आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘शिक्षामा सरकारको लगानी, खोइ खोलो सुक्यो भनेजस्तै’

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३७० पाठक संख्या

काठमाडौं, भदौ ७ : 
नेपालमा सार्वजनिक शिक्षाको अवस्था कस्तो छ?
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले कक्षा १ को किताबमा पढेको कविताबाट बुझाउने कोशिस गरे।
‘कुखुरी काँ,
बासी भात खाँ‍…………..

…………..

खोइ गाई? खोलाले बगायो,

खोइ खोलो, सुक्यो।’

यो कविताको अर्थ आफूले सचिव भएपछि बुझेको उनले सुनाए।

‘कवितामा साह्रै गम्भीर कुरा लेखेको छ। बिएड, एमए तहमा राख्नुपर्ने किन कक्षा १ मा राखिएछ?,’ उनले थपे, ‘खोइ गाई खोलाले बगायो। खोइ खोला सुक्यो, यो अन्तिम वाक्य कति महत्वपूर्ण छ। खोला सुकेपछि के बाँकी रह्यो र?’

सचिव बराल ललितपुरस्थित रातो बंगला स्कुलमा शनिबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा सार्वजनिक शिक्षाको अवस्था झल्काउने आफ्ना कुरा सुनाउँदै थिए।शिक्षा तथा मानव स्रोत विकास केन्द्र र रातो बंगला स्कुलको आयोजनामा सार्वजनिक शिक्षा रूपान्तरणका लागि विज्ञ र शिक्षकहरू सम्मेलनमा सहभागी छन्।सम्मेलनमा अमेरिका, बंगलादेश, भारत, चीनलगायत देशका शैक्षिक विज्ञले ७५ वटाभन्दा बढी कार्यपत्र पस्कनेछन् भने ६० भन्दा बढी कार्यशाला हुनेछ। सरकारी र निजी विद्यालयमा पढाइराखेका सातै प्रदेशका ५० विद्यालयका छ सय भन्दा बढी शिक्षक सम्मेलनमा सहभागी छन्। शिक्षकले सिक्न चाहेको विषय छान्दै कार्यशालामा भाग लिन पाउँछन्।

शिक्षा मन्त्रालयले २०६९ सालमा पनि रातो बंगलासँग मिलेर पहिलो सम्मेलन गरेको थियो।

सचिव बराल भन्छन्, ‘यो सम्मेलन गुणस्तरीय शिक्षा कसरी बनाउन सकिन्छ भन्नेबारे खोजी गर्ने थलो हो।’

शिक्षकलाई जति तालिम दिए पनि शैक्षिक उपलब्धिमा खासै परिवर्तन आउन नसक्नु विडम्बना भएको बताएका उनले तालिममा सिकेका ज्ञान र सीप कक्षा कोठासम्म पुर्‍याउनुपर्नेमा शिक्षकहरूको ध्यानाकर्षण गराए।

‘तालिम नलिएको कुनै शिक्षक छैन। तर हाम्रो शिक्षा किन परिवर्तन भएन?,’ उनले भने, ‘शिक्षकको प्रवृत्ति नै परिवर्तन नभएसम्म जति तालिम लिए पनि सुधार नहुने देखियो।’जति प्रयास, आयोजना र परियोजनाहरू ल्याए पनि खोइ खोला सुक्यो भन्ने कविताकै हरफजस्तो देशको शिक्षा हुन्छ कि भन्ने मन्त्रालयलाई चिन्ता भएको उनले बताए।

‘विद्यार्थीको जिज्ञासा मेट्न सक्नुभएन भने गुरू भइराख्नुको अर्थ हुँदैन,’ उनले भने, ‘यो कहाँबाट आयो? भन्ने विद्यार्थीको प्रश्नमा सूत्रबाट, नियमबाट मात्रै भन्नुभयो भने तपाईंले बुझाउन सक्नुभएन। सिकाउने विधि र मान्छे सबैभन्दा पहिले प्रष्ट हुनु जरूरी छ।’सचिव बरालले शिक्षाका नाममा विदेशी ‘डलर’ विभिन्न नाममा आए पनि खासै परिवर्तन हुन नसकेकोप्रति अर्को कथाबाट ब्यंग्य गरे।

कम्बोडियामा मुसाले धान नष्ट गरेपछि सरकारले मुसा मार्नेलाई एक सय इनाम दिन थाल्यो।किसानहरू मुसा मार्दै पैसा लैजाँदै गर्थे। मरेका मुसा नष्ट गर्न सरकारलाई हम्मे परेपछि सरकारले रणनीति बदल्दै अब मुसा पर्दैन पुच्छर ल्याए हुन्छ भन्यो।

