रै प्राप्त भयो ।

पदक परिवर्तन गर्ने इच्छा
पहिलोपटक साग खेलकुदमा सहभागिता जनाउँदा कांस्यपदक जित्न सफल भएँ । तर, त्यो साँच्चिकै अप्रत्याशित प्रतिस्पर्धा रह्यो । भारत र श्रीलंकाका खेलाडी हामीभन्दा निकै सशक्त थिए । भारत र श्रीलंकाका खेलाडीले क्रमशः स्वर्ण र रजत जिते । कांस्यका लागि बंगलादेशको खेलाडीसँग मेरो कडा प्रतिस्पर्धा रह्यो । दुवैले बराबरी भार उठाएपछि शरीरको तौल कम भएका आधारमा मैले पदक जितेँ । अहिले यो नियम परिवर्तन भइसकेको छ । यद्यपि, त्यो नियमले म साग खेलकुदको पहिलो सहभागितामै पदक जित्न सफल भएँ । १३औँ साग खेलकुदका लागि पनि तयारी सुरु भएको छ । अन्तिम चरणका केही छनोट प्रतियोगिता त बाँकी नै छन् । तर, छनोट भएको अवस्थामा १३औँ सागमा यो पदक परिवर्तन गर्ने इच्छा छ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस