के हामी मेयरका कारिन्दा मात्रै हौँ ? ‘ मुकुन्द रिजाल ‘

5

भाद्र , ८ : स्थानीय तहको निर्वाचनको वेला नारा थियो ‘सिंहदरबारको अधिकार गाउँमा’ । तर, अहिले केन्द्र सरकारले प्रदेश र स्थानीय तहको अधिकार खुम्च्याउँदै गएको टिप्पणी भइरहेका छन् । विशेषगरी, वडाध्यक्षहरूले अधिकार नपाएको गुनासो गरेका छन् । यस्तै गुनासो काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको पनि छ । निर्णय गर्ने अधिकार नहुँदा सिफारिसकर्ताजस्तै भएको उनको गुनासो छ । भूगोल र जनसंख्याको आधारमा बजेट वितरण नहुँदा थप समस्या भएको उनले बताए । नमुना वडा बनाउने घोषणा गर्न महानगरका वडाध्यक्षहरूबीच होडबाजी चलिरहँदा उनी भने आफ्नो कार्यकालमा जनचाहना अनुरूपको काम गर्ने कोसिस गर्ने बताउँछन् । वडाध्यक्ष रिजालसँग वडाका काम, कारबाही र विकास निर्माणका विषयमा नयाँ पत्रिकाले गरेको संवाद ।

मुकुन्द रिजाल
वडाध्यक्ष, काठमाडौं महानगरपालिका–१६
साढे दुई वर्षको अवधिमा के–के काम गर्नुभयो ?
हामी २४सै घन्टा काममा लागेका छौँ । संविधानले दिएको अधिकारपछि बनेका कानुनले रोक्दा केही समस्या भएका छन् । १५ करोडको काम गत आर्थिक वर्षमा विभिन्न निकायको सहयोगमा गरेँ । महानगरपालिकाले प्रदेशले गर्नुपर्ने काम पनि गर्नुपरेको छ । प्रदेशले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने बाटो बनाउनुपर्ने थियो । खानेपानी र बत्तीको काम पनि प्रदेशले गर्नुपर्ने थियो । तर, ती काम पनि हामीले गरेका छौँ । हामीले म्हैपी जाने बाटो खोलेका छौँ । केयुकेएलसँग समन्वय गरेर विष्णुमती करिडोर कालोपत्रे गरेका छौँ । चःमति जग्गा एकीकरण आयोजनाअन्तर्गत २४ करोडमा टेन्डर निकालेर काम थालेका छौँ । बाइपासबाट नेपालटार जाने बाटो कालोपत्रे गर्ने काम भइरहेको छ । तारकेश्वर जाने बाटोसमेत कालोपत्रे गर्ने काम भइरहेको छ । बालाजु कृष्णमन्दिरबाट बोहराटार जाने बाटो पनि कालोपत्रे हुँदै छ । हामीले सडकलाई उच्च प्राथमिकतामा राखेका छौँ । ब्लक छाप्ने काम पनि गरेका छौँ ।

संविधानले दिएका अधिकार कानुनले रोके भन्नुभयो । तपाईंहरू अधिकारविहीन हुनुभएको हो ?
सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भनियो । तर, त्यो अधिकार प्रदेश, जिल्ला र महानगरपालिकामा आइपुगेन । अब वडामा आउने त कुरै भएन । हाम्रो काम केवल सिफारिस गर्ने मात्रै भयो । मुलुकका अधिकांश वडाध्यक्षले रातो कलम चलाउन पाउँदैनन् । किन भने हामीसँग निर्णय गर्ने अधिकार छैन । वडाले निर्णय गर्न नपाएपछि सिफारिस मात्रै गर्ने हो । अहिलेको स्थानीय तह क्याबिनेट सिस्टममा छ । सत्य कुरा गर्नुपर्दा हामी वडाध्यक्ष मेयरका कारिन्दाजस्तै मात्रै हो ।

आगामी योजना के–के छन् ?
म्हैपी मन्दिर पुनर्निर्माणमा ५० लाख छुट्याएका छौँ । बालाजुस्थित बाइपासमा सूचना केन्द्र बनाउने तयारीमा छौँ । बाइसधारामा पार्क निर्माण गर्ने, स्विमिङ पुल पनि बनाउने तयारी छ । सोह्रखुट्टेमा पार्टी पुनर्निर्माण गरिरहेका छौँ । हाम्रो वडामा पर्ने सामुदायिक स्कुललाई उच्च प्राथमिकतामा राखेर भवन निर्माणलगायतका काम गरिरहेका छौँ । हाम्रो प्राथमिकता जनताको दैनिक आवश्यकतालाई सहज बनाउने हो । बालाजुबाट वसन्तनगर जाने बाटो कालोपत्रे गरिसकेका छौँ । खानेपानी र बत्तीको अधिकार प्रदेशमा पर्ने भएकाले चासो देखाएन । एक करोडको पाइप केयुकेएलसँग माग गरेर बोहराटार चौडल र खरिबोटमा बिछ्याएका छौँ । वडाअन्तर्गत पर्ने बाटो विस्तारको कामसमेत गरिरहेका छौँ  ।