किसानहरू पुच्छर लैजाँदै पैसा लिँदै फर्कन्थे। एक दिन सरकारले अध्ययन गर्दा धानको उत्पादन घटेको देखियो, मुसा मरेको।मुसा पनि मर्ने धान पनि घट्ने कुरा नमिलेपछि सूक्ष्म अध्ययन गर्दा किसानले मुसा नमारिकनै पुच्छर मात्रै लगेर पैसा ल्याएको भेटियो।

किसानले मुसा जिउँदै छाडेर पुच्छर मात्रै लैजाने पैसा ल्याउने गर्दा रहेछन्।

उनले कम्बोडियाको मुसा नियन्त्रण अभियानलाई नेपालको शिक्षासँग दाँजेका हुन्।

‘बुझिहाल्नुभयो होला, हामीकहाँ पनि शिक्षाका नाममा प्रोजेक्ट आएका छन्, फन्ट आएको छ तर उपलब्धि भएको छैन,’ बरालले भने।

आयोजकमध्येका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शैक्षिक प्रमाण पत्र बाकसमा थन्क्याएर राहदानी बोकेर विदेश धाउनुपर्ने अवस्थाबाट बाहिर ल्याउने गरी शिक्षा रूपान्तरण आवश्यकता परेको बताए।‘तिम्रो हैसियत कति हो भनेर गुरूहरूले प्रमाणीकरण गरेको प्रमाणपत्र खोज्ने वातावरण अब यो मुलुकमा हुनुपर्छ,’ उनले भने, ‘राहदानी बोक्नै पर्ने हो भने यतिका वर्ष दु:ख गरेर पढेको/पढाएको के काम?’ पौडेलले पनि कथाबाटै आफ्ना कुरा बुझाउन खोजे।

‘म सानो हुँदा हजुरआमा भन्नुहुन्थ्यो, मोटाघाटा बाघलाई, दुब्ला पालता माघलाई।

यो भनाइलाई शिक्षामा रूपान्तरण गरी हेर्दा पढेका छोराछोरी अमेरिका, बेलायत र जापानलाई,’ उनले थपे, ‘पढ्न नसक्ने पाखुरामा बल हुने छोराछोरी साउदी, अरब र मलेसियालाई। के यो मुलुक बूढाखाडामात्रै बस्ने ठाउँ हो? होइन युवाहरू पनि राख्ने हो भने शिक्षा रूपान्तरण नगरी हुँदैन।’दुनियाँका नयाँ ज्ञान र सीपलाई शिक्षकले कक्षाकोठामा लैजानुपर्ने उनले बताए।शिक्षा रूपान्तरणका लागि सिकाइ केन्द्रित गुणस्तरीय शिक्षा चाहिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेल तर्क गर्छन्।

‘चाखलाग्दो शिक्षण सिकाइ हुनुपर्छ,’ उनले भने, ‘लगानी, स्पष्ट शिक्षा नीति, भौतिक अवस्था तथा व्यवहारिक पाठ्यक्रम गुणस्तरीय शिक्षाका आयाम हुन्।’

उनले शिक्षामा १३ प्रतिशत बजेट विनियोजन गरिएको र आगामी वर्षहरूमा थप वृद्धि गरिने जानकारी दिए।

‘शिक्षकको क्षमता वृद्धि गर्न र सूचना प्रविधिमा आधारित पाठ्यक्रम तयार गर्न स्थानीय सरकारलाई बजेट दिइसकेका छौं,’ उनले भने।सार्वजनिक विद्यालयको सबलीकरण गर्दै अबको एक दशकमा अभिभावकको पहिलो रोजाइ नै सार्वजनिक विद्यालय हुने गरी गुणस्तरीयतामा सरकारले ध्यान दिएको मन्त्री पोखरेलले बताए।

‘सार्वजनिक विद्यालय पहिलो रोजाइ बन्नुपर्छ,’ उनले भने।

रातो बंगला फाउण्डेशनकी अध्यक्ष शान्ता दीक्षितले देशको मौलिकता बुझ्ने, परिवेशअनुसारको शिक्षा नै आजको आवश्यकता भएको बताइन्।

‘बेलायतबाट भारत हुँदै नेपाल ल्याइएको औद्योगिककालको शिक्षा अब काम छैन,’ उनले भनिन्, ‘हामीकहाँ ठूला उद्योग नै थिएनन् त्यसै हचुवाका भरमा त्यो शिक्षा ल्याइयो।’

उनले समयानुकूल देशको मौलिकता, भूगोल र संस्कृति बुझ्ने शिक्षा चाहिएको बताइन्।

सेतोपाटि समाचार;

प्रतिक्रिया दिनुहोस