खानेपानीमा पदाधिकारीको मनपरी

10

भाद्र , ८ :
कोषाध्यक्ष र एक सदस्यको मृत्यु भइसक्यो, तर १८ वर्षदेखि साधारणसभा भएन
सूर्यविनायक नगरपालिका–१ मा सञ्चालित सिरुटार खानेपानी आयोजनाका पदाधिकारीले मनपरी गर्दै आएका छन् । गाउँको खानेपानी समस्या सुल्झाउन सञ्चालित आयोजनामा १८ वर्षअघि बनेको समितिले नै व्यवस्थापन गरिरहेको छ । उपभोक्ता समितिले आयोजनामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छैन ।

उपभोक्ता समितिलाई साधारणसभा गर्न, आम्दानी र खर्च विवरण सार्वजनिक गर्न तथा खानेपानीको वितरणलाई थप व्यवस्थित गर्न उपभोक्ता र स्थानीय जनप्रतिनिधिले पटक–पटक आग्रह गर्दै आएका छन् । तर, उपभोक्ता समितिका पदाधिकारीले अटेरी गर्दै आएका छन् । उपभोक्ता समितिको लापरबाहीकै कारण कर्मचारीले पनि मनपरी गर्ने गरेका छन् । समितिले बनाएको नियमानुसार एउटा धारा जडान गर्न सात हजारदेखि १२ हजार रुपैयाँसम्म लाग्छ । तर, कर्मचारीले धारा जडान गर्न ४० हजार रुपैयाँसम्म शुल्क लिने गरेको उपभोक्ताको गुनासो छ । समितिले आर्थिक अनियमितता गरेको आरोप उपभोक्ताको छ ।

उपभोक्ता समितिमा चारजना मात्रै
उपभोक्ता समितिमा हाल अध्यक्ष, सचिव र दुई सदस्य मात्रै छन् । ‘कोषाध्यक्ष र एक सदस्यको मृत्यु भयो, एक महिला सदस्य गाउँमा छैनन्,’ अध्यक्ष अच्युत मिश्रले भने, ‘विभिन्न कारणले साधारणसभा गर्न चाहेर पनि सकिएको छैन ।’कर्मचारीले फट्याइँ गरेका विषयमा भने आफूलाई थाहा नभएको अध्यक्ष मिश्र बताउँछन् । उनका अनुसार आयोजनामा चारजना प्लम्बरसहित ६ जना कार्यरत छन् । ०५२ मा तत्कालीन सिरुटार गाउँका करिब चार सय घरधुरीलाई खानेपानी उपलब्ध गराउन योजना सञ्चालन भएको थियो । आयोजनाले डिप बोरिङ गरेर दैनिक करिब दुई लाख लिटर पानी वितरण गरिरहेकोे छ ।

जनप्रतिनिधिको निर्देशन टेरेनन्
उपभोक्ता समितिलाई सांसदसहित स्थानीय तहका जनप्रतिनिधिले २४ वैशाखमा ४५ दिनभित्र साधारणसभा गर्न भनेका थिए । तर, उपभोक्ता समितिले वार्षिक रूपमा गर्नैपर्ने साधारणसभा पनि गरेको छैन । हालै नगरपालिका र वडाले उपभोक्तासँगसमेत छलफल गरेर पुनः एक महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएका छन् । उपभोक्ता समितिका अध्यक्ष मिश्रले दशैँ अगाडि साधारणसभा गर्ने तयारी भइरहेको बताए ।

तुरुन्तै नगरे हस्तक्षेप गर्छौं : वडाध्यक्ष कायस्थ
वडाध्यक्ष सानुकाजी कायस्थले पटक–पटक आग्रह गर्दासमेत उपभोक्ता समितिले साधारणसभा र अधिवेशन गर्ने हिम्मत नगरेको बताए । ‘पानीको समस्या बढ्दो छ, सबै मिलेर समाधान गरौँ, हामी पनि सघाउँछौँ भनेको थिएँ,’ उनी भन्छन्, ‘तर उपभोक्ता समितिले टेरपुच्छर लाएनन् ।’
नयापत्रिका ;

Loading...