महानगरको क्षेत्रफल र जनसंख्याको हिसाबमा सबैभन्दा ठूलो वडा यहाँले नेतृत्व गरेको वडा नै हो । तर, बजेटचाहिँ अन्य ठूला वडासमान नै दिइयो नि ?
महानगरका वडा तीन समूहमा छुट्याइएको छ । भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याइएन । मेरो वडाको क्षेत्रफल चार सय ४६ वर्ग किमि छ । १७ नम्बर वडा जम्मा ४६ वर्ग किमि र १८ नम्बर वडा ३५ वर्ग किमि छ । मेरो वडा अन्य वडाभन्दा चार सय गुणा ठूलो हुँदा पनि बजेट भने बराबर छ । जनसंख्याको कुरा गर्ने हो भने एक लाख ३० हजार छ, ४५ हजार घरधुरी छन् । तर, पनि बजेट बराबरी छ । भूगोल र जनसंख्याका आधारमा बजेट बढी चाहियो भन्दा रुखो जवाफ पाएँ–९० किलोको मान्छे हुँदा दुईवटा नागरिकता पाइन्छ र ? स्रोत व्यवस्थापन गर्न र परिचालन गर्न गाह्रो छ । तर, नगर विकास परिषद्, सडक विभाग, कहिले खानेपानी संस्थानलगायतका निकायसँग समन्वय गरेर काम गरिरहेका छौँ ।

भूगोल र जनसंख्याका आधारमा बजेट नदिइनुको कारण के हो भन्ने लाग्छ ?
यो केन्द्रिकृत मानसिकता विकेन्द्रिकृत हुन नसकेको हो । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा एक रुपैयाँ पनि बजेट बढेको छैन । गत वर्ष र अहिलेको बजेट तीन करोड मात्रै हो । नगर सभामा केन्द्रीकृत मानसिकता छ । गत आर्थिक वर्षमा मेरो वडामा ३० करोड राजस्व उठेको थियो । ११ वडापछि सबैभन्दा धेरै राजस्व मेरै वडामा उठेको हो । तर, त्यो रकम हामीले खर्च गर्न पाउँदैनौँ । राजनीतिक अंशबन्डाका आधारमा यस्तो भएको हुन सक्छ । मेरो वडामा प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रका सांसदले विकासको गति बढी भयो भनेर मेयर साबलाई भन्नुभएछ । तर, मेयरसाबले बजेट सबैलाई बराबर हो, उहाँले अन्तैबाट ल्याएर काम गर्नुभएको हो भन्ने जवाफ दिनुभएछ ।

नेपाल भ्रमण वर्ष नजिकिँदै छ । मुख्य पर्यटकीय क्षेत्र ठमेल पनि यो वडामा पर्छ । के–कस्ता योजना बनाउनुभएको छ ?
नेपाल भ्रमण वर्ष २०२० भनिएको छ । पर्यटन क्षेत्र अर्थतन्त्रको मेरूदण्ड हो । बजेट पनि छुटइएको छ । तर, कुनै काम पनि अघि बढेको छैन । ठमेल भनेको पर्यटकीय क्षेत्र हो । तर, अहिले ठमेल कुरूप अवस्थामा छ । सडक बत्तीदेखि केबल तार, ढल र सडकको अवस्था दयनीय छ । पूर्वाधार विकासमा ध्यान दिनुपर्ने हो । त्यो पनि भएको छैन । पर्यटकले सगरमाथा, लुम्बिनीको तस्बिर कैद गर्नुपर्नेमा ठमेलका असरल्ल तार खिचेको देखेको छु  । यो निकै लाजमर्दो अवस्था हो । हामीले यतातर्फ सोच्नुपर्छ ।

महानगरका धेरै वडाध्यक्षले नमुना वडा बनाउने घोषणा गरेका छन् । बाँकी कार्यकालमा तपाईंका योजना के–के छन् ?
जनताले मलाई वडाध्यक्ष बनाएका हुन् । जनताका काम गर्छु । अहिले पनि गरिरहेको छु । अधिकार कटौती भएका कारण मेरो प्रमुख काम सिफारिस गर्ने मात्रै हो । सिंहदरबारको अधिकार गेटबाट बाहिर निस्कियो कि निस्किएन पत्तो पाएको छैन । हामीले ‘नयाँ नेपाल’ भनेर घोषणा गरेका थियौँ । तर, के भयो ? अहिले नमुना बनाउँछु भन्दै हिँडेर चर्चा कमाउने बाटोमा म छैन । खानेपानीको समस्या छ, धुँवा धुलोको समस्या उत्तिकै छ । म यत्ति मात्रै भन्छु– आफ्नो क्षमताले भ्याएसम्म काम गर्छु । अहिले पनि हामीले सोचेअनुरूपको काम गर्न सकेका छैनौँ । हामीले सय दिनमा एक सय एक काम गर्छौं भनेर उद्घोष पनि नगरेका होइनौँ । तर, ती पूरा भए त ? नगर सभामा वडामा समस्या उठाउँछौँ तर सुनुवाइ कम हुन्छ । जनताका आकांक्षा धेरै छन् । सम्बोधन गर्ने कोसिस मेरो हुन्छ । आफ्नो क्षमताले भ्याएसम्म बाहिरबाट स्रोत जुटाएर भए पनि जनआकांक्षा पूरा गर्ने कोसिस रहन्छ ।
नयापत्रिका ;

Loading...